अनुदानको मल विचौलियालाई बिक्री

सरकारले दिने अनुदानको मल विचौलियालाई बिक्री गरेको भन्दै इलाम सदरमुकाममा सञ्चालन भइरहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । सरकारले किसानलाई अनुदानमा मल उपलब्ध गराउँदै आएको छ । तर सरकारले अनुदानमा दिएको मल इलामका सहकारीले महंगो मूल्यमा विचौलियालाई बेच्ने गरेको पाइए पछि जिल्ला प्रशासनको टोलीले सो पसलको गोदाममा सिल गरेको हो । सहकारीमार्फत किसानलाई वितरण गरिने मल वास्तविक किसानसम्म नै नपुगी विचौलियामार्फत किसानसम्म पुग्ने गरेको खुलेको छ ।
पाएको मल समेत सहकारीले विचौलियालाई बेच्ने गरेको खुलेको छ । सहकारीमा नभएका किसानले सरकारले दिने छुटको मल उपयोग गर्न पाउँदैनन् । सहकारीमा भएका किसानले समेत मल नपाएपछि किसानले गुनाशो गर्दै आएका छन् । गुनासोपछि जिल्ला प्रशासन कार्यालय इलामले अनुगमन गरेको थियो । अनुगमनकै क्रममा इलाम बजारमा रहेको कृषि विज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारिएको हो । अनुदानको मल बिक्री अनुमतिसमेत नलिइ बिक्री गर्ने गरेको पाइएपछि जिल्ला प्रशासनको टोलीले मल गोदाम सिल गरेको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोईरालाको नेतृत्वमा रहेको अनुगमन टोलीले आवश्यक कागजातसहित तीन दिन भित्र प्रशासनमा उपस्थित हुन विज भण्डारका संचालकलाई निर्देशन दिएका छन् । कोईरालाले तोकिएको समयमा आवश्यक कागजपत्र नबुझाए कानुन बमोजिम कारवाही गरिने बताए । इलाम नगरपालिकामा रहेको सूर्यज्योति कृषि सहकारीले एक सय २० बोरा अनुदानको मल किसानलाई नदिई उक्त कृषि विज भण्डारलाई बिक्री गरेको पाइएको छ । कृषि सामाग्री कम्पनी इलामबाट उक्त सहकारीले तीन सय ७० बोरा यूरिया र एक सय ५२ बोरा डिएपी मल पाएको छ ।
यता सहकारीका व्यवस्थापक अमर खत्रीले मल बिक्री नगरेको भन्दै गोदाममा मात्र राखिएको बताए । तर खत्रीले राखिएको भनेको गोदामबाट कृषि विज भण्डारले खुलेआम चर्को मूल्यमा मल बिक्री गरिरहेको प्रमाण फेला परेको छ । सो सम्बन्धमा अनुगमन टोलीलाई कृषि विजका सञ्चालकले झापाको चारआलीबाट मल खरिद गरेको बताएपनि उनले खरिद गरेको आवश्यक कागजपत्र देखाउन सकेनन् । कृषि सामाग्रीका अनुसार सहकारीले युरिया ९ सय नौ र डिएपी २ हजार ३५९ रुपैयाँ प्रतिबोरामा पाउँछन् । तर केही सहकारीले सस्तो मूल्यको मल किसानलाई नभई विचौलियालाई बेच्ने गरेका हुन् ।
पछिल्लो समय इलामका पालिकाहरुलाई कोटा निर्धारण गरेर कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले रासायनिक मल उपलब्ध गराउँदै आएको छ । पालिकाहरुले सहकारीमार्फत किसानलाई वितरण गर्नुपर्ने मल विचौलियाको हातमा पुग्ने गरेको छ । विचौलियाले किसानबाट चर्को मूल्य अशुल्ने गरेका छन् । नियमित अनुगमन नहुँदा अनुदानको मलमा सहकारीको मनपरी बढ्दो रहेको किसानहरु बताउँछन् । ऐन भन्दा बाहिर गएर सहकारीले मल बिक्री गरेको पाइएमा सहकारीको मल विक्री इजाजत खारेज हुने व्यवस्था रहेको छ । तर इलामको एउटा पसलमा मात्र अनुगमन गरेर समस्याको समाधान नुहने स्थानीयले बताएका छन् ।