Logo

पातारासीलाई उज्यालो पालिका घोषणा गरिने

लघुजलविद्युत उत्पादनमा आत्मनिर्भर जुम्लाको पातारासी गाउँपालिकालाई जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गरिने भएको छ । आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रमनुसार पातारासीलाई उज्यालो पालिका घोषणा गर्ने उल्लेख गरिएको हो । कृषि, पर्यटन, जडिबुटी र जलविद्युतमा पर्याप्त सम्भावना बोकेको पातारासीलाई जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने चर्चा विगतदेखि चल्दै आएको थियो । यद्यपि अहिलेसम्म हुन सकेको थिएन ।

तर आइतबार पातारासीका अध्यक्ष पूर्णसिंह बोहोराले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उज्यालो पालिका घोषणालाई प्राथमिकता दिइएको छ । पातारासीमा सञ्चालित पुराना विद्युत आयोजनाको मर्मत, सम्भाव्यता अध्यायन भई निर्माण चरणमा रहेका आयोजनालाई पूर्णता, वैकल्पिक ऊर्जालाई लक्षित वर्गसम्म पुर्‍याउने र करिब एक मेगावाट चुकेनी विद्युत आयोजनालाई निर्धारित समयमै सम्पन्न गरी पातारासीलाई उज्यालो पालिका घोषणा गर्ने नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।

७ वटा वडा रहेको पातारासीमा करिब १७ हजार बढी जनसंख्या छ भने ३४ वटा गाउँबस्ती रहेका छन् । सबै बस्ती बस्तीमा विद्युतको पहुँच पुगेको छ । तर बत्तीलाई दिगो र भरपर्दो बनाउन मर्मत सम्भार गर्ने, ठूला आयोजना निर्माणलाई गति दिने नीति तथा कार्यक्रममा उल्लेख छ । उज्यालो पालिका घोषणा गर्ने नीति ल्याए पनि बजेटमा उल्लेख गरिएको छैन । नीति बनाउने कार्यान्वयन नगर्ने समस्या स्थानीय तहमा विद्यमान छ । तर उज्यालो पालिका घोषणा कार्यक्रमलाई आगामी आवबाट कार्यान्वयन चरणमा ल्याइने उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

उनले भनिन्, “डल्लो बजेटमात्रै ल्याएका छाैं । विषयगत शाखा, वडागत रूपमामात्रै विनियोजन गरिएको छ । उज्यालो पालिका घोषणा कार्यक्रमका लागि आवश्यक बजेट छुट्याइने छ ।” आगामी आवका लागि पातारासी गाउँपालिकाले ४० करोड ४५ लाख ३७ हजार बराबरको बजेट ल्याएको छ । उक्त बजेट र नीतिमा कृषि, पर्यटन,जडिबुटी र जलविद्युतको विकासलाई प्राथमिकता दिइएको उपाध्यक्ष रोकायाले उल्लेख गरिन् ।

उत्पादनका आधारमा अनुदान दिने, बाँझो जग्गा उपभोग गर्नेलाई प्रोत्साहन गर्ने, विश्वकै अग्लो स्थानमा धान फल्ने छुमज्युलोलाई कृषि पर्यटनको हबका रूपमा विकास गर्ने, जुम्लाकै गौरवको एक मेगावाटको चुकेनी विद्युत आयोजना निर्माणलाई गतिदिने, उत्पादनका आधारमा पकेट क्षेत्र निर्धारण गर्नेलगायतका नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । राष्ट्रिय प्रसारणलाइन पुगिसक्दा पनि अनिश्चित लोडसेडिङको मार खेपीरहेको जुम्लामा दुर्गम पातारासीले उज्यालो पालिका घोषणा गरेमा सुगम क्षेत्रलाई ठूलो चुनौती सृजना हुनेछ ।

नीति ल्याउने तर कार्यान्वयन नगर्ने समस्या रहेकाले नागरिक चाँडै उत्साहित भइहाल्नुपर्ने स्थिति नरहेको नागरिक अगुवा राजबहादुर महत बताउँछन् । यद्यपि आजको समयमा विद्युत विकासको मेरुदण्ड भएकाले उज्यालो पालिका घोषणा गर्ने नीति आफैमा स्वागतयोग्य रहेको उनको भनाइ छ । कृषि, पर्यटन, जडिबुटी र जलविद्युत्को अथाह सम्भावनालाई अवसरमा बदल्न पातारासी गाउँपालिकाले सुरुवातदेखि नै पूर्वाधार विकास, पर्यटन विकास र जलविद्युत विकासलाई जोड दिँदै आएको छ । पातारासीका २६ वटा गाउँबस्तीका ३५ सय घुरधुरीलाई बितेको साढे चार वर्षमा विद्युतीय पहुँच पुगेको छ ।

डेढ दर्जन विद्युत आयोजना

पतारासी जिल्लाका आठ स्थानीय तहमध्ये विद्युतमा आत्मनिर्भर पालिका हो । स्थानीय सरकार सञ्चालनमा आएदेखि पातारासीमा नयाँ–पुराना १५ देखि एक सय किलोवाटसम्मका १६ वटा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् । बन्दै गरेका नयाँ आयोजना र पुराना लघुजलविद्युत आयोजनाको सामाथ्र्य र निरन्तरताई मध्यनजर गरी पालिकाले उज्यालो पालिका घोषणाको नीति लिएको हो । यद्यपि विद्युत आयोजनाको मर्मत सम्भारमा पर्याप्त बजेट लगानी हुन सकेको छैन ।

हाल पातारासीमा सञ्चालित १६ वटा विद्युत आयोजनाको मर्मतका लागि पालिकाले वर्षेनी आवश्यक बजेट छुट्याउँदै आएको छ । आगामी आवमा पनि मर्मतका लागि बजेट छुट्याइने प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर रावलले बताए । उनले भने, “अन्तिम चौमासिकमा ५० प्रतिशत बजेट घटेर आउँदा नयाँ योजना निर्माण समस्या देखियो । डेढ दुई करोड दायित्व सृजना भएको भुक्तानी दिनुपर्नेछ । तथापि मागमा आधारित बजेट बाडफाँट गर्ने तयारी छ । डल्लो बजेट बाँडफाँट हुन बाँकी छ ।”

जसमा पातारासीमा ५८ किलोवाटको बिउरेनी विद्युत आयोजना, २५ किलोवाटको लुम विद्युत आयोजना, २५ किलोवाटकै तल्फी जलविद्युत आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत आयोजना, रिनीमा नौ किलोवाट, पटमारामा १२ किलोवाट विद्युत आयोजनालगायत १६ वटा नयाँ–पुराना आयोजना सञ्चालनमा छन् । १६ वटा आयोजनामध्ये ११ वटा आयोजनाबाट मात्रै सदरमुकामको भन्दा ठूलो करिब २५० किलोवाटको बत्ती सञ्चालनमा छन् ।

प्राकृतिक विपद्का कारण क्षति हुने बत्ती अवरोध हुने समस्या रहेकाले मर्मतका लागि पालिकाले लगानी गर्नुपर्ने स्थानीयको माग छ । १५ देखि एक सय किलोवाटसम्मका १६ आयोजना निर्माण भई सञ्चालित हुँदा पातारासीका दुर्गम बस्ती झिलिमिली भएका छन् भने जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्