Logo

लगानी र वातावरण

चालू आर्थिक वर्षको सुरुदेखि नै बैंक ब्याजदर चर्को भएको भन्दै निजी क्षेत्र लगानी नगरी बसेको छ । चर्को ब्याजदरका कारण लगानीको वातावरण नभएको निहुँ पारेर निजी क्षेत्र पहिलो पटक सडकमा समेत ओर्लियो । तर, निजी क्षेत्रले भनेजस्तै मुलुकमा लगानीको वातावरण पटक्कै नभएको भने होइन । चालू आवमा सयौंको संख्यामा निजी क्षेत्र आफैंले तयार पारेका प्रोजेक्टले जोखिम मोल्न सक्नेहरूका लागि लगानीको बाटो रोकिएको छैन भन्ने देखाएको छ ।

काठमाडौंको कमलादीमा सिसामाथि हिँड्न मिल्ने ‘स्काई–वाक टावर’ सञ्चालनमा आएको छ । ‘वन्डर्स नेपाल’ कम्पनीले शुक्रबार बिहान ८ बजेदेखि टावर औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । १३ रोपनीमा फैलिएको टावर ७८.५ मिटर अग्लो छ । टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामाथि हिँड्न पाइन्छ । सिसामाथि हिँडेर साहसिक मज्जा लिने यो देशकै एकमात्र गन्तव्य बनेको छ । विदेशी मुलुकमा यस्ता गन्तव्य स्थल जताततै भए पनि यो मुलुकका लागि सर्वथा नौलो प्रोजेक्ट हो ।

यसका लागि करिब २ अर्ब लगानी लागेको छ । यस्तै बिहीबार मुलुकमा अर्का दुई ठूला परियोजना बजारमा ल्याइए । रुपन्देहीको भैरहवामा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले पाँचतारे होटल सिद्धार्थ विलासा सञ्चालनमा आएको छ । होटलले केही सेवा सुरु गरिसकेको र पूर्ण सेवा आगामी असोजबाट गर्ने तयारी गरेको छ । २०५४ सालमा कैलालीको टीकापुरमा ग्रामीण स्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थको व्यावसायिक यात्रा पाँचतारे होटलसम्म आइपुगेको छ ।

निजी क्षेत्र चलायमान बनेपछि त्यसको प्रभाव सरकारी क्रियाकलापमा पनि पर्छ । सरकारको राजस्व बढ्छ र उसले पनि लगानी बढाउन सुरु गर्छ ।

यो अवधिमा कम्पनीले देशका विभिन्न ठाउँमा ३२ होटल र अन्य व्यावसायिक केन्द्रका शाखा विस्तार गरेको छ । २०७६ वैशाख १ गते निर्माण सुरु गरी चार वर्षमा तयार यो होटलमा ३ सय जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्नेछन् । होटल करिब साढे २ अर्ब लगानीमा बनेको हो । यस्तै अर्को व्यापारिक कम्पनी प्राइम सेरामिक्सले २ अर्ब लगानीमा प्राइम–टाइल्स विथ स्टाइल उत्पादन बिहीबारदेखि नेपाली बजारमा ल्याएको छ ।

पछिल्ला वर्षहरूमा वार्षिक १५ अर्ब बराबरको टायल आयात भइरहेको अवस्थामा स्वदेशमै उद्योग खोलिनु व्यापारिक कम्पनीका लागि मात्र नभएर मुलुककै हितका लागि पनि हो । यो कम्पनीको ५० प्रतिशत स्वदेशी माटो प्रयोग गरेर दैनिक डेढ लाख वर्गफिट टायल उत्पादन गर्ने क्षमता छ । उद्योगले ३ सय जनालाई रोजगारी दिएको छ । मुलुकमा लगानीको वातावरण छैन भन्दै आएकाहरूका लागि यी दुई दिनमा सार्वजनिक भएका परियोजनाका उदाहरण मात्र हुन् ।

मुलुकभर दैनिकजसो कुनै न कुनै क्षेत्रका परियोजनाहरू सार्वजनिक भइरहेका छन् । यही बेला लगानीका घोषणा पनि भइरहेका छन् । त्यसैले लगानीको वातावरण छैन भन्नु बहाना मात्र हो । व्यापारमा ‘नो रिक्स नो गेन’ भन्ने उखान नै छ । लगानीका लागि वातावरण नभएको र उच्च जोखिम भएको बेला लगानी गर्नेहरू नै यथार्थमा उद्यमी, व्यवसायी हुन् । सजिलो र जोखिम कम भएका बेला जोसुकैले पनि काम गर्न सक्छ । जोखिम छ भन्दै सधैं पर्ख र हेरका अवस्थामा रहने व्यवसायीले विशुद्ध आफ्नो मात्र स्वार्थ हेर्छ ।

देश र जनताका लागि त्यो केवल नाफाखोर व्यापारी मात्र हो । यो वर्ष प्रोजेक्ट सम्पन्न गरिरहेका व्यवसायीले पनि जोखिम नमोलेको भए र ‘पर्ख र हेर’ मा मात्र ध्यान दिएको भए अहिलेको नतिजा आउने थिएन । कतिपय व्यवसायीले अहिले पनि आफ्नो लक्ष्यअनुसार लगानी गरिरहेका छन् । मुलुकभित्र हजारौंको संख्यामा नयाँ प्रोजेक्टहरू बनिरहेका छन् । काँतर र जोखिम मोल्न नसक्नेहरूका लागि मात्र चाहिने हो वातावरण । सबैले जोखिम मोलेरै लगानी गर्न सुरु गर्ने हो भने ६ महिनामै अर्थतन्त्रमा सुधार देखिन्छ ।

लगानी थप गर्नु भनेको रोजगारीका अवसर वृद्धि हुनु हो । रोजगारी बढेपछि आम सर्वसाधारणसँग पैसा पुग्छ र बजार चलायमान हुन थाल्छ । व्यवसायी आफैंले उत्पादन गरेका वस्तु तथा सेवाको बिक्री बढ्छ । अहिले रोकिएको घरजग्गा र सेयर कारोबारमा पनि सुधारका संकेत देखिन थाल्छन् । निजी क्षेत्र चलायमान बनेपछि त्यसको प्रभाव सरकारी क्रियाकलापमा पनि पर्छ । सरकारको राजस्व बढ्छ र उसले पनि लगानी बढाउन सुरु गर्छ । समग्रमा अर्थतन्त्रले कोल्टो फेर्छ । त्यसैले लगानी गर्न समय खेर नफालौं ।

प्रतिक्रिया दिनुहोस्