चीन भ्रमणको तयारीमा छु «
Logo

चीन भ्रमणको तयारीमा छु

प्रधानमन्त्री पुष्पकमल दाहालले अब छिट्टै चीन भ्रमणमा जाने तयारी भएको बताएका छन् । हालैको भारत भ्रमण ऐतिहासिक भएको दाबी गर्दै उनले अब अर्काे छिमेकी मुलुक चीनको भ्रमण हुने बताए । शनिबार पोखरामा सञ्चारकर्मीहरुसँग उनले भारत भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडान गर्ने विषयमा छलफल भएको बताउँदै अब चीन भ्रमणका क्रममा समेत यसबारे कुरा हुने बताए ।

भारतले एयर रुट दिनुपर्छ भन्ने विषयमा पहिलो पटक गम्भीर रुपमा छलफल भएको बताउँदै उनले लो अल्टिच्युडको उडानका लागि भारत तयार भएको तर हाइ अल्टिच्युडको लागि तयारी गर्नुपर्ने भारतबाट सुझाव आएको जानकारी दिए । उनले भने, “पोखरा वा लुम्बिनीबाट सिधै अन्तर्राष्ट्रिय हवाई उडान हुन्छ । नयाँ एयररुटबाट सिधा अन्तराष्ट्रिय हवाई उडान हुन्छ तर अहिले भई सकेको भने छैन ।” अब चिन जाँदा चिनका केही प्रान्तबाट पोखरामा सिधा हवाई उडान गर्न प्रस्ताव पेश गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्रीले भ्रष्टाचार विरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउनेमा पनि जोड दिए । यसपटक भिन्न ढंगले नै काम सुरू गरेको दाबी गरेका प्रधानमन्त्री प्रचण्डले अहिलेको काम सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको भएको दाबी गरे । जनताले भोगका समस्या सम्बोधन गर्न पूरै कोसिस गरिएको उनले बताए । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरी दूरगामी कामको सुरुवात भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार देशको विकराल समस्याको रुपमा रहेको दाबी गरे ।

श्रीलंका जस्तै अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने आशंका गरिए पनि हाल नेपालको अर्थतन्त्र सकरात्मक तर्फ उकालो लागेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । उनले भने “अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ, यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ, राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएका छन्, भारतीय प्रधानमन्त्रीले आफैं सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो, यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन् ।”

पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय हुनु भारत भ्रमणको उपलब्धि भएको दाबी गरे । उनले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सामान्य विषयमा नभएको पनि दाबी गरे । यसले विद्युत व्यापार पनि बढ्दै लगानीको ढोका खुल्ने हुँदा अब आउने पिँढीले पनि सम्झिनेमा जोड दिए । यसैबीच प्रचण्डले अहिलेको गठबन्धनको सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।

उनले अहिलेको सरकारलाई कसैले हल्लायर नहल्लीने बताउँदै सरकारले ९९ प्रतिशत समर्थन ढिलो वा चाढो गरी पुनः पाउने विश्वास व्यक्त गरे । सरकार कमजोर नभएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार चल्दै जाँदा केही समय पश्चात ९९ प्रतिशत सरकारले समर्थन पाउन सक्ने जनाए । जनतामा राज्य प्रति विस्तारै भरोसा टुटेको अवस्थामा आशा र भरोसा बढेको जिकिर गरे । त्यसैगरी गण्डकी प्रदेशको राजधानी पोखरामा कोशी प्रदेशका मुख्यमन्त्री बाहेक अन्य प्रदेशका मुख्यमन्त्रीहरुको बैठक सम्पन्न भएको छ ।

शुक्रबार र शनिबार पोखरामा संचालन भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक एवं राष्ट्रिय समन्वय परिषद बैठक शनिबार सम्पन्न भएको हो । प्रदेशका मुख्यमन्त्रीहरुले अनुभव आदनप्रदान गर्ने उद्देश्यले आयोजना हुने बैठकमा मुख्यमन्त्रीको साथमा प्रदेशका प्रमुख सचिवहरु लगायतका अतिथिहरु पोखरा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्