आयात १४८० अर्ब, निर्यात १४३ र १३ खर्ब ३७ अर्ब व्यापार घाटा
जेठसम्म १६ खर्ब २४ अर्बको कुल वैदेशिक व्यापार

चालू आर्थिक वर्षको ११ औं महिना (जेठ) सम्म मुलुकले वैदेशिक व्यापारमा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । आयात व्यापारसँगै कूल वैदेशिक व्यापारमा कमी आएपनि निर्यातमा उच्च गिरावटका कारण व्यापार घाटा अझै फराकिलो बनेको छ । अघिल्लो वर्षको जेठको तुलनामा आयात १६.०१ प्रतिशतले घटेपनि निर्यात २२.७४ प्रतिशतले ओरालो लागेको अवस्था छ ।
भन्सार विभागका अनुसार जेठ मसान्तसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको आयात भएकोमा यस अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । मुलुकमा जारी आर्थिक मन्दीका कारण वर्षको सुरुवातदेखि नै वैदेशिक व्यापारमा गिरावट आउने क्रम जारी छ । जसअनुसार ११ महिना अवधिमा कूल वैदेशिक व्यापारमा १५.६५ प्रतिशतले गिरावट आउँदै १६ खर्ब २४ अर्ब ५६ करोडमा सीमित भएको छ । अघिल्लो वर्ष जेठसम्म १९ खर्ब ४९ अर्ब ६ करोडको वैदेशिक व्यापार भएको थियो ।
आयात र निर्यातबीचको सन्तुलन अघिल्लो वर्ष केही सुधार आएपनि चालू वर्षमा भने फेरि पुरानै अवस्थामा फर्र्किएको छ । कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो जेठसम्म ९.५३ प्रतिशत रहे पनि चालू वर्षमा भने ८.८४ प्रतिशतमा सीमित भएको छ । यस्तै, आयातको हिस्सा गत आवमा ९०.४७ प्रतिशत रहेकोमा यस वर्षको ११ महिनामा ९१.१६ प्रतिशत पुगेको छ । विभागको तथ्यांकअनुसार जेठमा एक खर्ब ४५ अर्ब ६५ करोड रुपैयाँको वस्तु आायात भएको छ भने निर्यात १२ अर्ब ६८ करोडमा सीमित छ ।
यसअघि वैशाखमा एक खर्ब ३३ अर्ब रुपैयाँको आयात भएको थियो भने १२ अर्ब ६२ करोडको निर्यात भएको थियो । सरकारले गत जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेट र आर्थिक ऐनका कतिपय प्रवन्धका कारण निर्यात व्यापार झनै धरासायी हुने व्यवसायीहरु बताउँछन् । नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष तेञ्जिङ शेर्पा नयाँ आर्थिक ऐनमा निकासीजन्य उद्योगको सुविधा खोसिएका कारण आउँदा दिनमा यसले नकारात्मक प्रभाव पार्ने बताउँछन् ।
सरकारले गलैँचा उद्योगलाई यसअघि मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुनु नपर्ने तथा आयकरमा समेत छुट दिँदै आएपनि यस वर्षदेखि हटाएको छ । उच्च मूल्य अभिवृद्धि र स्वदेशी जनशक्ति प्रयोग हुने भएकाले पहिलेदेखि नै यो क्षेत्रले राज्यको संरक्षण प्राप्त गर्दै आएको भए हाल यसलाई हटाइएको भन्दै निर्यात व्यवसायीले विरोध गर्दै आएका छन् ।
“आर्थिक ऐनको यी व्यवस्थाले लागत र प्रक्रियाको दृष्टिकोणबाट व्यवसायीलाई असर पुग्ने देखिन्छ,” उनी भन्छन्, “भ्याटमा दर्ता नभएका घरेलु तथा साना उद्योगहरु त यही कारण बन्द हुनुपर्ने अवस्थामा पुगेका छन् ।” यी उत्पादनहरुमा भ्याट लाग्दा बिलबिजकको झन्झट हुने भएकोले उनीहरु पलायन हुनसक्ने अवस्था रहेको अध्यक्ष शेर्पा बताउँछन् ।
भारतसँग एकै महिना साढे ८५ अर्बको व्यापार घाटा
नेपालको मुख्य व्यापारिक साझेदार भारतसँगको व्यापारमा नेपालले गत महिनामात्र ८५ अर्ब ४७ करोड २८ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार यससँगै जेठसम्म भारतसँगको व्यापार घाटा ८ खर्ब ३८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने वैशाखमा ७ खर्ब ५३ अर्ब ३८ करोड व्यापार घाटा थियो ।
दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँग जेठसम्मको २ खर्ब ८४ करोड व्यापार घाटा रहेको छ भने अमेरिकासँग भने ५७ करोड ८४ लाख रुपैयाँमात्र व्यापार घाटा रहेको छ । यस्तै, फ्रान्ससँग ६ अर्ब १२ करोड, इन्डोनेसियासँग ३ अर्ब ९७ करोड रुपैयाँ तथा जर्मनीसँग २ अर्ब ३२ करोड रुपैयाँ बराबर व्यापार घाटा रहेको छ ।