विषादीले रुद्राक्ष नष्ट

भोजपुरमा रुद्राक्ष खेती असुरक्षित बन्दै गएको छ । साल्पासिलिछो गाउँपालिका–१ कुलुङमा रत्नमाया राईको ६१ लाखमा ठेक्का लगाइसकेको रुद्राक्षको बोटमा अपरिचित व्यक्तिले विषादी हालिदिएका छन् । आफूले रकम तिरिसकेको रुद्राक्षको बोटमा यसरी बिषादी हालेको भेटिएपछि ठेकेदार बलबहादुर तामाङ ‘सन्तोष’ अहिले चिन्तामा छन् ।
स्थानीय रत्नमाया राईको बारीको रुद्राक्षमा ६१ लाखको ठेक्का लगाए पनि बोटमा बेनीले खोपेर विषादी हालिएको पाइएपछि रुद्राक्षको फलाई र गुणस्तर राम्रो नहुने चिन्ता ठेकेदार तामाङलाई परेको हो । घरमुलीसँग ४५ लाखमा ठेक्का लिने दिने सर्त भए पनि ६१ लाख खर्च भएको तामाङ बताउँछन् । ठेकेदार बलबहादुर तामाङ ‘सन्तोष’ र अर्जुन न्यौपानेले दुई वर्षका लागि ठेक्कामा लिएको रुद्राक्षको बोट बेनीले खोपेर विषादी हालिएको भेटिएको हो ।
भोजपुर कुलङ–१ मै राम्रो फल्न लागेको राईको रुद्राक्षको बोटमा कसले बेनीले खोपेर विषादी हालिदियो भन्ने खुल्न सकेको छैन । गतवर्षको मंसिरमा आफूहरू दुई जनाले दुई वर्षका लागि कागज नै गरेर रत्नमाया राईसँग ठेकेदार तामाङले लिएका थिए । उनले भने, “पैसा दिइसकेका छौं तर, एकपल्ट पनि रुद्राक्ष टिप्न नपाई बोटमै विष हालेपछि हामीलाई त स्वतः घाटा भइहाल्छ नि ।”
रुद्राक्षको बोटमा गत जेठमै बेनीले खोपेर विषादी लगाएको घरमुलीले थाहा पाए पनि ठेकेदारलाई भने जानकारी नगराएको तामाङले बताए । तामाङले भने, “घरमुलीले जेठमा नै थाहा पाएका रहेछन् । बेनीले खोपेर विषादी हालेको रहेछ । तर, हामीलाई जानकारी गराइएन । हामीले ठेक्का लिएपछि जानकारी गराउनुपर्ने हो । किन गराइएन यस्तो हुनुमा घरमुली कै कमजोरी देखिन्छ ।” यता रुद्राक्षधनी रत्नमायाका छोरा परशुराम राई आफूहरूलाई पनि रुद्राक्षको बोटमा खोपेर विषादी हालिएको कुरा थाहा नभएको बताउँछन् । उनी भन्छन्, “बोट हरियो नै छ, रुद्राक्ष फलिरहेकै छ । बोटको फेदमा खोपेको चाहिँ देखिन्छ ।” ठेक्का दिइसकेपछि आफूहरूबाट यस्तो गलत काम हुनै नसक्ने उनी बताउँछन् । २ वर्षका लागि ४५ लाखमा ठेक्का दिइएकोमा १० लाख भने रुद्राक्ष टिपेपछि दिने सर्तमा कागज गरेको राई बताउँछन् । “हामीले ४५ लाखमा २ वर्षका लागि ठेक्का दिएका हौं, १० लाख टिपेपछि दिने सर्त राखेका थियौं,” परशुरामले भने, “सकेसम्म हेरविचार गरेकै हौं, तर, सधैँ फेदमै बस्ने कुरा भएन ।” प्रहरीले पनि खोपेर विषादी हालिएको भनिएको रुद्राक्षको बोट अनुगमन गरेको छ । बोटमा खोपेर विषादी हालिएको जस्तो ठाउँ देखिएको भन्दै स्थानीय प्रहरी प्रमुख सहायक निरीक्षक ढकनारायण श्रेष्ठले भने, “यसो बुझ्दा टाढाको व्यक्ति नभई नजिककै व्यक्तिले बिगार गरेको हुनसक्छ । हामीले पनि यस विषयमा अनुसन्धान गरिरहेका छौं ।”
बर्सेनि असुरक्षा बढ्दै
रुद्राक्ष टिप्ने समयमा बर्सेनि चोरी डकैतीका घटना बढ्न थालेका छन् । बहुमूल्य भएका काण रुद्राक्षमा चोरी डकैती हुने गरेको हो । रुद्राक्षसम्बन्धी स्पष्ट कडा नियम नभएकाले पनि यस्ता गलत काम गर्नेहरू भेटिन सकेका छैनन् ।
गत वर्ष पनि षडानन्द नगरपालिका–२ को तामु गाउँमा सोही नगरपालिकाका मेयर विरबल राईको रुद्राक्ष बगैंचाबाट टिप्ने बेला भइसकेको उच्चमूल्य पर्ने रुद्राक्ष डकैतीको शैलीमा चोरिएको थियो । रुद्राक्ष उत्पादक किसान तथा यसको ब्यवसायमा लागेका सबैको सुरक्षा र व्यवस्थित कारोबारका लागि हाल बिशेष कानुन नबनुन्जेल स्थानीय निकायले विधि बनाएर अगाडि बढ्नुपर्ने तुम्लिङ्टारका पुराना रुद्राक्ष व्यवसायी शालिग्राम थापाले बताए । साल्पासिलिछो गाउँपालिकाभरमै सबैभन्दा गुणस्तरीय रुद्राक्ष कुलुङमा फल्ने गरेको छ । यसबाहेक भोजपुरको उत्तरी दिंला क्षेत्रमा तथा संखुवासभाका केही क्षेत्रमा रुद्राक्ष फल्ने गरेको छ ।
अर्जुन बस्नेत