लक्ष्यभन्दा ८ प्रतिशत कम राजस्व संकलन «

लक्ष्यभन्दा ८ प्रतिशत कम राजस्व संकलन

कास्की र स्याङ्जाबाट ५ अर्ब २९ करोड संकलन

पोखरा-आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०७५-७६ मा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले गत वर्ष ९१.९१ प्रतिशत राजस्व संकलन गरेको हो ।
आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०७५-७६ मा ५ अर्ब २९ करोड ६९ लाख ६५ हजार राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए । आय करमा राजस्व संकलनको लक्ष्य बढी भएको र अन्तःशुल्कको बढी राजस्व संकलन गर्ने कार्यालय दमौलीमा सरेकाले लक्ष्यअनुसार संकलन गर्न कठिन भएको उनले जनाए । त्यसैगरी सूर्य नेपाल, सूर्य ब्याण्डर, अवतीस डिस्ट्रिलरीले राजस्व दमौलीमा बुझाउने गरेका छन् । उनीहरूको यसअघि आन्तरिक राजस्व कार्यालय पोखरामा करिब ४० प्रतिशत जसो राजस्व संकलनमा योगदान दिँदै आएका थिए ।
कार्यालयबाट आर्थिक २०७५-७६ देखि कास्की र स्याङजा जिल्लालाई मात्र कार्यक्षेत्र दिएकाले विभागले पहिलो पटक गरेको प्रक्षेपणमा केही फरक पर्न गएको हुन सक्ने सूचना अधिकारी लामिछानेले जनाए । कार्य क्षेत्र १० जिल्लामा रहेको आन्तरिक राजस्व कार्यालय पोखराले गत वर्षदेखि कास्की र स्याङ्जा मात्र कार्यक्षेत्राधिकार प्राप्त गरेको हो । कार्यालयले अघिल्लो वर्ष १० जिल्ला कार्यक्षेत्र हुँदा शतप्रतिशत अर्थात ८ अर्ब ७० करोड ९४ लाख ३० हजार राजस्व संकलन गर्न सफल भएको थियो ।
गत वर्र्ष कार्यालयले आयकरतर्फ ७८.६८ प्रतिशत अर्थात २ अर्ब ४२ करोड ३ लाख १९ हजार राजस्व संकलन गरेको थियो । गत वर्ष आयकरतर्फ कार्यालयको ३ अर्ब ६ करोड ३३ लाख २५ हजार संकलनको लक्ष्य पाएको थियो । व्याज करबाट गतवर्ष ९३.९९ प्रतिशत अर्थात् २० करोड ९२ लाख ३३ हजार राजस्व संकलन भएको कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ । गतवर्ष ब्याज करमा २२ करोड २६ लाख ६ हजारको लक्ष्य निर्धारण गरिएको थियो । मूल्य अभिबृद्धि करमा कार्यालयले बढी सफलता हासिल गरेको छ । यसमा १ सय २०.७० प्रतिशत सफलता हासिल गरेको हो । १ अर्ब ३ करोड ८७ लाख ३७ हजार राजस्व संकलनको लक्ष्य पाएकोमा १ अर्ब २५ करोड ३७ लाख ९७ हजार संकलन गर्न सफल भएको सूचना अधिकारी लामिछानेले जनाए । अन्तःशुल्कतर्फ कार्यालयको लक्ष्य १ अर्ब ४३ करोड ८६ लाख ३१ हजार भएकोमा ८४.४८ प्रतिशत अर्थात १ अर्ब २१ करोड ५३ हजार २ हजार संकलन गरेको हो ।
देश संघीयतामा गएसँगै कर संकलनमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । यसअघि आन्तरिक राजस्व कार्यालयले संकलन गर्दै आएको घरवहाल कर, शिक्षा र स्वास्थ्य कर गत वर्षदेखि स्थानीय तहले संकलन गर्न थालेका छन् । यद्यपी उक्त शीर्षकमा केही राजस्व भने आन्तरिक राजस्व कार्यालय पोखराले संकलन गर्न सफल भएको छ । गत वर्ष घर वहाल करबाट कार्यालयले ९ करोड ४८ लाख ७४ हजार, शिक्षाबाट १ करोड ६५ लाख ९६ हजार र स्वास्थ्य करबाट ९ करोड ७७ लाख ४३ हजार राजस्व संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ । उक्त कर स्थानीय तहअन्तर्गत पोखरा महानगरपालिका र कास्कीका ४ वटा गाउँपालिकाले संकलन गर्न थालेका हुन् ।
यस क्षेत्रमा हालसम्म १ लाख १ सय १३ करदाता छन् । तीमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने ५३ हजार ७०, व्यावसायिक स्थायी लेखा नम्बर लिने ४७ हजार ४३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्