ऋणी बनाउँदैछ वैदेशिक रोजगारले «

ऋणी बनाउँदैछ वैदेशिक रोजगारले

धनगढी – कैलाली बर्दगोरिया गाउँपालिका–३, खैरेनीका मानबहादुर विक रोजगारीका लागि मलेसिया जाँदा आफन्तबाट ३६ प्रतिशत व्याजमा दुई लाख रुपैयाँ ऋण लिए । गएको केही महिनामै उनी सडक दुर्घटनामा परी घर फर्किए । यसले गर्दा दुई छोरालाई राम्रो शिक्षा दिने र घामपानी छेक्ने सानो घर बनाउने उनको सपना मात्रै तुहिएन । उनलाई दुई लाख रुपैयाँको ऋण पनि थपियो । घर फर्किएर उपचारपछि मानबहादुर ऋण तिर्ने रकमको जोहो गर्नका लागि मजदुरी गर्न भारत पसेको उनकी श्रीमती संगीता विकले बताइन् ।
२०७१ पुष महिनामा बर्दगोरिया–३, जरैठाँडाका चक्रबहादुर कामीले मलेसिया जान साथीहरूबाट ३६ प्रतिशत व्याजमा तीन लाख रुपैयाँ लिएर एजेण्टलाई बुझाए । मलेसियामा उनले चार महिनासम्म राम्रैसंग काम गरे । “नेपालमा २०७२ वैशाख १२ गते भूकम्प गएको बेलादेखि विरामी परे,” उनले भने, “पेट दुख्ने विरामीले गर्दा गएको नौ महिनामा घर फर्कें । अहिलेसम्म दुई लाख ४१ हजार रुपैयाँ तिर्न बाँकी छ ।”
बर्दगोरिया–३, रानीकुण्डाका सुरज टमट्टाले पनि आफन्तबाट ४८ प्रतिशत व्याजमा दुई लाख ५० हजार रुपैयाँ ऋण लिएर वैदेशिक रोजगारमा गए । उनले एजेण्टले भने जस्तै विदेशमा काम पाएनन् । काम गर्न नसकेर फर्किए । विदेश जाँदाको ऋण तिर्न नसकेपछि अहिले उनी नोकरी गर्न भारतमा छन् ।
बर्दगोरिया–२, कुम्भियाका दिपक शाही रोजगारीका लागि कुवेत जाँदा आफन्तबाट एक लाख पचास हजार रुपैयाँ सापटी लिए । पुगेको ६ महिना नपुग्दै कम्पनी बन्द भएपछि उनी घर फर्किए । उनले बिना व्याजमा सापटी दिने आफन्तलाई रकम फिर्ता गर्न सकेनन् ।
कुम्भियाकै पशुपति कुँवरले श्रीमान्लाई विदेश पठाउँदा आफन्तबाट एक लाख साठी हजार रुपैयाँ ऋण लिइन् । उनका श्रीमान्ले विदेश पुगेपछि न पैसा पठाए न त सम्पर्क नै गरे । फर्किएपछि उनले श्रीमान् दोस्रो विवाह गरेको खबर पाइन् । उनले ऋणको व्याज समेत तिर्न सकेकी छैनन् ।
कुम्भियाकै प्रेम विकले छोरालाई साउदी अरव पठाउँदा छिमेकीबाट ६० प्रतिशत व्याजमा दुई लाख रुपैयाँ लिएर एजेण्टलाई बुझाए । तर उनका छोराले साउदीअरबमा एजेण्टले भने जस्तो राम्रो काम र तलब पाउँदैनन् । उनले अझै एक लाख रुपैयाँ साँवा फिर्ता गर्न बाँकी रहेको बताए ।
बर्दगोरिया–३, खल्लाबुटकौवाका दानबहादुर विक वैदेशिक रोजगारमा जाँदा एजेन्टलाई बुझाउन दुई लाख रुपैयाँ ३६ प्रतिशत व्याजमा ऋण लिए । तर कम्पनी बन्द भएपछि उनी केही महिनामै फर्किए । साथीलाई उनले ऋण फर्काउन सकेका छैनन् । बुटकौवाकै तेजबहादुर मगरले बचत समूहबाट १८ प्रतिशत व्याजमा एक लाख ७० हजार रुपैयाँ ऋण लिएर वैदेशिक रोजगारमा गए । तर विदेशमा स्वास्थ्य परीक्षण गर्दा छातिमा दाग देखियो । उनी फर्काइए । कमाउन नपाउँदै घरफिर्ति हुनु परेपछि उनले पनि ऋण तिर्न सकेनन् ।
बर्दगोरिया–३, रानीकुण्डाका कृष्ण बुढाले पनि कुवेत जाँदा एजेण्टलाई बुझाउन बचत समूहबाट १८ प्रतिशत व्याजमा एक लाख ५० हजार ऋण लिए । काम गर्दा गर्दै विरामी परेपछि उनले एक वर्षमा फर्किनु प¥यो । तलब निकै कम भएकाले उनले पनि ऋण तिर्न सकेनन् ।
यि पात्रहरू जस्तै बर्दगोरिया गाउँपालिका वडा नं. १, २ र ३ का ८६ जनाले वैदेशिक रोजगारबाट फर्केपनि ऋण फिर्ता गर्न सकेका छैनन् । बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोगमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, सञ्जाल समिति बर्दगोरियाले २०७६ वैशाख र जेठमा ति वडाहरूमा गरेको अध्ययन अनुसार ऋण लिएर वैदेशिक रोजगारमा गएका एक सय ७६ जनाले मात्रै ऋण फिर्ता गर्न सफल भएका छन् भने जम्मा ऋण लिएर वैदेशिक रोजगारमा जाने मध्ये १९ जनाले ऋण तिरे नतिरेको बारेमा खुलाएका छैनन् ।
अध्ययनले वैदेशिक रोजगारमा जाँदा ऋण लिने स्रोतको रुपमा आफन्त र साथीलाई अधिकांशले रोजेको देखाएको छ । वैदेशिक रोजगारमा जाँदा दुई सय १५ जनाले आफन्त र साथीबाट ऋण लिएका छन् । १७ जनाले बचत समूह, ३० जनाले सहकारी संस्था, आठ जनाले बैंक र ११ जनाले अन्य स्रोतबाट ऋण लिएर वैदेशिक रोजगारमा गएका छन् ।
अध्ययन अनुसार ती वडाबाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले १८ प्रतिशतदेखि ६० प्रतिशतसम्म व्याजमा ऋण लिएका छन् । आफन्त र साथी वा छिमेकीबाट ऋण लिनेहरू सबै भन्दा चर्को व्याजको मारमा परेका छन् । चर्को व्याज लिने आफन्त र साथी वा छिमेकीहरूले वैदेशिक रोजगारमा जानेहरूलाई ३६ देखि ६० प्रतिशतमा ऋण दिएको अध्ययनले देखाउँछ । बचत समूह, सहकारी संस्था र बैंकबाट ऋण लिनेहरूले १८ देखि ३६ प्रतिशतमा वैदेशिक रोजगार ऋण पाएका छन् ।
बर्दगोरियाको वडा नं. १, २ र ३ बाट २५ जना महिला र चार १८ जना पुरुष गरी चार ४३ जना वैदेशिक रोजगारका लागि खाडी र मलेसिया गएका छन् भने १४ जना महिला र दुई सय नौ जना पुरुष गरी दुई २२ जना वैदेशिक रोजगारबाट फर्केका छन् । तिमध्ये चार जना महिला र ७१ जना पुरुष वैदेशिक रोजगारबाट फर्केर रोजगारीका लागि शहर र भारतमा बस्छन् । फर्किने मध्ये ९५ जनाले कम्पनी बन्द, दुर्घटना, विरामी लगायतका कारण र एक सय २७ जना श्रम अवधी पूरा भएर फर्केका छन् । समस्या परेर फर्किने मध्ये अधिकांशले ऋण तिर्न नसकेको अध्ययनमा संलग्न लक्ष्मीप्रसाद सापकोटाले बताए । उनले चर्को ब्याजका कारण श्रम अवधि पूरा गरेर फर्किने केही जना समेतले पनि ऋण तिर्न नसकेको बताए ।
अध्ययन अनुसार ती वडाका ३८ जना पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा छन् भने २६ जनाले आफ्नै ठाउँमा केही काम गर्ने सोचमा छन् । २७ जनाले आफ्नै ठाउँमा व्यवसाय गरिसकेका छन् । एक सय ३१ जनाले केही पनि नगरी बस्नुका साथै रोजगारीका लागि भारत र नेपालका विभिन्न शहरमा छन् ।
वैदेशिक रोजगारमा रहँदा ३१ जनाले विभिन्न सीप सिकेर फर्किएका छन् भने एक सय ६६ जनाले केही पनि नसिकेर फर्किएका छन् भने २५ जनाले यसबारे खुलाएका छैनन् । विदेशमा रहेका मध्ये खाडीमा ६४, मलेसियामा १७.७८ र अन्य मुलुकमा १८.२२ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
वैदेशिक रोजगारमा गएका मध्ये सीप सिकेर १.४.२२ र सीप नसिकेर ५०.६७ प्रतिशतले गएको र ३५.११ प्रतिशतका परिवारले सीप सिकेको वा नसिकेको बारेमा थाहा नभएको बताएका छन् । वैदेशिक रोजगारमा जाने मध्ये एजेण्ट मार्फत ३६.८९, म्यानपावर कम्पनीबाट ३७.७८, आफन्त मार्फत् २.२२ र कन्सलटेन्सीबाट ५.३३ प्रतिशत गएका छन् भने १६.४४ प्रतिशतका परिवारलाई वैदेशिक रोजगारमा कसले पठायो भन्ने थाहा नै पाएका छैनन् । ति मध्ये ८०.८९ प्रतिशतले वर्किङ भिसा, १.७८ प्रतिशत भिजिट भिसा, १०.२२ प्रतिशत स्टुडेन्ट र ०.४४ प्रतिशत आजाद भिसा प्रयोग गरी वैदेशिक रोजगारमा छन् भने ६.६७ प्रतिशतका परिवारलाई भिसा प्रयोग बारे थाहा छैन ।
अध्ययनले ती वडाहरूबाट वैदेशिक रोजगारमा जाने मध्ये फ्रि भिसा फ्रि टिकटमा कोही पनि नगएको जनाएको छ । ६५.७८ प्रतिशतले एक लाख ५० हजार भन्दा बढि रकम तिरेर वैदेशिक रोजगारमा गएका छन् भने एक लाखमाथि २३.५६, ५० हजारमाथि ९.३३ र २० हजारमाथि १.३३ प्रतिशतले म्यानपावर र एजेण्टलाई रकम बुझाएका छन् । म्यानपावर र एजेण्टलाई रकम बुझाउँदा ८९.७८ प्रतिशतले नगदै बुझाएका छन् भने बैंकबाट ३.११ले, आइएमईबाट ४.४४ र अन्य माध्यमबाट ६ प्रतिशतले रकम बुझाएका छन् । ३१.११ प्रतिशतले म्यानपावर कम्पनी, ६१.३३ प्रतिशतले एजेण्ट, ३.५६ प्रतिशतले आफन्त र ४ प्रतिशतले अन्य व्यक्तिलाई रकम बुझाएर वैदेशिक रोजगारमा गएको जनाएका छन् ।
अध्ययनकर्तालाई ९५.५६ प्रतिशतले रकम बुझाएको कुनै पनि प्रमाण नरहेको जनाएका छन् भने १.३३ प्रतिशतले बुझाएको रकम भन्दा कमको रसिद र ३.११ प्रतिशतले बुझाएको रकम बराबरको रसिद पाएको जनाए छन् । वैदेशिक रोजगारमा रहेका मध्ये दुई सय ८१ जनाले ऋण लिएर, ३९ जनाले आफ्नै स्रोत प्रयोग गरेर र २२ जनाले सम्पत्ति बचेर वैदेशिक गएको जनाएका छन् भने बाँकीले स्रोत खुलाएका छैनन् ।
वैदेशिक रोजगारमा रहेका व्यक्तिका १५ प्रतिशत व्यक्ति परिवारले सामाजिक लागत बेहोर्नुपरेको छ । एक जनाले सामाजित लान्छना, १९ जनाले मानसिक तनाव तथा बेहोश हुने, तीन जनाले दोस्रो विवाह, एक जनाले घरेलु हिंसा, सात जनाले पारिवारिक बेमेल तथा झगडा हुने समस्यमा परेका छन् भने तीन जनाको परिवारमा आमाबुवा मात्रै घरमा छन् । ति वडामा वैदेशिक रोजगारमा गएका ६ जना युवाको दुर्घटनामा परेका छन् भने उनीहरूले क्षतिपूर्ति स्वरुप पाँच लाख रुपैयाँ मात्रै पाएका छन् ।
बर्दगोरिया गाउँपालिकाको वडा नं. १, २ र ३ मा वार्षिक सरदर पाँच करोड ५४ लाख आठ हजार रुपैयाँ विप्रेषण भित्रिने गरेको छ । त्यस मध्ये सबै भन्दा धेरै करिब एक करोड २२ लाख ५३ हजार रुपैयाँ घरायसी खर्च हुन्छ र करिब एक करोड १४ लाख ४० हजार रुपैयाँ ऋण तिर्न प्रयोग हुन्छ । करिब एक करोड ४५ लाख १४ हजार दुई सय रुपैयाँ बचत पनि हुने गरेको छ । एक वर्षको अवधिमा शिक्षामा ७१ लाख ६८ हजार आठ सय, स्वास्थ्य उपचारमा ६५ लाख ८७ हजार, व्यवसायमा लगानी १७ लाख ७० करोड र ऋण लगानी १५ लाख २० हजार रुपैयाँको हाराहारीमा विप्रेषण खर्च भएको अध्ययनले देखाएको छ ।
अध्ययनले बर्दगोरिया गाउँपालिकाको बाँकी वडाहरू ४, ५ र ६ मा पनि यसै गरी तथ्यांक संकलन गरी वडाको प्रोफाइलमा वैदेशिक रोजगार सम्बन्धी तथ्यांक समावेश गर्न सुझाव दिएको छ । साथै गाउँपालिकामा वैदेशिक रोजगारमा जाने युवाहरूलाई सीप सिक्न उत्प्रेरित गर्नुपर्ने, वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको सदुपयोगका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुपर्ने र वैदेशिक रोजगारबाट पीडित व्यक्ति र परिवारहरूलाई स्थानीयस्तरमा न्याय दिलाउन गाउँपालिकाले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएको छ ।

मुकेश चौधरी

प्रतिक्रिया दिनुहोस्