Logo

रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट

रुकुम पश्चिमका ६ वटै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट ल्याएका छन् । जिल्लाका अधिकांश स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सृजना गर्ने लगागतका नीति तथा कार्यक्रममा जोड दिएका छन् ।

नीति कार्यक्रमसँगै सबै स्थानीय तहले बजेट पनि ल्याएका छन् । रुकुम पश्चिमको सदरमुकाममा रहेको मुसिकोट नगरपालिकाले ७४ करोड बढीको बजेट ल्याएको छ । आइतबार मुसिकोट नगरपालिका–७ को ठूली दहमा आयोजित १२औं नगर सभामा उपप्रमुख विमलकुमार पुनले ७४ करोड ८६ लाखरु पैयाँ बराबरको बजेट प्रस्तुत गरे । कुल बजेटमध्ये चालुतर्फ ५७ करोड र पुँजीगततर्फ १७ करोड बजेट विनियोजन गरिएको छ ।

बजेट स्रोतमा तीा करोड बढी आन्तरिक राजस्व रहेको छ भने बाँकी संघ तथा प्रदेशको वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँट, विशेष अनुदान, समपूरक अनुदान रहेको छ । त्यस्तै नगरपालिकाले आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमान गरेको छ  । त्यस्तै जिल्लाको अर्को आठबीसकोट नगरपालिकाले पनि बजेट ल्याएको छ । नगरपालिका उपप्रमुख धनकुमारी शाहीले सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।

उनले ६३ करोड ५० लाख रुपैयाँ बराबरको बजेट पेस गरिन् । जसमा चालुतर्फ ४० करोड  र पुँजीगततर्फ २३ करोडको बजेट प्रस्तुत गरेकी हुन् । खर्च बेहोर्ने स्रोतमा आन्तरिक राजस्वतर्फ राजस्वबाट दुई करोड ८० लाख रहेको छ भने अन्य संघ तथा प्रदेशबाट प्राप्त हुने बजेट र राजस्व बाँडफाँट रहेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । नगर उपप्रमुख इश्वरी शर्मा बीएमले शनिबार १७औं नगर सभामा ८१ करोड १ लाख रुपैयाँ बराबरको बजेट पेस गरिन् । कुल बजेटमध्ये चालुतर्फ ५८ करोड र पुँजीगततर्फ २२ करोड रहेको छ । बजेट वक्तव्यमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको स्रोत बेहोर्ने खर्चमध्ये आन्तरिक राजस्वबाट दुई करोड २२ लाख रहेको छ भने अन्य रकम संघ तथा प्रदेशबाट प्राप्त हुने अनुमान छ ।

जिल्लाको बाँफिकोट गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठाले नीति तथा कार्यक्रम र उपाध्यक्ष तारा बुढा केसीले बजेट सभामा पेस गरिन् । उपाध्यक्ष केसीले सभामा कुल ५५ करोड पाँच लाखको बजेट पेस गरिन् । जसमध्य चालु खर्चतर्फ ३५ करोड र पुजीँगत खर्चतर्फ १९ करोड रहेको छ ।

त्यस्तै जिल्लाको त्रिवेणी गाउँपालिकाले पनि बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले आगामी आर्थिक वर्षका लागि बजेट वक्तव्य पेस गरिन् । जसमा ५० करोड ९६ लाख रुपैयाँ रहेको छ । कुल विनियोजित बजेट मध्ये चालुतर्फ ३८ करोड र पुँजीगततर्फ १२ करोड रहेको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले सभामा ५० करोड ६७ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । चालुतर्फ ३१ करोड र पुँजीगततर्फ १८ करोड बजेट विनियोजन गरिएको छ ।

आगामी वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट एक करोड ५१ लाख, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट नौ करोड ४९ लाख ८ सय, संघबाट प्राप्त हुने समानीकरण अनुदान नौ करोड नौ लाख, कर्णाली प्रदेशबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट पाँच लाख १२ हजार ३ सय २९, प्रदेशबाट प्राप्त हुने समानीकरण अनुदान ९७ लाख ६७ हजार, संघबाट प्राप्त हुने सशर्त अनुदान चालुतर्फ २० करोड ३० लाख र सशर्त अनुदान पुँजीगततर्फ एक करोड ११ लाख रहेको छ ।

त्यस्तै संघको समपूरक अनुदान ५० लाख र विशेष अनुदान चालु ५० लाख, विशेष अनुदान पँुजीगत ७५ लाख, कर्णाली प्रदेश समपूरक अनुदान ५० लाख, सशर्त अनुदानमार्फत् चार करोड ५८ लाख ८८ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसका साथै गाउँपालिकाको चालु आर्थिक वर्षको मौज्दात एक करोड ७५ लाख पनि आगामी आर्थिक वर्षमा खर्च हुने गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्