५ जिल्लाको खाद्य अनुगमन २ कर्मचारीको भरमा «

५ जिल्लाको खाद्य अनुगमन २ कर्मचारीको भरमा

दमौली-खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँमा दरबन्दीअनुसार कर्मचारी नहुँदा खाद्य अनुगमन प्रभावित भएको छ । प्राविधिकबिना नै कार्यालयअन्तर्गत दुईजना कर्मचारीको भरमा पाँच जिल्लाको खाद्य अनुगमन गर्नुपर्ने बाध्यता छ । दुईजना प्राविधिकसहित चारजना कर्मचारीको दरबन्दी रहेको सो कार्यालमा हाल कार्यालय प्रमुख र एकजना कार्यालय सहयोगीमात्र कार्यरत छन् ।
तनहुँसहित गोरखा, लमजुङ, मनाङ र नवलपुर जिल्लाको होटल र उद्योग निरीक्षण एवं अनुगमन तथा खाद्य नमुना संकलनलगायतका कामको जिम्मेवारी तोकिएको कार्यालयमा कर्मचारी अभाव हुँदा प्रभावकारी कार्य गर्न नसकिएको प्रमुख खाद्य अनुसन्धान अधिकृत शिव बरालले बताए ।
तनहुँ सदरमुकाम दमौलीका केही होटल र उद्योगहरूको अनुमगन गरिए पनि एक-एक पटक गोरखा र लमजुङ पुग्ने बाहेक अन्य काम गर्न नसकिएको बरालले बताए । तर नवलपुर र मनाङमा भने एक पटक पनि पुग्न नसकिएको उनले बताए । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७५ कात्तिक १५ गते तनहुँको दमौलीमा भाडाको घरमा उक्त कार्यालय स्थापना गरेको थियो । तनहुँसहित पाँच जिल्लाको खाद्यसम्बन्धी अनुगमन गर्ने जिम्मेवारीसहित स्थापना भएको सो कार्यालयले आवश्यक कर्मचारी नहुँदा उद्देश्यअनुरुपको काम गर्न नसकिएको कार्यालय प्रमुख बरालले बताए । कर्मचारी दरबन्दीको विवरण लोकसेवा आयोगलाई जानकारी गराए पनि कर्मचारी कहिले पूर्ति हुन्छ भन्नेमा अन्योल रहेको उनले बताए ।
प्रमुख पर्यटकीय गन्तव्य रहेको तनहुँ, लमजुङ, गोर्खा र मनाङमा धेरै होटलहरू रहे पनि ति सबै होटलको अनुगमन गर्न नसकिएको भन्दै उनले आवश्यक अनुमगन नहुँदा उपभोक्ता मारमा पर्ने गरेको बताए । गन्डकी प्रदेशमा खाद्य नमुना परीक्षण केन्द्र नहुँदा भैरहवा पठाउनु पर्ने र त्यसको रिपोर्ट आउन धेरै समय लाग्ने हुँदा अनुमगन पनि प्रभावकारी हुन नसकेको उनको भनाइ छ । सो कार्यालयले केही दिनअघि दमौलीका होटलको अनुगमन गरी स्तरअनुसारको स्टिकर टाँस गरेको थियो । त्यसबाहेक तनहुँका केही बजार क्षेत्रमा फाट्टफुट्ट अनुमगनको काममात्र गरिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पाँच जिल्लाको खाद्य अनुगमन गर्ने जिम्मेवारी तोकिएको कार्यालयमा कर्मचारी नभएको बारेमा सम्बन्धित स्थानमा जानकारी गराएको बताए । जिल्ला प्रशासन कार्यालयमा पनि कर्मचारी अभाव भएको भन्दै प्रमुख जिल्ला अधिकारी पण्डितले जुन स्थानीय तहको होटल वा उद्योग अनुगमन गर्ने हो, त्यही स्थानीय तहले कर्मचारीको व्यवस्था गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्