बेलहियाबाट सवा १२ अर्बका मोटरसाइकल आयात «

बेलहियाबाट सवा १२ अर्बका मोटरसाइकल आयात

रुपन्देही-बेलहिया नाका हुँदै आर्थिक वर्ष २०७५।७६ मा दुईपांग्रे सवारी साधनको आयात बढेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार सो आर्थिक वर्षमा अन्य यातायातका साधन कम आयात भए पनि मोटरसाइकल स्कुटर अधिक आयात भएका छन् ।
कार्यालयका अनुसार १ लाख ४५ हजार ८ सय ७९ वटा मोटरसाइकल आयात भएको कार्यालयका अधिकृत एवं सूचना अधिकारी कलिराम पौडेलले बताए ।
कार्यालयका अनुसार सो अबधिमा १२ अर्ब २९ करोड मूल्य बराबरको दुईपांग्रे सवारी साधन आयात भएको हो । आर्थिक वर्ष २०७५ ।७६ मा भन्सार राजस्वमा सबैभन्दा बढी राजस्व दिने पनि दुईपांग्रे मोटरसाइकल र स्कुटर हुन् ।
अघिल्लो वर्ष ८ अर्ब ४९ करोड मूल्य बराबरको मोटरसाइकल आयात भएको थियो । मोटरसाइकल आयात ४४ प्रतिशतले बढेको भन्सार कार्यालयले जनाएको छ ।
पछिल्लो समय होन्डा, हिरो, टीभीएस, बजाजलगायतका कम्पनीको दुईपांग्रे सवारी साधनहरू भण्डारणसमेत यसै क्षेत्रमा हुने गरेकाले आयात बढेको हो ।
२०७२ सालको तराई मधेस आन्दोलन र नाकाबन्दी पछि वीरगन्ज नाका हँदै आयात हुने साना सवारी साधन र दुईपांग्रे साधन आयातमा त्यताबाट समस्या देखिएपछि आयातकर्ताले बेलहिया नाका हुँदै ल्याउन थालेका थिए । त्यसमध्ये अझै पनि धेरै सवारी साधन बेलहिया नाका हँुदै आउने गरेका छन् । मोटरसाइकलको आयात बढे पनि कार, जिप, भ्यान, बस ट्रकको आयात भने केही घटेको सूचना अधिकारी पौडेलले बताए ।
यो नाका हुँदै मोटरसाइकल आयात बढदै गएको नेपालमा हिरो मोटरसाइकलको जीएसूए एवं भैरहवाका प्रतिनिधि नागार्जुन टे«ड्र्सका निर्देशक कृष्णपुकार मुनकर्मीले बताए ।
पछिल्लो समयमा युवा पुस्ताहरू मोटरसाइकल, स्कुटरतर्फ आकर्षित हुँदै गएका छन् जसले गर्दा पनि दुईपांग्रे सवारीको बिक्री र आयात बढेको हो ।
त्यसैगरी यो नाकाबाट गत आर्थिक वर्षमा ७ हजार २ सय ८१ वटा कार जिप भ्यान आयात भएका थिए । आयात भएका कार जिप भ्यानको मूल्य १० अर्ब ३५ करोड रुपैयाँ बराबरका थिए । अघिल्लो वर्ष १० अर्ब ३५ करोड मूल्यका ७ हजार ७ सय १ वटा कार भ्यान आयात भएका थिए । कार भ्यान आयात भने ४.४७ प्रतिशतले घटेको छ ।
त्यसैगरी पिकअप भ्यान ट्रक मिनीबस, बस आयातसमेत केही मात्रामा घटेको छ । अघिल्लो वर्ष १२ सय ९० वटा पिकअप भ्यान आयात भएकोमा गत वर्ष ९ सय ४२ वटा आयात भएको थियो । पिकअप भ्यान आयात २२ प्रतिशतले घटेको छ । त्यसैगरी ट्रक, मिनी ट्रक र बस आयात पनि १३.३८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २८ सय ६८ वटा ट्रक, मिनी ट्रक आयात भएकोमा गत वर्ष २७ सय २९ वटा आयात भएको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्