लकिङ बिगारेर ६ सय लिटर इन्धन चोरी

लकिङ प्रणाली जडान गरेको ट्यांकरबाट फिटिङ बिगारेर तेल चोरी भएको छ । नेपाल आयल निगमको तेल बोक्ने ट्यांकरबाट अत्याधुनिक लकिङ प्रणाली तोड्दै ६ सय लिटर पेट्रोल चोरी भएको हो ।
भारतको बरौनीबाट करिब ४ सय किलोमिटर यात्रा गरेर थानकोट डिपो आइपुगेको ट्यांकरमा चेकचाँज गर्दा ६ सय लिटर पेट्रोल कमी भएको निगमका थानकोट डिपो प्रमुख भरत रेग्मीले जानकारी दिए । “ट्यांकरमा जडान गरिएको फिटिङ बिगारेर तेल चोरी गरेको पाइयो,” प्रमुख रेग्मीले भने, “चोरी गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाहीका लागि पत्राचार गरेका छौं ।” निगमको विनियमावलीमा तेल चोरी गर्ने चालकलाई तीनदेखि ६ महिनासम्म निलम्वन गरी तेल ढुवानी गर्न नपाउने व्यवस्था छ ।
थानकोट डिपोका अनुसार साउन ८ गते बुधबार भारतको बरौनी डिपोबाट पेट्रोल भरेर नेपालका लागि हिँडेको ना. ४ ख ५६२६ नम्बरको ट्यांकर साउन १४ गते निगमको थानकोट डिपोमा आइपुग्यो । तर थानकोट आइपुग्दा ट्यांकरबाट ६ सय लिटर तेल चोरी भइसकेको थियो । पेट्रोल चोरी भएको पत्ता लागेपछि निगमले ट्यांकर चालक सागर गुरुङलाई नियन्त्रणमा लिएको छ भने ट्यांकर डिपोमै राखेको छ ।
रेग्मीका अनुसार २० हजार लिटर तेल अटाउने ट्यांकरमा चार वटा च्याम्बर हुन्छन् । एउटा च्याम्बरमा ५ हजार लिटर अटाउँछ । चार वटा च्याम्बरमध्ये २ वटामा कम इन्धन भेटिएपछि तेल चोरी भएको पत्ता लागेको हो ।
थानकोट डिपोका अनुसार डिपो पाइपको वरिपरि सानो प्वाल हुनुपर्ने थियो तर प्वाल भएको पाइपमा अर्को पाइप राखेर चालकले प्वाल नै नदेखिने बनाएको अनुसन्धानबाट पाइएको छ ।
यसअघि पनि गत माघमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नेपाल आयल निगमको विराटनगर डिपोमा आएको ट्यांकरबाट २५ सय लिटर डिजेल चोरी भएको थियो । निगमले तेल ढुवानी गर्दा बीच बाटोमा हुने तेल चोरी नियन्त्रण गर्नका लागि गत वर्षदेखि ट्यांकरमा लकिङ प्रणाली जडान गरेको थियो ।