मन्त्री पुनद्वारा सचिवसँग कार्यसम्पादन सम्झौता «

मन्त्री पुनद्वारा सचिवसँग कार्यसम्पादन सम्झौता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सचिव दिनेश घिमिरेसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।
तेस्रो चौमासिक एवम् वार्षिक प्रगती समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकपछि बिहीबार मन्त्री पुनले सचिव घिमिरेसँग सम्झौता गरेका हुन् । मन्त्रालयले अघि बढाउन लागेका कार्यक्रम तथा योजनासँग सम्बन्धित प्रावधान सम्झौतामा उल्लेख छन् ।
मन्त्री पुनले सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयाँ कार्यशैली अपनाएको बताए । बैठकमा उनले जनताको अपेक्षालाई पूरा गर्न आफू पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिए ।
मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनी दिँदै सरकारले अघि सारेको योजनालाई मनभित्रैबाट पूरा गर्न मातहतका निकायलाई निर्देशन दिए । “अब प्रक्रिया मात्र भनेर हुँदैन, तपाईंहरूले तालिका बनाएर नै काम गर्नुप¥यो । सरकारले अघि सारेको कामलाई सफल पार्नु हामी सवैको दायित्व हो,” उनले भने । मन्त्री पुनले आफू झन्डा हल्लाउन मात्र मन्त्री नभएको भन्दै काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिए । “काम नगर्ने हो भने पद ओगटेर मात्र बस्न कसैलाई पनि छुट छैन्, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन,” मन्त्री पुनले भने ।

प्रतिक्रिया दिनुहोस्