धमाधम बन्द हुँदै निर्यातजन्य उद्योग «

धमाधम बन्द हुँदै निर्यातजन्य उद्योग

देशकै ठूलो क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रमा निर्यातजन्य उद्योगको संख्या बर्सेनि घट्दै गएको छ । दशकअघि आफ्ना उत्पादन भारत तथा तेस्रो मुलुक निकासी गर्ने आधा दर्जन उद्योग अहिले बन्द भइसकेका छन् ।
बर्सेनि करोडौंको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलिभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङजस्ता उद्योग बन्द भइसकेका छन् । यस्तै, एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एन्ड टानिङजस्ता उद्योग पनि केही वर्ष अघिदेखि अस्तित्वमा छैनन् ।
नेपालबाट लाखौंको साबुन भारत निकासी गर्ने महाशक्ति सोप लामो समय बन्द भई करिब ६ महिना अघिदेखि पुनः उत्पादन थाले पनि भारत तथा तेस्रो मुलुकमा निर्यात भने गर्न सकेको छैन । यस्तै, युनिलिभर नेपाल, एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुटजस्ता वहुर्राष्ट्रिय उद्योगले पनि पाँच वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केही वर्ष अघिदेखि भारत निकासी बन्द गरेको छ ।
निर्यातजन्य उद्योगहरू बन्द हुने क्रम बढेसँगै मकवानपुरको निर्यात व्यापारमा बर्सेनि गिरावट आइरहेको छ । १० वर्षअघि आव २०६५÷६६ मा मकवानपुरबाट २८ वटा उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्नो उत्पादन निकासी गरेकोमा आव ०७५÷७६ सम्म आइपुग्दा ४ वटामा खुम्चिन पुगेको छ । आव ०६५÷६६ मा जिल्लाबाट एक अर्ब २७ करोड १५ लाख ६५ हजार रुपैयाँको औद्योगिक उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएकोमा ०७५÷७६ सम्म आइपुग्दा २८ करोड ३४ लाख ७६ हजारमा झरेको छ । १० वर्षअघिको तुलनामा अहिलेको निर्यात व्यापार ७७ प्रतिशतले घटेको देखिन्छ ।
आव २०७४÷७५ मा निर्यात झनै खस्किएको थियो । उक्त वर्ष जिल्लाबाट हुने निकासी २० करोड ७८ लाख २७ हजारमा सीमित बनेको थियो । अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले निर्यात व्यापारमा सुधार आएको देखिए पनि दशकअघिको तुलनामा निराशाजनक छ ।
दशकअघि मकवानपुरका क्रसरजन्य सामाग्री निकासीबाट पनि निर्यात व्यापारमा टेवा पुगेको थियो । सरकारले क्रसरजन्य उत्पादन भारतलगायत तेस्रो मुलुकमा निकासी गर्न बन्द गरेसँगै निर्यात व्यापारमा भारी गिरावट आएको देखिन्छ । दशकअघि मकवानपुरबाट करिब एक दर्जनभन्दा बढी उद्योगले करोडौंको क्रसरजन्य उत्पादन भारत निकासी गर्दै आएका थिए ।
मकवानपुरबाट बितेको वर्ष जम्मा ४ वटा उद्योगले मात्र भारतमा आफ्ना उत्पादन निकासी गरेका छन् । बोतलको बिर्को उत्पादन गर्दै आएको सीएसआई नेपाल प्रालिले सबैभन्दा बढी २५ करोड १५ लाख २२ हजार रुपैयाँको उत्पादन भारत निकासी गरेको छ ।
विद्युतीय ट्रान्सफरमरको उत्पादन गर्ने नेपाल ईकरात इन्जिनियरिङले ३ करोड ७ लाख ४४ हजार रुपैयाँको ट्रान्सफरमर भारत निकासी गरेको मकवानपुर उद्योग वाणिज्य संघको तथ्यांकमा उल्लेख छ । मकवानपुरमा एक वर्षअघि मात्र सञ्चालनमा आएको टेन माइक्रोन्स नेपाल प्रालिले पनि ११ लाख ७० हजारको सामाग्री निकासी गरेको छ भने एमएम पोलिमर्सले ३८ हजार रुपैयाँको सामान मात्र भारत पठाएको देखिन्छ ।
आव २०७३÷७४ मा झण्डै ३१ करोडको पोलिथिन र फाइबरका भाँडा बनाउने केमिकल उत्पादन गरी निकासी गरेको प्रोजियोकेम प्रालिले गत वर्ष भने कुनै उत्पादन भारत पठाएन । लौठसल्ला प्रशोधन गरी टेक्सास बोकाटालगायत औषधिजन्य वस्तु निर्यात गर्दै आएको बालाजी नेचुरल इन्डष्ट्रिजको निर्यात पनि गत आर्थिक वर्षमा शून्य रह्यो । आव ०७३÷७४ मा बालाजीले ७७ लाख रुपैयाँको निकासी गरेको थियो ।
भारतीय ठूला उद्योगहरूसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण भारतमा नेपालको औद्योगिक उत्पादनको निकासी घटेको उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्यालको भनाइ छ । कच्चा पदार्थ आयात गर्दा र उत्पादित सामान निकासी गर्दा लाग्ने करमा सरकारले बिचार नपु¥याउँदा त्यसको असर निर्यात व्यापारमा परेको उनको तर्क छ । ‘नेपाली उत्पादन भारत पठाउँदा सरकारले कर छुट दिने नीति ल्याउनुपर्छ, कच्चा पदार्थ निकासीमा पनि करको दर घटाउनुपर्छ तब मात्र निर्यात व्यापार फस्टाउन सक्छ । सरकारले निर्यातजन्य उद्योगहरूलाई प्रोत्साहन गर्न नसकेकै कारण धमाधम बन्द भएका हुन् ।’ अर्यालले भने ।
मकवानपुरका उद्योगबाट उत्पादित वस्तुहरू थोरै मात्रामा भारतमा मात्र निर्यात हुने गरेको छ । तेस्रो मुलुकमा हुने निर्यात ठप्प छ । सरकारले नीति राम्रो बनाउन नसक्दा मकवानपुरको मात्र हैन देशकै निर्यात व्यापारमा ह्रास आएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको भनाइ छ । उद्योगहरू वस्तु उत्पादन भन्दा पनि ट्रेडिङ व्यवसायतिर आकर्षित भएको बताउँदै उनले हेटौंडा औद्योगिक क्षेत्रको समग्र उत्पादन घट्दो क्रममा रहेको सुनाए । अन्य देशबाट सामान ल्याई मार्केटिङ गर्ने उद्योगलाई प्रोत्साहित गरिएकाले अहिलेको अवस्था आएको उनको भनाइ छ ।
हेटौंडामा नयाँ औद्योगिक क्षेत्र निर्माणको क्रममा रहेकाले निर्यातजन्य उद्योगहरू पनि स्थापना हुने अपेक्षा गरिएको छ । प्रदेश ३ को स्थायी राजधानी पनि हेटौंडा नै कायम हुने निश्चित भएको भन्दै त्यसले औद्योगिक विकासमा पनि टेवा पुग्ने उद्योग संघका अध्यक्ष नवराज अर्यालले विश्वास व्यक्त गरे । हेटौंडा औद्योगिक क्षेत्रमा अहिले करिब सयवटा उद्योग सञ्चालनमा छन् भने ४ हजार जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्