जेठमा कोरिया जाने युवा बढे «

जेठमा कोरिया जाने युवा बढे

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाले नेपाली श्रमिकको माग बढाएको छ । कोरियाका रोजगारदाताले पछिल्ला चार महिनामा नेपाली युवाको माग ५० प्रतिशत बढाएका हुन् । गत फागुनमा दुई हजार नेपाली युवाको माग आएकोमा जेठमा यो संख्या तीन हजार पुगेको छ । पछिल्लो समय कोरियामा श्रमिक अभाव हुन थालेपछि नेपाली श्रमिकको माग बढिरहेको छ ।

वैदेशिक रोजगार विभाग, ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले कोरियाबाट फर्केर पुनः जानका लागि आवेदन दिनेलाई भन्दा नयाँलाई प्राथमिकता दिएका कारण माग बढेको बताए । आगामी दिनमा भने नेपाली युवाको माग घट्न सक्ने संकेत देखिएको उनको भनाइ छ । नेपाली युवाले कोरिया प्रवेश गरेको केही महिनाभित्रै काम तथा अन्य वातावरण असहज भएको जनाउँदै रोजगार क्षेत्र परिवर्तन गर्ने गरेका कारण आगामी दिनमा माग घट्न सक्ने अनुमान छ ।

कोरियाले कोभिड संक्रमणपछि अन्य १५ ईपीएस सदस्य देशमध्ये नेपालबाट सबैभन्दा बढी युवा माग गरिरहेको छ । नेपाल सरकारले कोरिया पठाउने प्रक्रिया पारदर्शी र छिटोछरितो गरेका कारण अन्य देशको तुलनामा यहाँबाट धेरै श्रमिक कोरिया गएका हुन् । कोरियाले नेपालबाट गत फागुनमा २ हजार १२७, चैतमा २ हजार ३१०, वैशाखमा २ हजार ५७४ र जेठमा हालसम्मकै बढी २ हजार ९६४ नेपाली युवा माग गरेको विभागले जनाएको छ ।

कोरियाले यो वर्ष नेपालसहित विभिन्न देशबाट १ लाख १० विदेशी श्रमिक लैजाने गरी कोटा निर्धारण गरेको छ । कोरियाले १६ देशका लागि ‘छिटो सेवा, धेरै श्रमिक माग’ नीतिअनुसार काम गरिरहेको छ । सन् २०२२ मा नेपालबाट १५ हजार युवा कोरिया गएका थिए । हाल रोष्टरमा रहेका युवाको संख्याका आधारमा आगामी वर्ष कोरिया जानेको परीक्षा तय हुने ईपीएस शाखाले जनाएको छ । फागुनबाट मासिक दुई हजार युवा कोरिया गइरहेका छन् ।

यसैगरी कोरिया जाने प्रतीक्षा सूची (रोष्टर)मा हाल ५ हजारको हाराहारीमा युवा छन् । पुराना श्रमिक अनुभवी भए पनि उमेर तथा बसाइ अवधि कम हुने कारण कोरियाले कम रुचि देखाएको बताइएको छ । नयाँको अधिकतम बसाइ ९ वर्ष हुन्छ भने पुरानाको ४ वर्षमात्र हुने गरेको छ । कोरियाले पुनः नलगेको भन्दै रोष्टरमा नाम भएका युवाले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् ।

जहाज बनाउने कामदारको परीक्षा तत्काल नहुने

कोरियाले पछिल्लो समय नेपालबाट पानीजहाज बनाउने श्रमिक लैजाने जनाउँदै यो क्षेत्रका लागि तत्काल छनोट आवेदन माग गर्ने जनाए पनि परीक्षा भने केही समयपछि मात्र हुने भएको छ । हाल यो क्षेत्रका लागि रोष्टरमा छनोट भएका ८९२ श्रमिकको श्रमसम्झौता हुने प्रक्रियामा छ ।

नेपालबाट पहिलो पटक जहाज बनाउने कामदार लैजान लागिएको हो । कोरियाका रोजगारदाताले पहिलो चरणमा माग गरिएका केही नेपालीको कार्यक्षमता हेरेर मात्र थप युवाको परीक्षा गर्ने देखिएको छ । कोरियाले यो वर्ष ३ हजार नेपालीलाई जहाज निर्माणमा रोजगारी दिने आश्वासनसहित परीक्षाको तयारी गर्न नेपाललाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्