समृद्ध नेपालको जग के हो ? «

समृद्ध नेपालको जग के हो ?

आर्थिक समृद्धिका कुरा सहजै हुने गरेका छन् । आर्थिक समृद्धिका निमित्त उच्च आर्थिक वृद्धिदर हुनु जरुरी हुन्छ । आर्थिक वृद्धिदर भन्नाले प्रत्येक वर्ष कुल गार्हस्थ्य उत्पादनमा वृद्धि हुनु हो । कुल गार्हस्थ्य उत्पादन भन्नाले एक वर्षभित्र नेपालको अर्थव्यवस्थामा विभिन्न क्षेत्रले आर्जन गरेको आम्दानीको कुल योग हो । यसरी प्राप्त गर्ने आम्दानीमा वर्षैपिच्छे थप आम्दानीको आशा गरिएको हुन्छ । आर्थिक समृद्धिका निमित वार्षिक आम्दानीमा हुने थप आम्दानीमा उच्च दरले वृद्धि हुनु जरुरी हुन्छ । यसरी कुनै एक वर्षमा भएको थप आम्दानीलाई आर्थिक वृद्धिदर भनिन्छ, जसलाई प्रतिशतमा व्यक्त गर्ने गरिन्छ । उच्च आर्थिक वृद्धिदर समृद्धिको आधार हो । अर्थात् नेपाललाई विकसित र समृद्ध बनाउन कम्तीमा आउने दुई दशकसम्म दुई अंकको आर्थिक वृद्धिदर अनवरत रूपले हासिल गर्न जरुरी हुन्छ ।

नेपालको आर्थिक वृद्धिदर
नेपालको आर्थिक वृद्धिदर अत्यन्त दयनीय अवस्थामा छ । विगत १० वर्षको अवधिको कुरा गर्दा सन् २००८ मा ६.१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गर्न सफल भएको देखिन्छ । त्यस्तै गरेर यो वृद्धिदर सन् २०१६ मा सबै वर्षको भन्दा कम ०.६ प्रतिशत मात्र रहेको छ । विश्लेषणका लागि समावेश गरिएका वर्षहरूको आर्थिक वृद्धिदर यी दुई वर्षमा प्राप्त गरेको आर्थिक वृद्धिदरहरूको बीचमा रहेको छ, अर्थात् नेपालको आर्थिक विकासदरमा बर्सेनि उतारचढाव भइरहेको तथ्य प्रस्तुत चित्रमा देख्न सकिन्छ । यसरी उतारचढाव हुनुको पछाडि पर्याप्त कारणहरू छन् । धेरै कारणमध्ये प्रमुख कारणका रूपमा रहेको तथ्य भने नेपालको आर्थिक वृद्धिदर कृषिमा आधारित हुनु हो । कृषि उत्पादनमा वृद्धि हुँदा आर्थिक वृद्धिदरमा वृद्धि हुन्छ भने ह्रास हुँदा ह्रास । नेपालको कृषि मनसुनमा निर्भर रहेका कारण कृषि उत्पदनमा पनि उतारचढाव भइरहन्छ । अनुकूल मनसुन हुँदा कृषि उत्पादनमा पनि वृद्धि हुन्छ भने प्रतिकूल मनसुनको समयमा कृषि उत्पादनमा ह्रास । अनुकूल मनसुन भएको वर्षमा आर्थिक वृद्धिदर बढी हुन्छ भने प्रतिकूल हुँदा कम । त्यस कारण नेपालको आर्थिक वृद्धिदरको आधार कृषिक्षेत्र नै रहँदै आएको छ ।

चीन र दक्षिण एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर
नेपाल दक्षिण एसिया सहयोग संगठनको सदस्य राष्ट्र हो भने चीनको छिमेकी मुलुक हो । त्यसैले नेपालको तुलना दक्षिण एसियाका मुलुकहरू र चीनसँग गर्न आवश्यक हुन्छ । चीन र दक्षिण एसियाका मुलुकहरू पनि समृद्धि प्राप्तिको बाटोमा अग्रसर छन् । नेपालको समृद्धिको कुरा गर्दा यसका छिमेकी मुलुकहरूको समृद्धिको चर्चा गर्नु वाञ्छनीय हुन्छ, जसले नेपालको समृद्धि कुन सतहमा छ भन्ने तथ्यको उद्घाटन गर्न सक्छ । विगत चार दशकको आर्थिक समृद्धिको यात्राले नेपालको छिमेकी मुलुक चीनलाई विश्वको दोस्रो धनी देश बनाउन मद्दत ग¥यो । यो समृद्धि विगतमा चीनले हासिल गरेको उच्च आर्थिक वृद्धिदरको प्रतिफल हो । सन् २००८ देखि सन् २०१७ को अवधिमा ८.२ प्रतिशतका दरले औसत आर्थिक वृद्धिदर हासिल गरिरहेको थियो । त्यस्तै गरेर सोही अवधिमा भारतले ७.७ प्रतिशतका दरले औसत आर्थिक वृद्धिदर हासिल गरिरहेको थियो । दक्षिण एसियाली मुलुकहरूको विकासदरले यी दुई देशको विकासदरलाई पछ्याइरहेका छन् । विगत एक दशकको अवधिमा भुटान (६.८ प्रतिशत), अफगानिस्तान (६.४ प्रतिशत), बंगलादेश (६.३ प्रतिशत), श्रीलंका (५.७ प्रतिशत), मालदिभ्स (४.७ प्रतिशत), नेपाल (४.३ प्रतिशत) र पाकिस्तान (३.७ प्रतिशत) का दरले औसत आर्थिक वृद्धिदर हासिल गरिरहेका छन् । यो लेखमा समावेश गरिएका मुलुकहरूको तुलनामा नेपालको औसत आर्थिक वृद्धिदर सबैभन्दा कम छ । पाकिस्तानको आर्थिक वृद्धिदर नेपालको भन्दा केही कम छ । तर, नेपालको तुलनामा पाकिस्तान अत्यन्त धेरै समृद्ध मुलुक हो, जसको पुष्टि प्रतिव्यक्ति आम्दानी सूचकले गरेको छ ।

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन
समृद्धिको अर्को सूचक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन हो । यो लेखमा समावेश गरिएका देशहरूको तुलनामा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको स्तर कुन गहिराइमा छ भन्ने तथ्यका बारेमा जानकारी लिन सकिन्छ । सन् २०१६ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनका आधारमा मालदिभ्स (१०११८.९ अमेरिकी डलर) सबैभन्दा अगाडि वा प्रथम स्थानमा छ भने अफगानिस्तान (५६१.८ अमेरिकी डलर) सबैभन्दा कम वा अन्तिम स्थानमा रहेको छ । दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटांै, सातौं र आठांै स्थानमा क्रमशः चीन (८१२३.२ अमेरिकी डलर), श्रीलंका (३८३५.४ अमेरिकी डलर), भुटान (२७७३.५ अमेरिकी डलर), भारत (१७०९.६ अमेरिकी डलर), पाकिस्तान (१४४३.६ अमेरिकी डलर), बंगलादेश (१३५८.८ अमेरिकी डलर) र नेपाल ( ७२९.१ अमेरिकी डलर) छन् । नेपालको समृद्धि कुन गहिराइमा छ भन्ने तथ्यको उद्घाटन प्रस्तुत आँकडाहरूले देखाइरहेका छन् । नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन प्रस्तुत मुलुकहरूको तुलनामा लामो समयसम्म युद्धद्वारा पीडित मुलुक अफगानिस्तानको भन्दा झिनो अन्तरले अगाडि छ ।

५ हजार डलर
वाम गठबन्धनले आफ्नो साझा घोषणापत्रमा उल्लेख गरेको छ— नेपालीहरूको प्रतिव्यक्ति आम्दानी आगामी पाँच वर्षमा ५ हजार डलर पुयाउने । यसैलाई प्रमुख मुद्दा बनाएर वाम गठबन्धनलाई दुईतिहाइ बहुमत प्राप्त भएको छ । सन् २०१६ मा नेपालको प्रतिव्यक्ति आम्दानी केवल ७२९.१ अमेरिकी डलर छ । सन् २०१६ को वास्तविक आँकडालाई आधार मान्दा आगामी पाँच वर्षमा ५ हजार डलर पुयाउन प्रतिव्यक्ति आम्दानीमा करिब ६ सय प्रतिशतले वृद्धि गरिनुपर्छ । यसलाई आधार मान्दा वार्षिक १ सय २० प्रतिशतले नेपालको प्रतिव्यक्ति आम्दानीमा वृद्धि हुनु जरुरी हुन्छ । सन् १९६० मा नेपालको प्रतिव्यक्ति आम्दानिको वृद्धिदर ०.३ प्रतिशत रहेकोमा सन् २०१६ मा आइपुग्दा यो वृद्धिदर ०.७ प्रतिशतले ऋणात्मक हुन पुग्यो । अत्यन्त मन्द गतिले हिँडिरहेको नेपालको अर्थतन्त्रले कछुवाको हिँडाइबाट हाँसको हिँडाइमा रूपान्तरण गर्ने जमर्को गरेको छ । छिमेकी मुलुक चीनको प्रतिव्यक्ति आम्दानी ८ हजार अमेरिकी डलर छ । यो उपलब्धि कुनै एकाध दशकको प्रयत्नको प्रतिफल होइन । यो त सन् १९८० को दशकको सुरुदेखिको निरन्तर प्रयासको प्रतिफल हो । माथिका हरफहरूमा उल्लेख गरिएको छ कि सन् २००८ देखि २०१७ को अवधिमा चीनको औसत वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा बढी छ । सोही अवधिमा नेपालको आर्थिक वृद्धिदर चीनको भन्दा आधा मात्र । चीनको यो प्रगति चार दशकको लामो निरन्तर प्रयत्नको उपज हो, जुन यो अवधिमा वार्षिक आर्थिक वृद्धिदर ७ प्रतिशतदेखि १२ प्रतिशतसम्म रहेको थियो । आजको नेपाल सन् १९८० को दशकको चीनभन्दा गएगुज्रेको अवस्थामा छ । गरिबी करिब २९ प्रतिशत छ, अर्थात् झनडै पौने १ करोड मानिस गरिब छन् । यी मानिसहरूको समूहलाई समृद्ध बनाउन एकत्रित र भरपर्दो योजना आवश्यक पर्छ । नेपालमा योजना त बन्ने गरेका छन्, तर ती योजनाहरू काम गर्न होइन, मागिखाने भाँडोका रूपमा रहेका छन् ।
के नेपाल अब आउने पाँच वर्षको अवधिमा समृद्ध बन्न सक्ला ? नेपालको कुन क्षेत्रको विकासले यो प्रश्नको उत्तर दिन सक्ला ? नेपालमा रोजगारी सिर्जना हुन सक्ने क्षेत्रको विकास हुनु जरुरी छ, जसले २९ प्रतिशत गरिब नेपालीलाई समृद्ध बनाउन सकोस् । उद्योग–व्यवसायको विकास हुनु जरुरी छ, जसले आयात प्रतिस्थापन मात्र होइन कि निर्यात बढाउन सकोस् । अनुकूल नीति–नियमहरूले निजी क्षेत्रलाई उद्योग व्यवसाय सञ्चालन गर्न उत्साहित बनाउँछ । उद्योग–व्यवसायको विकासलाई प्रमुख बनाइनुपर्छ । यसको विकासका निमित्त निजी क्षेत्र र वैदेशिक लगानीको भूमिका अत्यन्त गहन हुन्छ, जसलाई आकर्षण गर्न अनुकूल निति र कार्यनीतिको अवलम्बन गरिनुपर्छ । उद्योग–व्यवसाय सञ्चालनका निमित्त विद्युत्को आवश्यकता पर्छ, जसको आपूर्ति सहज रहेको छैन । जलविद्युत्को विकास गरेर विद्युत्को आपूर्ति बढाउन सकिन्छ । यसका निमित्त पर्याप्त समय र पुँजीको आवश्यकता पर्छ । पर्यटन अर्को क्षेत्र हो । यसको विकासका निमित्त पर्याप्त लगानी हुनु जरुरी हुन्छ । यति मात्र होइन; स्थिर सरकार, पर्याप्त सुरक्षा सुविधा, पर्यटकको चाहनाअनुसारका वस्तु तथा सेवाको उपलब्धता र अनुकूल वातावरणको आवश्यता पर्छ । यो क्षेत्रको विकासले गति लिँदा रोजगारीका अवसरहरू खुल्न सक्छन् । कृषिक्षेत्रले सबै कृषिउपजमा आत्मनिर्भर बनाउन सके मात्र नेपालको विकासमा सहयोग पुग्न सक्छ । यसको विकासले मात्र आशा गरिएको समृद्धि प्राप्त हुन सक्दैन । कृषिक्षेत्र समृद्धि प्राप्तिको मार्गमा सहायक मात्र हो ।

(लेखक अर्थशास्त्री हुन् ।)

प्रतिक्रिया दिनुहोस्