रुपन्देहीमा ७ प्रतिशत रोपाइँ

पर्याप्त वर्षा नहुँदा रुपन्देहीमा असारको मध्यसम्म पनि धान रोपाइँले गतिलिन सकेको छैन । केही दिन अघिसम्म रुपन्देहीमा चर्को गर्मी थियो । यहाँको तापक्रम झण्डै ४४ डिग्री सेल्सियससम्म पुगेको थियो । एक हप्तायता हल्का वर्षा भइरहेको छ । वर्षाले शीतल गराएको भए पनि रोपाइँका लागि पर्याप्त भने हुन सकेको छैन । मध्य असारसम्म रुपन्देहीमा ७ प्रतिशतको हाराहारीमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यो अघिल्लो वर्षको भन्दा निकै कम भएको ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताए । “पोहोर साल यो समयमा ५० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको थियो । उनले भने, “यो पटक जम्मा ६–७ प्रतिशतको हाराहारीमा धान रोपेको देखिन्छ । रोपाइँको गति निकै ढिला भएको छ ।” जिल्लामा सिचाइँ सुविधा भएको केही ठाउँमा मात्र रोपाइँ भएको छ । बुटवल उपमहानगरपालिकाको पश्चिम क्षेत्र मोतिपुर, फर्साटिकर लगायतका क्षेत्रमा यतिबेला रोपाइँ चलिरहेको छ ।
त्यस्तै तिलोत्तमा क्षेत्रमा पनि किसानले धान रोपिरहेका छन् । तर जिल्लाको दक्षिण मर्चावार क्षेत्र र पश्चिम भेगमा भने रोपाइँ हुन सकेको छैन । रुपन्देहीको सैनामैना नगरपालिका–११ सालझण्डीका किसान विकास रेग्मीले रोपाइँ गर्न वर्षा कुरेर बसेको बताए । “यति बेलासम्म आधाआधी रोपाइँ हुने बेला हो । पानी नपरेर रोपाइँ हुनै सकेको छैन,” उनले भने, “फाट्टफुट्टमात्र रोपाइँ भएको छ ।” धाराको पानीले जसोतसो किसानले धानको बिउ राखेका थिए ।
खडेरीमा धाराकै पानीले बिउ जोगाएर राखेका छन् । पछिल्लो पटक सानो वर्षाले पनि बिउ जोगिएको छ । असार २० सम्म वर्षा भए रोपाइँ गर्न सकिन्छ कि भन्ने आशामा रेग्मीसहितका किसान आशावादी छन् । रुपन्देहीमा कुल ८२ हजार ६ सय हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये ८० हजार हेक्टरमा धान रोपाइँ हुँदै आएको छ । यसैबीच कृषि ज्ञान केन्द्र रुपन्देहीले असार १५ गते शुक्रबार धान रोपाइँ कार्यक्रम गर्ने भएको छ । बुटवल उपमहानगरपालिका–१७ मोतिपुरमा रोपाइँ कार्यक्रम गर्न लागिएको केन्द्रका प्रमुख शिव अर्यालले जानकारी दिए ।
“चार पांग्रे आधुनिक मेसिनबाट धान रोप्ने गर्दैछौं । मेसिनको प्रचारप्रसार गर्ने र किसानलाई देखाउने कार्यक्रम पनि छ,” उनले भने । उता नवलपरासी पश्चिममा भने रुपन्देहीमा भन्दा केही बढी क्षेत्रमा रोपाइँ भएको छ । जिल्लामा २५ प्रतिशत जति रोपाइँ भएको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्तोषकुमार चौधरीले बताए । “गण्डक नहर आसपास रोपाइँ भएको छ । त्यस्तै स्यालो ट्युवेल, डीप ट्युवेल भएको ठाउँमा रोपाइँ चलिरहेको छ,” उनले भने, “जिल्लामा २५ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ ।” गत वर्ष ७० प्रतिशतभन्दा बढी रोपाइँ भएको चौधरीले बताए ।