Logo

स्वास्थ्य, पूर्वाधार विकास र सुशासन प्रवर्द्धन प्राथमिकतामा

नेपालगन्जको बजेट १ अर्ब ६७ करोड

नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शनिबार भएको १३औं नगरसभामा उपप्रमुख कमरुद्धिन राईले आर्थिक वर्ष २०८०/०८१ का लागि एक अर्ब ६७ करोड ५६ लाख एक हजार ५८७ रुपैयाँको अनुमानित बजेट नगरसभामा प्रस्तुत गरे । यो बजेट चालु आर्थिक वर्षको भन्दा चार करोडले बढी हो ।

बजेट वक्तव्य वाचन गर्दै राईले उपमहानगरपालिकाको आन्तरिक आय १८ करोड र राजस्व/अनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको बताए । कुल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाइने उपप्रमुख राईले बताए । प्रस्तुत बजेट र नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिइएको नगरप्रमुख प्रशान्त विष्टले बताए ।

सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख विष्टले गुणस्तरीय शिक्षाको विकास, विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, पाँच वर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहा नाकामा हेल्थ डेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहलगर्ने बताए ।

यस्तै होटल व्यवसायीसँंगको सहकार्यमा होटल परिसरमा सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक पहल गर्ने, वर्षात्को समयमा हुने डुबान कम गर्नका लागि नालीहरूको प्रभावकारीरूपमा सरसफाइ तथा व्यवस्थापन गर्ने, नेपालगन्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी वडा नम्बर २० स्थित सुर्खेतरोडमा प्रवेशद्वार स्थापना गर्ने, आफ्नै भवन नभएका वडा कार्यालयहरूको भवन निर्माण कार्यलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमले बागेश्वरी मन्दिरलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्न पूर्वतर्फ बागेश्वरी चिल्ड्रेन पार्क निर्माण गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँंगै वरपरका जग्गाको ल्याण्ड पुलिङमार्फत् जग्गा विकास गरी सामूहिक बस्ती विकास गर्ने कार्यका लागि आवश्यक पहल गर्ने कुरा समेटेको छ । यस्तै सेवा प्रवाहमा सहजताका लागि आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने, नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्ने, डिजिटलाइज्ड सेवा प्रदान गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा आगामी २ वर्षभित्र १५ शैयाको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गर्ने, प्लास्टिकको झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगन्ज बनाउन सडकको दायाँबायाँ विरुवा रोप्ने, रोजगारी सिर्जना गर्ने, सहकारीहरूको निरन्तर अनुगमन गरी नियमनको दायराभित्र ल्याइने, ‘हामी सुधार्छौं हाम्रो सहकारी’ भन्ने विशेष अभियानमा सम्पूर्ण सहकारीकर्मीलाई सामेल गराई सहकारीप्रतिको विद्यमान गुम्दो जनविश्वासलाई रोक्दै ‘समृद्धि सम्भव छ सहकारी’मार्फत् भन्ने वातावरण निर्माण गर्दै लैजाने, कृषिउपजमा नेपालगन्जलाई आत्मनिर्भर बनाउने, सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणालीमार्फत् उपलब्ध गराउने, सुशासन कायम गर्नका लागि हेल्प डेस्क, डिजिटल नोटिस बोर्ड, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षणलगायतका कार्यलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने उल्लेख छ ।

नगर प्रमुख विष्टले प्रस्तुत नीति तथा कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक, सामाजिक, मानवीय, पूर्वाधारलगायतको विकासका निम्ति कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गरे । प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गर्दै शनिबारको बैठक स्थगित गरिएको र थप छलफलका लागि अर्को बैठक बोलाइने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्