शिक्षक सम्मान «

शिक्षक सम्मान

आजभोलि शैक्षिक जगत्को एउटा पक्ष, शिक्षकका विषयमा अनेकौं कुरा उठिरहेका छन् । सरकारी र निजी क्षेत्रमा शिक्षकका काम–कारबाही, स्थापन–विस्थापन आदि सन्दर्भमा बहसहरू चलिरहेका छन् । तीमध्ये एउटा कुरा यहाँनेर लेखकको आफ्नो व्यक्तिगत अनुभवका आधारमा लेख्न खोजिएको छ । त्यो होे— शिक्षकको सम्मानको कुरा, जुन नेपाली शिक्षा जगत्को सबैभन्दा महत्वपूर्ण र सर्वांगीण कुरा पनि हो ।
भौतिक सुखसुविधाबाट र अभौतिक मानसम्मानबाट सतत् आनन्द प्राप्त गर्न खोजिरहनु नै मानिसको स्वाभाविक र आधारभूत प्रकृति हो । त्यसैले एउटा मानिसले जीवनमा धन कमाउने र यश–कीर्ति कमाउने दुइटै धार समात्छ ।
यद्यपि यसका आयामहरू फरक–फरक हुन्छन्, त्यसमध्ये कुनै मानिस शिक्षक छ भने उसको जीवनको उद्देश्य पनि यही हो । मात्रात्मक र गुणात्मक भिन्नता अवश्य होला तर सबै शिक्षकलाई पैसा पनि अपुग नै भइरहेको हुन्छ भने समाजबाट प्राप्त गर्नुपर्ने मान–सम्मानको भोक पनि यस वर्गलाई धेरै हुन्छ ।
मानिस जातिको आदिकालदेखि प्राकृतिक, जैविक, वंशानुगत, सामाजिक र बिस्तारै प्राविधिक रूपमा पनि विचारहरू पुस्तान्तर हँुदै गएर आजको चेतनाको स्तर निर्माण भयो, जुन प्रक्रियाको मानवीय माध्यम शिक्षक हो । मानिसका यिनै विचार र बुद्धिअनुसार अनेकौं काम गरिएर आजको भौतिक र भावनात्मक संसार बनेको हो ।
तसर्थ आज यस दुनियाँमा अस्तित्वमा रहेका जति पनि विचार, वाद, सीप, सूत्रहरू छन् र भय, क्रोध, लोभ, मोहजस्ता नकारात्मक भनिएका र दया, माया, सद्भाव, खुसी, आनन्द, परमानन्दजस्ता सकारात्मक भनिएका भावहरू छन् ती सबैका पछाडि प्राचीन कालका साधक ऋषि, महर्षि, गुरु, सद्गुरुदेखि लिएर आजका अध्यापक, प्राध्यापक, प्रशिक्षक, सहजकर्ता, लेखक, साहित्यकार, पत्रकार आदि सबै खाले शिक्षकहरू रहेका छन् । यसका अतिरिक्त शिक्षक हाम्रो समाज र संस्कृतिको अभिन्न अंगका रूपमा विकसित हुँदै आएको भए पनि ज्ञानको ज्योति दिने गुरुदेखि कुनै सानोदेखि ठूलो काम सिक्न सघाउने युट्युब भिडियोहरू पनि शिक्षक बन्दै गए, हिन्दू धर्मग्रन्थमा ठाउँठाउँमा मानिसबाहेकका अन्य प्राणी कुनै पनि असल गुरु वा शिक्षक भएको उल्लेख गरिएको छ । यस अतिरञ्जनातिर जानुभन्दा शिक्षक सम्मानको मात्र कुरा गरौं ।
हिजोआज कञ्चनपुरमा एउटा घटनाको चर्चा छ, शिक्षकहरूको कुटाइबाट एउटा बालक मरेको आरोप छ ।
मानिसहरू ती शिक्षकहरूप्रति घृणा–भाव मुखरित गरिरहेका छन् । अर्कातिर सरकारी-गैरसरकारी क्षेत्रका विद्वत वर्ग शिक्षाक्षेत्रको सुधारमा शिक्षकको भौतिक-अभौतिक सेवा–सुविधा वृद्धिको कुरा उठाइरहेका छन् । शिक्षकहरू हेर्दा केहीले एउटा तथा कथित आदर्श फलाक्छन् । प्राचीन गुरुले झैं शिक्षकले धनको लोभ पनि गर्नु हुँदैन, मान–सम्मान पनि मागरिहनु हुँदैन, एउटा महान् त्याग, तपस्या र साधनाले दीक्षित दिव्यता नै शिक्षक हुन योग्य हुन्छ ।
}अर्को कुनै प्रोफेसरको तर्क होला कि शिक्षक विशुद्ध व्यावसायिक हुनुपर्छ, सामाजिक सुधारको नेतृत्वकर्ता हुनुपर्छ, त्यसैमा शिक्षकमा लेख्ने–पढ्ने गुणले लेखक, साहित्यकार, अनुसन्धानकर्ता र वैज्ञानिक पनि भइरहेको हुन्छ, यति मात्रै होइन, यस्ता कैयौं अरू धार पनि छन् । तर, यथार्थमा मानिसले कुन समयकालमा कुन शिक्षकको कुन सम्मानको कुरा गर्छन्, विश्लेषण गरिनुपर्ने कुराचाहिँ त्यो हो ।
मैले धनगढीमा आमरूपमा परिचित निजी शैक्षिक संस्थाहरूमा विगत १२ वर्षदेखि काम गरेको छु ।
त्यहाँ मैले काम गरिरहँदा कुन रूपमा कति सम्मान पाएँ, त्यो मेरो व्यक्तिगत अनुभूति हो । त्यस्तै अब म सरकारी क्षेत्रमा तथाकथित स्थायीका रूपमा जाँदैछु र त्यहाँ कस्तो सम्मान पाइएला भन्ने कुराको पनि सहजै पूर्वानुमान गरिरहेको छु । म जान्दछु कि हरेक व्यक्तिका अनुभूति फरक–फरक हुन्छन्, तर विद्वान्, बहसकर्ता र सरकारी नीति–निर्माताहरूले गरिरहेको बुद्धिविलास र मेरो व्यक्तिगत अनुभवको तारतम्य ठ्याक्कै नमिलेको छ ।
नेपाली समाजमा एउटा शिक्षक शिक्षक मात्र नभई अरू काममा पनि लागेको हुन्छ, उसको व्यक्तिगतभन्दा पनि पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक आवरण र आबद्धताले उसलाई तीतामीठा अनुभूतिहरू प्राप्त भइरहेका हुन्छन्, विशुद्ध रूपमा शिक्षणद्वारा उसका विद्यार्थीले उसप्रति बनाएको धारणा एउटा शिक्षकका लागि सबैभन्दा उल्लेखनीय पक्ष हो ।
यस विषयमा पहिलो कुरा त कुनै शिक्षकले मेरा विद्यार्थीले मलाई कति सम्मान गर्छन् भनेर सोच्नुभन्दा पूर्व म मेरा शिक्षकलाई कति सम्मान गर्थें र गरिरहेछु भनेर सोच्नु आवश्यक हुन्छ । दोस्रो कुरा, आफ्नो कामबाट म मेरो अन्तस्करणबाट नै सन्तुष्ट छु कि छैन भनेर सोच्नुपर्छ, जसमा शिक्षकको सम्मानको बहसको डुंगा तैरिरहेको छ ।
शिक्षकको सम्मानको अर्को पाटो के हो भने कुनै शिक्षकले अरू व्यक्ति, पेसाकर्मी, कर्मचारी वा नेता तथा शाशक भन्दा कम वा बढी कति सम्मान कहाँ र कसरी पाएको छ, आजकाल सञ्चारमाध्यममा सुनिएको छ, आजको विकसित भनिएको कुनै देशका डाक्टर, इन्जिनियर तथा अन्य पेसाकर्मीद्वारा शिक्षक बराबर वा उनीहरूको भन्दा बढी सुविधा, मान–सम्मान आफूहरूको नभएको गुनासो गरिँदा त्यस देशकी प्रमुख शासकले भनेकी रहिछन्— तपाईंहरूलाई पनि तिनै शिक्षकले बनाएका हुन् नि ? सम्मान–असम्मान भनेकै अमुक–अमुक व्यक्तिप्रति समर्पण भावको तुलना हो । हाम्रो गाउँघर तथा सहरको बदलिँदो परिस्थितिमा शिक्षकको सम्मानका लागि सरकारले र निजी क्षेत्रले दिने पुरस्कार, पदवी, नगद तथा अन्य अवसरहरूजस्ता केही औपचारिकता पनि रहेकै छन् ।
शिक्षकको सम्मानको अर्को रोचक प्रसंग के हो भने शिक्षक लाखौँ सम्मानले हावा भरिएको बेलुनझैं फुकेको हुन्छ, तर एउटै पनि असम्मानले च्वास्स घोच्दा फुटेर आकारविहीन बन्न जान्छ । तर, राजनेता वा अन्य केही पेसाकर्मीहरूचाहिँ आफूभित्र सम्मानको फलामे आकृति बनाउँछन्, जसमा कसैले थुके पनि दाँत देखाएर हाँस्न सक्छ, माला लगाए भने गर्वले कुर्लन्छ ।
स्वाभिमान र अभिमानको फरक पनि यसरी नै हुन्छ ।
अन्त्यमा शिक्षकको सम्मान किन र कसरी गर्ने भन्ने विषय अत्यधिक सान्दर्भिक भएका बेला विचारको बहसले भन्दा हार्दिक भावले बढी महत्व राख्छ, सामान्यतः कुनै शिक्षकमा कुनै घमण्ड नहुँदा उसप्रति मानिसहरू आग्रही हुँदैनन्, तर कत्ति पनि घमन्ड गर्दिनँ भन्ने घमन्डले भने झन् मानिसहरू आग्रही–पूर्वाग्रही हुन्छन् । हरेक शिक्षकले बुझेका छन् कि आजका विद्यार्थी अवश्य पनि शिष्य होइनन्, त्यसैले गुरु दक्षिणामा सम्मान खोज्न पनि मिल्दैन । यसर्थ आजभोलि चलिरहेको शिक्षकको सम्मानको कुरा केवल बकम्फुसे गफ र असमञ्जस समाजको ढोंगी चरित्र विकास गर्ने खेल भएको छ ।

रामबहादुर बुडाऐर

प्रतिक्रिया दिनुहोस्