१६ करोडको लगानीमा होटल ताज सञ्चालनमा «

१६ करोडको लगानीमा होटल ताज सञ्चालनमा

पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै १६ करोड रुपैयाँको लगानीमा होटल ताज सञ्चालनमा आएको छ । जिल्लामै पहिलो पटक लिफ्ट प्रविधिसहितको अत्याधुनिक होटल युवा व्यवसायी माधव जिसीले सञ्चालनमा ल्याएका हुन् ।
तानसेनको टुँडिखेल छेउमै पाल्पामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि होटल ताज सञ्चालनमा ल्याएको सञ्चालक मुक्तिराम जिसीले बताए । उनले जिल्लामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई २४ सै घण्टा सेवा प्रदान गर्ने उद्देश्यका साथ होटल सञ्चालनमा ल्याएको जानकारी दिए ।
पाल्पाका विभिन्न पर्यटकीय स्थलको अवलोकनका लागि आएका पर्यटकले सुविधा सम्पन्न होटल नभएको गुनासो गरेपछि स्तरीय र आधुनिक प्रविधिसहितको होटलमा लगानी गरेको उनले बताए । पोखरा, लुम्बिनीबाट आएका पर्यटकले स्तरीय होटलको अभाव महसुस गरेपछि आवश्यकता ठानेर १६ करोड रुपैयाँ होटलमा लगानी गरेको जिसीको भनाइ छ ।
होटलले ५० जनालाई रोजगारीको अवसरसमेत दिएको छ भने सुविधासम्पन्न १५ कोठासहितको होटलमा डिलक्स कोठाहरू, हनिमुन स्वीटको सुविधा, पाल्पालाई चिनाउने रानीहल, एसियाकै सबैभन्दा ठूलो ढोकासहितका बेड राखिएको छ ।
होटलको साइन रेसुङ्गा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले उद्घाटन गरे । उनले जिल्लाको आर्थिक विकासमा होटलले महत्वपूर्ण भूमिका खेल्ने विस्वास व्यक्त गरे । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले होटल ताजले जिल्लाको पर्यटकको चाहनाअनुसारको सेवा सुविधा दिने र जिल्लामा पर्यटक आकर्षित गर्न सफल हुने बताए ।
तानसेन व्यापार व्यवसायका लागि सानो क्षेत्रमा भए पनि पर्यटकीय क्षेत्रमा राम्रो सम्भावना रहेकाले यसलाई अवसरमा परिणत गर्न ताज सञ्चालनमा आएको म्यानेजर देवेन्द्र खड्काले बताए । होटलमा पाल्पाको रानीमहलको झल्को दिने स्तरीय बेड, तातोचिसो पानीको व्यवस्था, पाल्पामा प्रचलित स्थानीय खाना, स्वदेशी तथा विदेशी खानाका परिकार उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्