होमस्टेमा स्वागतद्वार र भ्यु टावर निर्माण

दमौली-होमस्टेको आकर्षण बढाउन तनहुँको भानु नगरपालिका–१३ स्थित टुटेपानी सामुदायिक होमस्टेमा स्वागतद्वार र भ्यु टावर निर्माण गरिएको छ ।
गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टेको पूर्वधार निर्माणका लागि प्रदान गरेको १० लाख अनुदान रकम र स्थानीय श्रमदानबाट स्थानीयले पर्यटकलाई आर्कषित गाउँमा स्वागतद्वार र भ्यु टावर निर्माण गरिएको टुटेपानी सामुदायिक होमस्टेका अध्यक्ष क्याप्टेन होमबहादुर गुरुङले बताए ।
टुटेपानी होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्नका लागि भ्युटावर, भ्यु टावरसम्म पुग्ने ढुंगाको सिँढी र स्वागतगेट निर्माण गरिएको टुटेपानी सामुदायिक होमस्टेले जनाएको छ । टुटेपानीमाथिको सनसरी डाडामा भ्युटावर निर्माणको लागि सात लाख, सय मिटरको ढुंगाको सिँढी निर्माणका लागि एक लाख र होमस्टे स्वागत गेट निर्माणका लागि ५ लाख रकम लागेको होमस्टेका अध्यक्ष गुरुङले बताए । भ्यु टवार निर्माण भएपछि होमस्टे क्षेत्रबाट देखिने दृश्य झनै मनमोहक देखिएको गुरुङले बताए ।
प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि प्रदान गरेको रकमको सही सदुपयोग गरेर टुटेपानी होमस्टेले पूर्वाधार निर्माण गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । “जिल्लाका ४७ होमस्टेका लागि प्रदेश सरकारले होमस्टेको पूर्वाधार निर्माणका लागि भनेर अनुदान दिएको थियो त्यस कार्यक्रमअन्तर्गत टुटेपानी होमस्टेले पूर्वाधार निर्माण गरेको हो,” उनले भने । जिल्लामा ४७ होमस्टेको लागि अनुदान रकम आए पनि दोस्रो चरणमा आएका १४ होमस्टेको पछि आएकाले समयमा काम भ्याउन समस्या भएको डिभिजन वन कार्यालय प्रमख बरालको भनाइ छ । टुटेपानीबाट तनहुँको दोस्रो अग्लो महाभारत पर्वत शृंखला मिलुङकोटबाट (१६५४) नजिकै पर्दछ । मिलुङकोट गण्डकी प्रदेशको सबैभन्दा मनमोहक दृष्य देखिने भूभाग हो । मिलुङकोटसँगै भएकाले टुटेपानी होमस्टेको विशेष महत्व भएको स्थानीय बताउँछन् । टुटेपानीमा हाल २० घरधुरीले होमस्टे सञ्चालन गदै आएका छन् । गुरुङ समुदायको संस्कृति रम्न पर्यटक टुटेपानी लोभिएर पुग्ने गरेका छन ।
गुरुरू समुदयले विशेष रूपमा प्रचलित चुड्का, कौरा, घाटँु, आमा समूहको लोक दोहोरी र बुबा समूहको पाउदुरे नाच प्रस्तुत गर्ने गरेको टुटेपानी सामुदायिक होमस्टका सचिव अमर गुरुङले बताए । “टुटेपानी गाउँको विशेषता नै यहाँका दृश्यवलोकन र यहाँको गुरुङ संस्कृति हो,” उनले भने । अर्गानिक खाना र यहाँको स्वच्छ हावापानीले अहिले होमस्टे पर्यटकको आर्कषण बढ्दै गएको छ । अर्गानिक खाना, कोदोको ढिडो, कोदोकै रोटी, लोकल कुखुराको मासु मुख्य यहाँको आर्कषण भएको होमस्टेका गुरुरूले बताए ।