Logo

लुम्बिनीमा ११ प्रतिशत मात्रै रोपाइँ

लुम्बिनी प्रदेशमा ११.०८ प्रतिशत खेतियोग्य जमिनमा मात्रै रोपाइँ सकिएको छ । सिचाइँ अभावले किसानले धान रोपाइँ गर्न सकेको छैनन् । सिँचाइ अभाव र आकाशको पानीमा निर्भर हुँदा यो वर्ष लुम्बिनीका अधिकांश जमिन बाँझो अवस्थामा रहेका छन् । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ३४ हजार ४ सय ८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

लुम्बिनीका १२ जिल्ला मध्ये सबैभन्दा धेरै ७० हजार हेक्टर धान खेती हुने जिल्ला कपिलवस्तुमा हालसम्म ६ प्रतिशत मात्र रोपाइँ भएको छ । सबैभन्दा कम १ हजार ४१९ हेक्टरमा धान रोपाइँ हुने जिल्ला रुकुमपूर्वमा ६०.५ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले बताए । सिँचाइ अभाव र आकाशको पानीमा निर्भर हुँदा यो वर्ष लुम्बिनीमा हालसम्म ११.०८ प्रतिशतमात्रै रोपाइँ सकिएको पाण्डेले बताए । यता कृषकलाई सिँचाइ सुविधा पुर्‍याउन भन्दै बाँकेमा ठूलो लगानी खर्च गरेर गौरबको सिक्टा सिचाई आयोजना सञ्चालनमा रहको छ ।

आयोजनाको मूल नहर निर्माण भएपनि शाखा नहरको काम समयमै सम्पन्न नभएका कारण किसानले पर्याप्त लाभ लिन सकेका छैनन् । आकासे पानीकै भरमा खेती गर्न बाध्य जिल्लाका अधिकांश किसानले अहिलेसम्म धानको बीउ पनि राख्न नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘‘अझ पनि केही किसानले धानको बिउँ राख्न बाँकी रहेको छ’’ कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खानले भने,‘‘सिँचाइको सुविधा भएका स्थानमा बढी धान रोपाईं भएको छ, अन्य स्थानमा वर्षातको अभावमा धान रोपाइँ हुन सकेको छैन ।’’

पानीको अभावमा घरमा खानेपानीको धारा, मोटर तथा पम्पसेटको प्रयोग गरी जेठमै बीउ राखेका किसानहरू यतिबेला वर्षा नभएपछि राखेको धानको बीउसमेत छिप्पीने चिन्तामा छन् । गतवर्ष समयमा वर्षात नहुँदा नरैनापुरमा सुख्खा भएको थियो । रोपाइँको समयमा सरकारले रासायनिक मल, गुणस्तरिय बीउका साथै प्रदेशका अधिकांश जिल्लामा प्रायः आकासे पानीको भर पर्नुपर्ने भएकाले सिचाई सुविधा उपलब्ध गराउन किसानहरुले सरकार सँग माग गरेका छन् ।

रासायनिक मल, गुणस्तरीय बीउ अभाव र सिँचाई सुविधा नहुँदा प्रत्येक वर्ष यहाँका किसानले समयमै धान रोपाई गर्न सकिरहेका छैनन् । प्रदेशका विभिन्न जिल्लामा धानखेतीको राम्रो सम्भावना भएपनि कृषकका समस्या समाधानका लागि सरकार गम्भिर हुन सकेको देखिदैन । सोही कारण किसानहरुमा उत्पादन घट्ने चिन्ताले सताएको छ ।

प्रतिक्रिया दिनुहोस्