Logo

अर्थतन्त्रको दबाब हटाउन निजी क्षेत्रसँग सहकार्य

अर्थतन्त्रमा देखिएको दबाब हटाउन निजी क्षेत्रसँग सहयर्का गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीसँग बिहीबार भएको छलफल प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीहरुले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिदै निर्धारित पुँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरे । उनले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन पनि आग्रह गरे । बजेटले लक्ष्य राखेको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेको उनको भनाइ थियो ।

अध्यक्ष अग्रवालले हाल एफपीओ, मर्जर तथा एक्वीजीसनमा प्रभाव हुने गरी कर लगाउँदा लगानीकर्ताहरु हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने धारणा राखेका थिए । उनले स्वदेशी उत्पादनको प्रवर्द्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुन पनि आग्रह गरे । हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत निर्यात तथा विद्युतीय भुक्तानी सम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा पनि उनले जोड दिएका थिए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यवहारिक सुझाव प्राप्त भईरहेको बताए । उनले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन परिसंघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्