Logo

स्थानीय सरकारको प्राथमिकतामा कृषि, शिक्षा र स्वास्थ्य

कञ्चनपुरका नौवटै स्थानीय तहले कृषि, शिक्षार स्वास्थ्यलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । दुईवटा गाउँपालिका र सातवटा नगरपालिका रहेको कञ्चनपुरमा सबै पालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।

यहाँको सबैभन्दा ठूलो नगरपालिका भीमदत्त नगरपालिकाले ‘हाम्रो उपज हाम्रै प्रयोग’ भन्ने नाराअघि सारेको छ । कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यावसायिक कृषि खेतीलाई बढोत्तरी गर्नका लागि कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न आवश्यक सहजीकरण गर्ने र कृषि उत्पादनलाई अभिवृद्धि गर्न ‘एक वडा एक उत्पादन’ को नीति अवलम्बन गरिएको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

“कृषकले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि शीतगृह, कृषि भण्डारण केन्द्र स्थापना तथा सञ्चालन गर्न संघ सरकार तथा प्रदेश सरकारको समन्वयमा आवश्यक कार्य गर्न पहल गर्ने योजना बजेटमा समावेश छ,” उनले भने, “कृषि बालीमा किरा तथा रोगबाट हुने क्षति न्यूनीकरणका लागि कृषक लक्षित आकस्मिक बाली उपचार कार्यक्रम, कृषि व्यवसाय सञ्चालन गरिरहेका कृषकलाई एकीकृत कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्न प्राविधिक तथा आवश्यक सहयोग गरिने छ ।” त्यसैगरी शिक्षामा ‘विद्यार्थीसँग मेयर कार्यक्रम’ विद्यालयमा सञ्चालन गरी स्वस्थ्य वातावरण र शैक्षिक गुणस्तर अभिवृद्धि गरिने, पालिकाले जनाएको छ ।

‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत नगर क्षेत्रका विद्यालयबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिइने, संस्थागत विद्यालयबाट प्रदान गरिने गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई कडाइका साथ व्यवस्थित गरी लागू गरिने, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार गर्दै विद्यार्थीहरुलाई शिक्षाका साथ–साथै व्यावसायिक ज्ञान सीप प्रवर्द्धन गर्न ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई थप विस्तार गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

‘हाम्रो विद्यालय, उत्कृष्ट विद्यालय’ अभियानअन्तर्गत सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम, योग शिक्षालगायतका व्यावहारिक एवं व्यावसायिक शिक्षा प्रणालीलाई जोड दिइनेछ । एक विद्यालय एक पुस्तकालय स्थापना गर्न प्रदेश सरकार, संघ सरकार र अन्य दातृ निकायसँग समन्वय र सहकार्य गरिने उल्लेख छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्न शिक्षक एवं कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गरी ‘एक वडा एक प्रविधिमैत्री विद्यालय’ बनाउने अवधारणा ल्याइने, विद्यालयमा खुवाइने दिवा खाजालाई पोषणयुक्त बनाउन आवश्यक अनुगमनको व्यवस्था गरिनेछ ।

साथै जंक फुड वितरण प्रणालीलाई निरुत्साहित गरिन प्रस्तुत गरिएको नीति, कार्यक्रममा उल्लेख गरिएको छ । स्वास्थ्यमा पनि नगरवासीको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गरिने र ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । त्यसैगरी कञ्चनपुरको वेदकोट नगरपालिकाले पनि आगामी आर्थिक वर्षको बजेटमा ‘समृद्ध वेदकोट नगरको आधार; कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका अवलम्बन गरेको छ ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई बढि प्राथमिकता दिइएको छ । नगर उपप्रमुख जोशीका अनुसार, भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासी लालपुर्जा वितरणका लागि आवश्यक पर्ने बजेट विनियोजनका साथै सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्ने नीति अवलम्बन गरी जग्गाधनी लालपुर्जा वितरण कार्यलाई तीव्रता दिइनेजस्ता कार्यक्रमलाई समावेश गरिएको छ । यसैगरी नीति, कार्यक्रममा पुराना र अधुरो योजनालाई प्राथमिकतामा राखी केही नयाँ कार्यक्रमलाई अगाडि बढाउने उपप्रमुख जोशीले बताइन् ।

पुनर्वास नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई बढी प्राथमिकता दिइएको नगर उपप्रमुख भुलियाकुमारी रानाले बताएकी छन् । उक्त नगरपालिकाको आर्थिक वर्षको बजेट ७४ करोड ८१ लाख ६४ हजार रहेको नगरप्रमुख तोयप्रसाद शर्माले बताए । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्य, शिक्षा र कृषिलाई बढी प्राथमिकता दिइएको नगर उपप्रमुख द्रोपती रानाले बताइन् ।

उनले शिक्षा प्रारम्भिक स्कुल जाने विद्यार्थीका लागि बाल विकास केन्द्रको स्थापनादेखि लिएर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न किसिमका अनुदान प्रदान गरिने बताइन् । सार्वजनिक विद्यालयमा ५५ वर्ष उमेर पुगी पेन्सन सुविधा भएका सेवा छोड्न चाहाने स्थायी शिक्षकलाई प्रोत्साहनका लागि नगद अनुदान दिइने जस्ता विषयमा थप प्रभावकारी बनाइने नीति, कार्यक्रम नगरपालिकाले लिएको छ ।

नगर उपप्रमुख रानाले भनिन्, “स्वास्थ्य नगरबासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ कृष्णपुर स्वास्थ्य चौकी रहेको क्षेत्रमा सुविधा सम्पन्न नगर अस्पताल निर्माणदेखि लिएर निःशुल्क स्वास्थ्य शिविर, नौवटै वडाका नागरिकलाई सहजता पर्ने गरी तीनवटा एम्बुलेन्सको व्यवस्था, महामारी नियन्त्रणका लागि कोषको स्थापना, शव व्यवस्थापनका लागि शव बाहनको व्यवस्थालगायतका योजना उक्त नीति, कार्यक्रममा समावेश छन् ।” उक्त नगरपालिकाको आर्थिक वर्षको बजेट ८९ करोड ६७ लाख रहेको छ ।

बेलौरी ननगरपालिकाले पनि कृषि उत्पादनलाई मुख्य प्राथमिकता राखेको छ । नगरप्रमुख पोतीलाल चौधरीले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्यसहितका योजनालाई प्राथमिकता राखेर बजेट सार्वजनिक गरेको बताए । उक्त नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ८६ करोड ५७ लाख ६७ हजार रहेको नगरप्रमुख चौधरीले बताए । त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

नगर चक्रपथ, खानेपानी योजना, सेफ हाउस सञ्चालन, नगरस्तरीय कभर्ड हल, बसपार्क, कोल्ड स्टोर, हलियामुक्ति परिवारको घर निर्माण, छाडा पशु चौपाया व्यवस्थापन, लक्षित वर्ग विशेष कार्यक्रम, मागको आधारमा संस्कृति पर्यटन विकास तथा प्रवर्द्धन जस्ता कार्यक्रमलाई बढी प्राथमिकता दिइएको नगरप्रमुख रणबहादुर महराले बताए । उक्त नगरपालिकाको आर्थिक वर्षको बजेट ८८ करोड सात लाख ९६ हजार रहेको नगरप्रमुख महराले बताए । दोधारा चाँदनी नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिएको नगरप्रमुख किशोरकुमार लिम्बुले बताए ।

उक्त नगरपालिकाको आर्थिक वर्षको बजेट ६९ करोड ३५ लाख ५६ हजार रहेको नगरप्रमुख लिम्बुले बताए । बेलडाँडी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, स्वरोजगारलगायतका क्षेत्रलाई बढी प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बताए । गुणस्तरीय स्वास्थ्य र शिक्षा, उत्पादन र आत्मनिर्भर कृषि अर्थतन्त्र, उत्पादन र मर्यादित रोजगारी, वातावरण अनुकूलन दिगो पूर्वाधार विकास र सुशासनको प्रत्याभुतीलाई प्राथमिकतामा साथ अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले बताएका छन् ।

उक्त गाउँपालिकाको आर्थिक वर्षको बजेट ४६ करोड ९५ लाख ७७ हजार रहेको छ । लालझाँडी गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, र स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई बढी प्राथमिकता दिइएको गाउँपालिकाका प्रवक्ता आशाराम रानाले बताए । उक्त गाउँपालिकाको आर्थिक वर्षको बजेट ४६ करोड ४४ लाख ४९ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्