पर्साको अन्तरिक राजस्व पौने ८ अर्ब «

पर्साको अन्तरिक राजस्व पौने ८ अर्ब

वीरगन्ज-आन्तरिक राजस्व कार्यालय वीरगन्जले गत आर्थिक वर्षमा लिएको लक्ष्य भेट्टाउन सकेन । आन्तरिक राजस्व कार्यालय वीरगन्जले गत आर्थिक वर्ष २०७५-७६ मा ७ अर्ब ७४ करोड ४२ लाख रूपैयाँ राजस्व संकलन गरेको छ । राजस्व विभागले कार्यालयलाई ८ अर्ब ४५ करोड ७६ लाख ३१ हजार राजस्व उठाउने लक्ष्य दिएको थियो ।
गत आर्थिक वर्षमा लक्ष्यको ९२.२७ प्रतिशत राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सुनिलदत्त देवकोटले बताए । कूल राजस्व मध्ये सबैभन्दा बढी योगदान पु-याउने मदिरा उद्योग हिमालयन डिस्टिलरीले उत्पादन गर्ने ‘गोल्डेन ओके’ ब्राण्डको मदिरा चितवनमा उत्पादन गर्न अनुमति दिएको हुँदा झन्डै ६ करोड राजस्व वीरगन्जको घटेको उनले बताए । गत आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालयले आयकरमा भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
आयकरमा लक्ष्यको १०५ प्रतिशत राजस्व संकलन गरेको छ ।
कार्यालयको तथ्यांकअनुसार ब्याज करमा ८२ प्रतिशत, अन्तःशुल्कमा ८७ प्रतिशत लक्ष्य पुगेको कर अधिकृत देवकोटाले बताए । त्यस्तै घर बहाल कर ३ करोड ६८ लाख रूपैयाँ संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७४-७५ मा आन्तरिक राजस्व कार्यालय वीरगन्जले लक्ष्यभन्दा १२७ प्रतिशतले राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा आन्तरिक राजस्व कार्यालयले ६ अर्ब ८० करोड १ लाख २३ हजार राजस्व संकलन गरेको थियो । राजस्व विभागले अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ३२ करोड ९८ लाख ६६ हजारको लक्ष्य दिएको थियो । अघिल्लो आर्थिक वर्षभन्दा गतवर्ष राजस्व विभागले ५८ प्रतिशतले राजस्व लक्ष्य बढाएकाले पनि लक्ष्य पुग्न नसकेको कर अधिकृत देवकोटाको भनाइ छ ।
आन्तरिक राजस्व कार्यालय वीरगन्जको हालसम्म ५४ हजार ६ सय २४ करदाता पुगेका छन् ।
यसमध्य करदाता मात्रै २८ हजार ७ सय ४३ र रोजगारीवाला पान लिएका २५ हजार ८ सय ८१ करदाता छन् । गत आर्थिक वर्षमा ३ हजार २ सय ३६ करदाता थपिएका छन् । त्यसमध्ये १ हजार ७४ जना मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । त्यस्तै रोजगारीवाला ६ हजार ६ सय ९१ जना करदाता थपिएका छन् । अघिल्लो आर्थिक वर्षमा २ हजार ३ सय ४१ करदाता र १ हजार ८ सय ५७ रोजगारीवाला करदाता बढेका थिए । गतवर्षदेखि करदाताको संख्यामा वृद्धि हुँदै गएको छ । चालू आर्थिक वर्षको साउनदेखि सबै कर्मचारीले पानमा दर्ता हुनुपर्ने बाध्यताले गर्दा अहिले प्रत्येक दिन १ सयदेखि २ सयसम्म पान नम्बरमा दर्ता गर्न सेवाग्राही आउने गरेको उनले बताए । कर साक्षरतासँगै नागरिकमा चेतनाको स्तरमा पनि वृद्धि भएकाले करदाता संख्यामा वृद्धि भएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्