मदन भण्डारी राजमार्ग क्षतिग्रस्त «

मदन भण्डारी राजमार्ग क्षतिग्रस्त

उदयपुर-अविरल वर्षापछिको बाढीपहिरोले मदन भण्डारी राजमार्गको उदयपुरको नेपालटार–बगपती– रिस्कु खण्डमा ६ करोडभन्दा बढीको क्षति पु-याएको छ । सो राजमार्गको उदयपुर खण्डको ४३ किलोमिटरदेखि ११२ किलोमिटरसम्मको दूरीमा लगाइएका रिटेनिंगवाल, स्ट्रक्चर, स्याब कलभर्ट बाढीले बगाउनुका साथै दर्जनौं स्थानमा पहिरो गएर निर्माणाधीन सडक पुरेका कारण यति ठूलो क्षति भएको हो ।
बाढीले १०९ किलोमिटरदेखि ११२ किलोमिटर दूरीमा पर्ने गोहिया, बगपती क्षेत्रको सडकमा बढी क्षति गरेको निर्माण कम्पनी जेडआईईसी लामा एण्ड शर्मा जोइन्ट भेन्चरका सहायक प्रोजेक्ट म्यानेजर सीताराम दाहालले बताए । “बाढी र पहिरोले ६ करोड रुपैयाँभन्दा बढीको क्षति गरेको अनुमान गरेका छौं,” उनले भने, “विशेषगरी १०९ किलोमिटरदेखि ११२ सम्मको ३ किलोमिटर सडक क्षेत्रमा लगाइएको रिटेनिंगवाल, स्ट्रक्चर, स्याब कलभर्ट बाढीले बगाएको छ ।” योसँगै दर्जनौं स्थानमा गएको पहिरोले निर्माणाधीन सडक पुर्दा क्षति बढेको उनले बताए ।
“रिस्कुस्थित क्रसरमा खोला पसेर त्यहाँ भएको मेटेरियलसमेत बगाएको छ,” साइड म्यानेजर छिरिंग शेर्पाले भने, “नेपालटारदेखि रिस्कुसम्मको स्ट्रक्चरमा दर्जनौं ठाउँमा पुनर्निर्माण गर्नुपर्ने अवस्था छ ।” नेपालटार–दनुवारबेसीस्थित वैधनाथ खोला थुनिने गरी पहिरो गएको र थुनिएको खोला एक्कासि खुल्दा थप क्षति भएको शेर्पाको भनाइ छ ।
देवधारदेखि नेपालटारसम्म गरिएको ४० किलोमिटर कालोपत्रे गरिएको क्षेत्रमा पनि क्षति पुगेको छ । दर्जनभन्दा बढी कालोपत्रे गरिएको ठाउँमा पहिरो गएको छ र सडक चर्किएको छ । चर्किएको र भत्किएको कालोपत्रे सडकको मर्मत कार्य तत्काल सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । “३÷४ दिनको लगातारको पानी र त्यसपछिको बाढीले ६ राजमार्गको विभिन्न ठाउँमा ६ करोडभन्दा बढीको क्षति पु¥याएको छ,” मदन भण्डारी सडक योजना प्रमुख ललिजन खनालले भने, “तर, निर्माणाधीन योजना भएकाले यो क्षति सरकारले व्यहोर्नु पर्दैन ।” योजना हस्तान्तरण नहुँदासम्म कुनै क्षति भए सो क्षति निर्माण कम्पनीको हुने उनले बताए ।
एक दिनमात्रै सडक निर्माणको काम ठप्प हुँदा करिब ९० लाख रुपैयाँ घाटा हुने सहायक प्रोजेक्ट म्यानेजर दाहाल बताउँछन् । “एकातिर बनेको स्ट्रक्चर भत्किएर क्षति भएको छ भने अर्कातिर लगातारको झरिका कारण काम गर्न नपाउँदा थप क्षति व्यहोर्नु परेको छ,” उनी भन्छन्, “दैनिक २० लाख रुपैयाँ त ओभरहेड खर्चमात्रै छ ।”

प्रतिक्रिया दिनुहोस्