Logo

जुम्लाको बजेट ३ अर्ब ३८ करोड

जुम्लाका आठै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३ अर्ब ३८ करोड ९९ लाख १९ हजार बराबरको बजेट ल्याएका छन् । असार १० गते अनिवार्य नीति कार्यक्रम तथा बजेट ल्याउनु पर्ने प्रावधान अनुसार जुम्लाका एक नगरपालिका सहित आठ वटै स्थानीय तहले नीति कार्यक्रमसहित बजेट ल्याएका हुन् ।

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै जुम्लाका स्थानीय तहले नीति कार्यक्रम र बजेट ल्याएका छन् । उत्पादनका आधारमा अनुदान दिने, वितरणमुखी योजनालाई अन्त्य गर्ने, संघीताको अनुभति हुनेगरी आधारभुत पूर्वाधारको विकास गर्ने लक्ष्य सहित बजेट ल्याइएको छ ।

कुन पालिकाको कति बजेट ?

जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकाले जिल्लाकै सबैभन्दा ठूलो बजेट ल्याएको छ । संघ प्रदेशबाट प्राप्त हुने विभिन्न चार वटा राजस्वका शिर्षक अन्तरर्गत रहेर चन्दननाथ नगरपालिकाले ५५ करोड १० लाख ८० हजार बराबरको बजेट ल्याएको हो । चन्दननाथलाई सफा सहरका रुपमा विकास गर्ने लक्ष्यसहित बजेटमा रोजगारी सृजना र उत्पादन वृद्धिलाई जोड दिइको छ ।

त्यस्तै जुम्लाको तातोपानी गाउँपालिकाले बजेटको रोजगार, उत्पादन वृद्धि र पर्यटनलाई प्रथामिकता दिँदै कुल ४० करोड २५ लाख ८२ हजार बराबरको बजेट ल्याएको उपाध्यक्ष रेवती रावलले बताइन् । उनका अनुसार आवश्यकता र औचित्यका आधारमा योजनालाई पालिकाका ८ वटै वडामा बजेट बाँडफाँड भएको छ । उद्यमी, यूवा व्यवसायीलाई निरब्याजी ऋण दिने, सहुलियत कर्जा उपलब्ध गराउने, संचार नीति बनाउने, जेष्ठ नागरिकको निःशुल्क उपचार गर्ने जस्ता नीति कार्यक्रम ल्याएको अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

उनका अनुसार बजेट कार्यान्वयनमा शुन्य सहनशीलता अपनाइने छ । तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थबहादुर कठायतले बजेट कार्यान्वयनको गतिलाई आगामी आवमा झनै बढाउने लक्ष्य राखिएको बताए । त्यस्तै, तिला गाउँपालिकाले आगामी आवका लागि ४४ करोड ९२ लाख ८४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष गोरीकला बुढाका अनुसार कृषिको व्यवसायीकरण, आफ्नै रेडियो संचालन गर्ने, जेहेन्दारलाई छात्रबृत्ति दिने लगायतका नीति ल्याइएको छ ।

उता हिमा गाउँपालिकाले एक वडा, एक उत्पादन पकेट क्षेत्र निर्धारण, एकल पुरुषलाई भत्ता जस्ता नीतिलाई प्रथामिकता दिदैँ १४ औं गाउँसभाबाट ३९ करोड ९७ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । अध्यक्ष लक्ष्मणबहादुर शाहिले संघीयताको महशुस गराउने गरी हिमाले जनताको काम गर्ने बताए । उनले भने,“सिमित स्रोत साधनका बीच नागरिकका असिमित आबश्यकता पुरा गर्नु पर्ने छ । तथापी नागरिकका माग र आवश्यकता विषयालाई नीति र बजेटमा प्रथामिकता दिइएको छ ।”

साथै सिञ्जा गाउँपालिकाले खषभाषा र सभ्यता कृषि पर्यटन क्षेत्रलाई जोड दिँदै ३७ करोड ३९ लाख २० हजार बराबरको बजेट ल्याएको उपाध्यक्ष सित्तली रोकायाले बताइन् । उनका अनुसार बजेटले किसान, उद्यमी वर्ग विशेष सम्बोधन गरेको छ । त्यस्तै, कनकासुन्दरी गाउँपालिकाले ४८ करोड २९ लाख ४३ हजार ८ सय रुपैयाँ बराबरको बजेट ल्याएको प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर शाहीले बताए । पातारासी गाउँपालिकाले कृषि, पर्यटनलाई प्रथामिकता दिएर ४० करोड ४५ लाख ३७ हजारको बजेट सभामा प्रस्तुत गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

उता गुठिचौर गाउँपालिकाले भने जिल्लाकै न्युन बजेट प्रस्तुत गरेको छ । प्रमुख प्रशासकिय अधिकृत गमबहादुर रोकायाकानुसार गुठिचौरले ३२ करोड ५८ लाख २५ लाख ७ सय को बजेट ल्याएको छ । आठै पालिकाको नीति तथा कार्यक्रम पारित भएपनि बजेट माथि छलफल भोलीदेखि प्रारम्भ हुने छ । विगतको तुलनामा स्थानीय तहले वितरणमुखी भन्दा आम नागरिकका आवश्यकताका आधारमा बजेट विनियोजन गरेको पाइएको छ । केही स्थानीय तहको महोत्वाकाँक्षी नीति तथा कार्यक्रमनुसार बजेट आएको छ ।

प्रतिक्रिया दिनुहोस्