अर्गानिक तरकारीले बजार पाएन «

अर्गानिक तरकारीले बजार पाएन

कर्णालीका १० वटै जिल्लामा आयातीत तरकारी नपुगेको ठाउँ नै छैन ।

जुम्ला-नेपालमा भारतबाट बर्सेनि अर्बौको विषादीयुक्त तरकारी नेपालमा आयात हुन्छ । भारतका विभिन्न ठाउँबाट आयातीत विषादीयुक्त तरकारी देशका सातै प्रदेशमा पुगेको छ । अर्गानिक प्रदेशको नारा घन्काएको कर्णालीमा भारतको विषादीयुक्त तरकारीले बजार ओगटेको छ । १४ औं जिल्ला परिषद्बाट प्राङ्गारिक जिल्ला घोषणा भएको जुम्लालगायत कर्णाली भारतीय विषादीयुक्त तरकारीबाट अछुतो रहन सकेको छैन ।
आफ्नै उत्पादनमा आत्मनिर्भर, अर्गानिक कृषिको हब बनाउने भनेको साविक कर्णालीको हिमाली क्षेत्र पनि विषादी तरकारीको भूमरीबाट शुद्ध रहन सकेको छैन । जसले आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । कर्णालीका १० वटै जिल्लामा आयातीत तरकारी नपुगेको ठाउँ नै छैन । विशेषगरी कालिकोट, जुम्ला र मुगुमा भने आयातीत तरकारीले बजार ओगटेको छ ।
विदेश जाने, कालापहाड जाने र जग्गा बाँझै राख्ने प्रवृत्तिले परनिर्भरता बढ्दै गएको हो । पश्चिम नाग्मदेखि पूर्वको जुम्ला सदरमुकामका सिञ्जा क्षेत्रका विभिन्न ठाउँमा पर्ने साना ठूला मण्डी तथा पसल आयातीत तरकारीले भरिभराउ छन् । खेतीयोग्य जमिन बाँझै छन् । “खेती किसानी गर्ने सवै विदेश र कालापहाडमा छन् बाहिरको तरकारी ल्याउनु बाध्यता छ,” स्थानीय लोक बहादुरले भने, “आयातीत तरकारीविना कर्णालीको भान्सा चल्दैन्, यसलाई विडम्बना भनौं की बाध्यता ।”
यहाँको उत्पादन बजार, आयात हुने अवस्थालाई मध्यनजर गर्दा कर्णालीमा ५ प्रतिशतले मात्रै आफ्नो बारीमा तरकारी उपभोग गर्ने गरेका छन् । बाँकी ९५ प्रतिशत तरकारी बाहिरबाटै कर्णालीमा भित्रिन्छ । आफ्नै ठाउँको अर्गानिक तरकारी महंंगो पर्ने भन्दै स्वास्थ्यको ख्याल नगरी आयातीत विष खाने बानीले प्राङ्गारिक जिल्ला विषाक्त तरकारीको शिकार भनेको किसानको गुनासो छ ।
स्थानीयस्तरमा उत्पादित तरकारीले बजार नपाउँदा कर्णालीका किसानलाई घरघरमा पुगेर तरकारी बेच्नुपर्ने बाध्यता छ । “घरघरमै पु-याएर नबेचौं भने बारीमै कुहिन्छ, बेचौं महंगो भन्छन्,” जुम्लाको तिला गाउँपालिका–३ का किसान कर्णबहादुर हमालले भने, “बाहिरबाट आएको तरकारी सस्तोमा किन्ने बानी भएकाले उपभोक्ताले अर्गानिक तरकारी महंगो भएको गुनासो गर्ने गर्दछन् ।” उनले आफूहरूले पाँच जनाको समूह बनाएर घरमै व्यावसायिक अर्गानिक ताजा तरकारी उत्पादन गर्ने गरेको भए पनि उपभोक्ताको मानसिकता परिवर्तन गर्न नसकेको बताए । “यहाँका नागरिकमा यही तरकारी किनेर खानुपर्छ भन्ने मानसिकता नै छैन,” उनले भने, “आफैंले उत्पादन गरेको प्रतिकेजी ८० रूपैयाँ पर्ने तरकारी अहिले घर घरमा पुगेर ३०-४० रूपैयाँमा बेच्नुपर्ने बाध्यता छ ।” उनले यस विषयमा सरकारले समेत ध्यान दिन नसकेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्