बैंक तथा वित्तीय संस्था नाफामुखी बनेको आरोप «

बैंक तथा वित्तीय संस्था नाफामुखी बनेको आरोप

नाफा कमाउन नसके अर्थतन्त्र नै असफल हुने : गभर्नर

सांसदहरूले बैंक तथा वित्तीय संस्थाहरू नाफामुखी बन्दै गएको आरोप लगाएपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बचाउ गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणसँग चर्को ब्याज लिएर नाफाखोरी बन्दै गएको आरोप लगाएका हुन् । तर, राष्ट्र बैंकका गभर्नर डा. नेपालले भने बैंक तथा वित्तीय संस्थाहरूले आर्जन गरेको नाफालाई लिएर गलत टिपणी गर्न नहुने बताए । समितिले मंगलबार राष्ट्र बैंकका गभर्नर नेपाल र अर्थ मन्त्रालय सचिव डा. राजन खनाललाई बोलाएर छलफल गरेको थियो । बैठकमा बोल्दै अधिकांश सांसदहरूले विभिन्न वहानामा बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याज जथाभावी बढाएर ज्यादती गर्ने गरेको भन्दै नियमन गर्न राष्ट्र बैंकलाई आग्रह गरेका थिए ।
जवाफमा गभर्नर डा. नेपालले बैंक तथा वित्तीय संस्थालाई नाफाखोरी भन्नु गलत भएको भन्दै खराब कर्जा वितरण गर्ने संस्थालाई राष्ट्र बैंकले नियमन गरीरहेको भन्दै नाफाखोरी भन्न नहुने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूले नाफा कमाउन नसके मुलुकको अर्थतन्त्र नै असफल हुनेसमेत बताए ।
बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई न्यून ब्याज दिने तर ऋणीलाई भने कसेर ब्याज लिने गरेका भन्दै आलोचना हुने गरेको पनि सांसदहरूले बताए । तर सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै गभर्नर डा. नेपालले पहिले तोकिएको ब्याजदरमा ऋण लिएका ऋणीको अनुमति नलिई ब्याजदर बढाउन नपाइने नियम भएकाले बढाएको पाइएमा कारबाही हुने बताए ।
अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले पनि ऋण लिइसकेपछि ब्याजदर बढाउन नपाइनेमा जोड दिए । यसका साथै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्ति गर्दा योग्य र उपयुक्त (फिट एन्ड प्रोपर) रहे नरहेको परीक्षण गर्ने पनि जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालक समितिको निर्णयबाट सिईओ नियुक्ति गर्दा कारबाही परेका व्यक्तिलाई समेत नियुक्ति दिने गरेको भन्दै राष्ट्र बैंकले योग्य र उपयुक्त (फिट एन्ड प्रोपर) परीक्षण गर्ने भएको हो । राष्ट्र बैंकका गभर्नर नेपालले सार्वजनिक लेखा समितिको बैठकलाई यसबारे जानकारी दिँदै बैंक तथा वित्तीय संस्थामा गलत व्यक्ति पनि आउने गरेकाले सञ्चालक समितिले गरेको नियुक्तिका आधारमा परीक्षण लिएर मात्रै स्वीकृत दिने तयारी राष्ट्र बैकले गरेको बताए ।
हाल सञ्चालक समितिको निर्णयबाट बैंक तथा वित्तिय संस्थाले सिईओ नियुक्ति गर्ने गरेका छन् । राष्ट्र बैंकका गभर्नर डा. नेपालले वर्तमान अवस्थाको जानकारी लिन व्यवस्थापनबाट कर्जा असूली र निक्षेप भुक्तानी सम्बन्धमा तयार गरिएको कार्ययोजना माग गरी विवरण अद्यावधिक गर्ने व्यवस्था मिलाएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्