आर्थिक विकासका लागि प्रविधिमैत्री नीति «

आर्थिक विकासका लागि प्रविधिमैत्री नीति

तीन साताअघि सरकारले दुई दिनको वर्षाले बाढी ल्याउन सक्ने भनेर आम जनतालाई सामाजिक सञ्जाल मार्फत् सतर्क गरायो । धनजनको क्षति नभएको होइन तर यो सतर्कता नगराइएको भए धनजनको क्षति ठूलो र त्यसलाई नियन्त्रण लिन सरकारलाई सहज हुने थिएन । अनि अहिलेसम्म बाढी पहिरोको धनजनको क्षतिका विषयलाई लिएर विरोध भइरहने थियो ।
यो सम्भव भएको विज्ञान तथा प्रविधिको विकासले हो । त्यसैले सरकारले ज्योतिषिको भरमा परेर नभई विज्ञान तथा प्रविधिको ठोस ज्ञानको आधारमा विकास निर्माण गर्नुपर्ने पहल लिनुपर्छ । यो भनिरहँदा नयाँ सरकारले कानुनहरू बनाइरहेको छ । कतिपय विधेयकको सडक विरोध प्रदर्शनका कारण फिर्ता लिनुपर्ने अवस्था आएको देखिएकै हो । तर कतिपय विषय आम जनताको पहुँच भन्दा बाहिरको विषयहरू छन् । अहिले स्मार्ट डिभाइसको युग छ । महिला उद्यमीहरूको भेलामा पुरूषहरूको रेला भनेर सामाजिक सञ्जालमा भाइरल भइरहँदा त्यो हाम्रो समाजको वास्तविक चरित्रलाई छर्लङ्ग पारेको हेक्का नीति निर्माताहरूले लिइरहनुपर्छ ।
हाम्रो किसानले गर्ने कृषि कार्य अकाशे पानीको भरमा छ । जलवायु परिवर्तनको प्रतिकूल असरले मौसमलाई बदलि दिएको छ । समय पूर्व गुराँस फुलेर वन पाखा ढक्कमक्क ढाकेको समाचार जलवायु परिवर्तनको असरको परिणाम हो । पानी नपरेर खडेरी आउँछ भने कहिले बाढी आएर सबै बगाएर लाने पछि पानी नपरेर हुने खडेरी पनि नेपाली किसानले भोगेको विषय हो । त्यतिमात्रै होइन जलवायु परिवर्तनका कारणले कीरा फट्यांग्राले बाली नाली नस्ट गर्ने समस्या पनि भएकै हो ।
नेपाल कृषिप्रधान देश हो । पर्यटकीय क्षेत्र भएको देश हो । अतिथि देवो भवः जीवन सूत्र बोकेको देश हो । यस्तोमा खाद्य सुरक्षाको सुनिश्चिता हुनुपर्ने थियो । तर हामी बेसारदेखि ब्रोकाउलीको आपूर्ति आयातबाट मात्रै होइन, सूईदेखि सोनीका उत्पादनहरू पनि आयातबाटै आपूर्ति गर्नु परेको छ । त्यसैले कृषि उत्पादकत्व वृद्धि र ग्रामीण जनजीवनसँग तालमेल मिलाउनुपर्ने हुन्छ । हाम्रा गाउँबाट युवा श्रमशक्ति पलायन भइरहेको र उनीहरूले विदेशमा गरेका मिहिनेतको भरमा प्राप्त रेमिट्यान्सले धानेको अर्थतन्त्रको परिचय बनाएको विद्यमान अर्थतन्त्रलाई फेर्नुपर्ने छ ।
कृषि ऊपज ऋण तिर्न नसक्दा जग्गा हुने कतिपय किसानहरू सुकुम्बासी हुन पुगेको यथार्थ पनि छ । जलवायु परिवर्तनको असरलाई निरन्तर नजर राख्न सक्ने प्रविधिको विकास भइसकेको छ । त्यतिमात्रै होइन गाउँमा हुने कृषि कार्यमा महिलाहरूले पु¥याउने योगदानको त कुरै नहुने हाम्रो समाजिक संस्कारगत प्रणाली थियो र छ । टेक्नोलोजिको विकासले मेसिनहरू स्मार्ट भइरहेका छन् । कृषिको विद्यमान प्रणालीलाई विकास गर्नुपर्ने आवश्यकता छ । विषादी युक्त फलफूल भारतबाट आयात गर्ने विषय विवादित बन्न पुगेको र सडक तातेको धेरै भएको छैन । विषादी युक्त फलफूलको जाँच गर्ने उन्नत उपकरणहरू पोर्टेबल स्वरूपमा नभएको होइन । यी सबै विषयहरूको समाधान नीति निर्माताहरूले ध्यान दिनुपर्ने हुन्छ । यसमा कृषि उत्पादकत्वको दीगो वृद्धि, जलवायु परिवर्तनको समस्याको ठोस उपाय र हरितगृह ग्यास उत्सर्जनका विषयलाई बेवास्ता गर्नु समकालीन अवस्थालाई नबुझ्नु ठहर्छ ।
यस्तो प्रविधि मैत्री नीतिको निर्माण गर्दा नेपाली महिलाको सहभागीतालाई बिर्सन नहुने आवश्यकता बोध हुनुपर्छ । त्यतिमात्रै होइन नेपाली संघीय संरचनामा गइसकेको देश हो । हरेक प्रदेशमा महिलाको अवस्था प्रायः फरक फरक छन् । त्यसैले प्रादेशिक रूपमा यस्ता नीतिको निर्माण गर्दा र त्यसको उपाय प्रविधिको डिभाइसबाट खोज्दा यी विषयलाई पनि ध्यान दिनुपर्ने हुन्छ । हाम्रा विकासको आधार कृषि नै भएकाले यसको समन्वयमा नै हाम्रा विकासहरू अगाडि बढछन् र बढ्नुपर्ने धारणा नीति निर्माताहरूमा हुनुपर्ने छ । त्यतिमात्रै होइन मन्त्रालयहरूबीचको समन्वयलाई बलियो पार्नुपर्छ । सबै मन्त्रीहरू सरकारको लागि जनहितकारी कामप्रति जिम्मेवार छन् । जनहितकारी कार्यहरू एक अर्कासँग गाँसिएका हुन्छन् । ती विषयलाई ठीक ढंगले सम्बोधन गर्नुपर्ने हुन्छ । अन्यथा कृषि र उद्योगबीचको जुहारी यो सरकारको पालामै देखिएको विषय हो ।
यो विषयमा महिलाको प्रवाहलाई मुख्यरूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्यमा महिला सहभागीतालाई बढाउनुपर्ने आवश्यकताले पनि यो महत्वपूर्ण विषय हो । जलवायु परिवर्तनको असर गाउँ क्षेत्रका महिलालाई बढी पर्छ । हाम्रा गाउँ क्षेत्रमा आमरूपमा पानी ल्याउने र घाँस दाउरा ल्याउने काम महिलाको जिम्मामा जन्मेबित्तिकै दिइने अधिकार जसरी संस्कारमा गाँजिएको छ । त्यसैले प्रविधि मैत्री नीतिले ध्यान दिने जलवायु परिवर्तनको प्रत्यक्ष असर महिलालाई पर्नेछ । दोस्रो खाद्य सुरक्षाको अभाव हुँदा महिला सर्वाधिक चपेटामा पर्ने गर्छन् । महिलाको कुपोषणले नयाँ पुस्ता कुपोषण हुने चुनौती थप्ने छ ।
स्मार्ट डिभाइसको माध्यमबाट महिलाहरूले जलवायु परिवर्तनको समस्याबारे जति छिट्टो प्रचारमा ल्याउने क्षमता तुलनात्मकरूपमा राम्रो हुन्छ । पानीको देश भनेर फुर्ति लाउने विषय हाम्रा लागि पनि छैन । घन्टौं हामीले उकालो ओरालो गरेर एक गाग्री पानी ल्याएको जनजीवन भोेगेको समाप्त भएको छैन् । त्यसैले वर्षाको पानीलाई सदुपयोग गर्ने अभियानलाई अन्यथामा लिएर बेवास्ता गर्नु हुँदैन । यी विषयहरूलाई सम्बोधन गर्नुपर्ने रणनीति बनाउँदा संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारबीचको बलियो समन्वय हुनु आवश्यक छ । संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तरिकाले प्रविधिमा आधारित भएर विभिन्न कामहरू गरिहेका समाचार पनि आइरहेका छन् । यस्तोमा ख्याल गर्नुपर्ने कुरा यो हो की राष्ट्रिय विकास र नागरिकको हितमा हुने काम गर्न तीनै तहको समन्वयमा काम गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्