Logo

कंक्रिटको संरचनामा कोचिएको विकास

विकास समयसापेक्षिक अवधारणा हो र निरन्तर चलिरहने प्रक्रियाअन्तर्गत पर्छ । एकादेशका र एकासमयका विकासका अभ्यास आज लागू नहुन सक्छ भने काहीँ एकादेशकै अवस्थामा फर्कनुपर्ने पनि हुन्छ । स्थानअनुसार अभावले ग्रस्त परिवारका लागि एक केजी चामल विकास हो भने कसैको लागि मंगलग्रहको पर्यटन विकास हुन सक्छ ।

करिब ३५०० इ.पू.तिर सभ्यता सुरु भयो । यसको थालनी पश्चिम एसियाबाट भएको थियो । अरू तीनवटा सभ्यता— अफ्रिका, दक्षिण एसिया र पूर्वी एसियामा विकसित भए । यी सुरुका सभ्यता नदी–उपत्यकाहरूमा बढ्दै गए, जहाँ उर्वरा माटो र सजिलो गरी कृषिका लागि चाहिने पानीको उपलब्धता थियो । यी उपत्यकाहरू (१) मध्यपूर्वको मेसोपोटामिया, टिगरिस युफ्रेटस उपत्यका, (२) इजिप्टको नाइल नदी उपत्यका, (३) पाकिस्तानको सिन्धु नदी उपत्यका, मोहन्दोजाडो, हरप्पा र (४) चीनको ह्वाङ हो, यांग्सी, सी कियाङ उपत्यका थिए । सभ्यता यस कारण पनि विकासको महत्वपूर्ण पाटो हो । यसकै बाटो पक्रिँदै हामी विभिन्न मोडलमा प्रवेश गरेर यो अवस्थामा आइपुगेका छौँ र भौतिक सुखसँग विकासलाई साटासाट गरिरहेका छौँ ।

उत्पादनमा सरकारले आँट र सहयोग नगर्नाले उत्पादनमुखी गतिविधि ठप्प प्रायः बन्दै गएका छन्, बदलामा देखासिकीको व्यापारले जग हाल्न पुगेको छ । विकास, समृद्धि, सुशासन, सामाजिक मर्यादा त निभेको जस्तै देखिन्छ । जनप्रतिनिधिहरूमा विकास गर्नेभन्दा पनि जनतालाई करको बोझ थोपरेर कर्मचारीसँगको मिलेमतोमा बजेट सिध्याउने र जसरी भए पनि पैसा कमाउने कामबाहेक अरू देखिएको छैन । जनताको माग र स्थानीय सरकारको ग्रामीण विकासको कार्ययोजनामा पटक्कै तालमेल मिलेको देखिन्न ।

लाग्छ, ठिङ्ग ठडिएका भ्यूटावरले गरिबीलाई गिज्याइरहेका छन्, गरिब बढाइरहेका छन् । सामाजिक, आर्थिक र सांस्कृतिक समस्या प्रमुख बन्दै छन् । असमानता बढाएको छ । तर, हाम्रो कार्ययोजनाचाहिँ अनुत्पादक विलासी भौतिक वस्तुमै केन्द्रित छ । यो पाराले सहरको विकास र ग्रामीण विकासको साझा सवाल र अन्तरवस्तुलाई पहिल्याएर अगाडि बढ्न नसकिने देखिएको छ । र, विकास भनेको छोराछोरी विदेश पठाउनु हो भन्ने गलत मान्यता स्थापित हुन खोज्दै छ । उत्तर आधुनिक समाजमा विकासका पक्षहरूमा अत्यधिक दोहन बढेको छ । यो गलत प्रवृत्ति झांगिँदा गणना नै गर्ने हो भने कुनै पनि स्थान र व्यक्ति यो कार्यबाट अछुतो छैन । सरकारदेखि व्यक्तिसम्म लुटको शैलीमा काम गर्ने र गराउने गलत देखावटी शैलीमा अग्रसर भएका छन् । यसले विकास शब्दको खिल्ली मात्र होइन, बेइज्जत नै गराएको भन्दा दुईमत नहोला ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक भन्छ— उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत, कुल वस्तु व्यापारघाटा १५.९ प्रतिशतले कमी आई १,२०४ अर्ब ४२ करोड कायम, खुद सेवा आय ५७ अर्ब ७४ करोडले घाटामा, विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि र पुनर्कर्जा ३ अर्ब ५६ करोड लगानीमा रहेको छ । आर्थिक वृद्धिदर २ प्रतिशत सामान्य उक्लने प्रक्षेपण छ । संघीयतासँगै पूर्वाधार विकासमा अथाह खर्च गर्नुपरेको सत्यता जगजाहेर नै छ ।

बन्ने र बनेका बजेटका स्रोतहरू नै अदृश्य छन्, अर्थात् भए खर्च गरौँला भन्ने किसिमका बनेका छन् भने विनियोजित शीर्षकहरूमा पनि काम बन्न सकेका छैनन् । देशमा युवाको खडेरी नै परिसकेको छ । यही गतिमा युवा बिदेसिने हो भने सन् २०३० बाटै समस्या पर्ने विश्लेषकहरूले बताउँदै आएका छन् । देशमा अहिले सांसद मात्र छन् भन्ने अवस्था छ, जो सदनमा चिच्याउँछन् तर सरकारले नसुनेझैँ गर्छ । यो ऊ भन्दा पनि सबै उही पारामा हिँड्नाले बनावटी खर्चले विकासको खर्च अनियमितताको टोकरीमा पारिदिएको छ । नयाँ रोजगारी त कथाजस्तै भएको छ । किनकि पुरानैलाई थाम्न सरकार असक्षम हुँदै गएको छ ।

जताततै नाफामुखी काम गरिरहेका छौँ । जोखिमलाई निमन्त्रणा गर्दै क्षणिक सुख र भोगमा विकास शब्दलाई साटासाट गरेका छौँ । के यही हो विकास ? यही शैलीलाई विकास भनिन्छ त ? व्यक्ति बदमास हुन सक्छ तर संस्थागत बदमासीलाई पनि छुट दिने हो भने राज्य, समाज, समुदाय किन चाहिन्छ, यसको उत्तर दिने बेला भएन र ? विकासको नाममा विनाशकारी कार्य बढी भइरहेको कसैबाट छिप्दैन । छमछम पानी पर्दा बाटो बनाउने, त्यसमा पनि पिच गर्ने, पूर्वाधार निर्माणका अन्य कार्य गर्ने, जुन सो समयमा गर्नुपर्ने नै होइन । जानेरै पनि हामी त्यही बेला गरिरहने । कुनै पनि आयोजना समयमा सकिँदैनन्, म्याद थपिन्छ अनि पनि बन्दैनन् । के यही हो विकास ? यहाँ राष्ट्रिय गौरवका आयोजनाहरूको त टुंगो छैन । त्यसमै जीवन गइसक्दा पनि बनेका छैनन्, अरू ससाना आयोजनाको त कुरै गर्नु व्यर्थ छ । हो, यसकारण भन्नैपर्ने भएको छ कि आज विकास शब्दसँग मोलमोलाइ भएको छ । राजनीतिक चरम भ्रष्टाचारको स्थान बनेको छ विकास । खाना कटाएर तिरिएको जनताको करमा यहाँ मोजमस्ती चलिरहेको छ । अझै हामी सुध्रिएका छैनौँ ।

अनेक बहानामा विकासलाई धकेलिएको देशमा यो पटक स्थायी सरकार भयो, संघीयता कार्यान्वयनमा आयो, राजनीतिक स्थिरता भयो भनेर जनताले थोरै आशा गरे पनि दुईतिहाइको सरकार, त्यहीँमाथि बलियो सरकारबाट पनि विकास शब्द नबुझेको पाइयो, न कार्यान्वयन पक्षमा देखियो, अल्पमतका सरकारको त झनै कुरै नगरौँ । आफूकेन्द्रित क्रियाकलाप र पपुलिस्ट बन्ने दौडमा विनाश र अस्थिरताको बाटोतर्फ सरकार नै उद्यत छ । विकास शब्दलाई सरकारले नै कुल्चिएर हिँडेको छ । सरकारको नेतृत्व, सहकार्यकर्ता, सहयोगी सबै लुगा लगाए पनि नाङ्गो भएर हिँडेका छन्, बोलेका छन् र गरेको देखाएका छन् ।

अनि सामाजिक सञ्जालमा फुइँ लगाउनमा व्यस्त छन्— सके रमाइलो, नसके धम्की । विकास बजेटको चरम दुरुपयोग आजको रोग होइन, पुरानै हो । नयाँले यो कुरामा सावधानी अपनाएर नमुना बन्न सक्थ्यो, तर गत जेठ महिनामै देशभरमा विकासका नाममा अदिगा हरेक कार्यले देखाउँछ— विकास शब्दलाई बाटोमा राखेर बुलडोजर चलाइएको छ । जनताको करलाई खोलाको भेलमा लगेर हालिएको छ अनि विषादीयुक्त आयातित सामग्रीमा परनिर्भर बनाइएको छ । यसरी नै विकासको परिभाषा दिइँदै छ अहिले ।

भन्नलाई चाहिँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट सुशासन, विकास र समृद्धि हासिल गरी स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने वाक् र कागज छ । तीनै तहका सरकार क्रियाशील भई आर्थिक–सामाजिक विकासतर्फ अगाडि बढेको छ भनिएको छ, तर यथार्थमा विकासको नाममा गलत प्रवृत्ति झनै झांगिएको छ । समृद्ध नेपाल सुखी नेपालीको सोच बनाउँदै वि.सं. २१०० को प्रारम्भिक प्रारूपसहितको परिदृश्य तयार गरे पनि सोअनुसारका दिगो क्रियाकलापहरू भएका छैनन् । सबै कुरा भागबन्डामा सीमित पारिएको छ, नत्र बजेट नै फ्रिज ! यो कुरा पुनः दोहोर्याउनु नपर्ला । किनकि यस्ता कुरा हामी सुन्छौँ, रिसाएजस्तो गर्छौं अनि अर्को कानले उडाइदिन्छौँ । अनि बाढी, प्रकोपको बेला पछुताएर बस्छौँ ।

योजनाका हरेक पेजमा लेखिने शब्द हो— विकास र समृद्धि । कुन पानाका शब्द हुबहु गरिएका छन् ? मुलुकको सुशासन, विकास र समृद्धिका लागि उपयोग गर्न शासकीय अवयवहरूको कुशलतापूर्वक परिचालन भनेको खाने अनि गरेजस्तो गर्ने मात्र हो ? कम्तीमा अलिकति त गरे हुन्थ्यो नि, त्यो पनि छैन । यसैकारण विकासका नाममा भ्रष्टाचार र अनियमितता जताततै फैलिएको छ । भन्नलाई राजनीतिक क्षेत्रमा युगान्तकारी परिवर्तन भए भनिन्छ, तर त्यसको महत्वपूर्ण पक्षहरू जस्तैः आर्थिक, सामाजिक तथा आधुनिक यातायात तथा पूर्वाधार विकासका क्षेत्रमा खासै सफलता देखिएको भए यतिविघ्न जनता देश छाडेर विदेशमा रोजगारीका लागि जानुपर्ने अवस्था आउँदैनथ्यो । जनतामा सचेतनाको स्तर बढ्यो, असमानता हट्यो भन्दै गर्दा बोक्सीको आरोपमा जनप्रतिनिधिलाई साक्षी राखेर दिसा खुवाइएको, कुटपिट गरेका घटना, सांसले सदनमा समेत नानाभाँती बोलेको जस्ता कुरा रोकिन्थे होलान् । देशमा सियो उद्योग छैन, कृषिप्रधान देशमा सबै उत्पादन आयातित छ । खै, यस कुरालाई रोकेको अनि आफ्नो पूर्वाधार विकास र आत्मनिर्भरताको बीउ रोपेको ? न स्वाधीनता जोगिएको छ, न हस्तक्षेप नै, उल्टै गोडामोलाइमा विकासलाई चेपाइएको छ ।

अवस्थाअनुसारको विकास हाम्रो प्राथमिकता हो । विकास घर बनाउनुमात्र होइन, कंक्रिट ठड्याउनुमात्र विकास होइन, बनाउन सक्ने अवस्थामा पुर्याउनु विकास हो । बनेका पूर्वाधारहरूलाई दिगो बनाउन सक्नु विकास हो । तर, यहाँ त घरअगाडिको बाटोमा चौपयाले गोब्य्राएको गोबर प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट सोहोरिरहेको दृश्यसमेत हामीले देखिसकेका छौँ । चौताराको उद्घाटनमा राष्ट्रपति कुरेर बसेका छौँ र स्थानीयलाई स्वतःस्फूर्त परिचालनलाई पन्छाइरहेका छौँ । युवा बिदेसिने क्रम रोक्न वा निरुत्साहित गर्न यस्ता टार्ने कार्य कसैका लागि सह्य हुँदैन । यसले गरिबी घटाएको छैन, उल्टै बढाएको छ ।

अर्थतन्त्रमा औद्योगिक उत्पादन घटेका छन्, उद्योग छैन, भएकाको हालत नाजुक बनेको छ । आयातको मात्रा सुनिनसक्नु र देखिनसक्नु छ । विप्रेषण बढेको छ तर सामाजिक सुरक्षा जोखिम अवस्थामा पुगेको छ । आर्थिक वृद्धिको हवाला पिटेर उत्पादन र उत्पादकत्वमा कुनै सुधार ल्याउन सकिएको छैन । शिक्षा, स्वास्थ्य, वातावरण, सुशासन, आर्थिक, राजनीतिक, प्राविधिक पक्ष थेचारिएको छ । तर पनि हामी भन्न छाडेका छैनौँ— सबै ठाउँ बाटो पुग्यो, बिजुली पुग्यो, खानेपानी पुग्यो, गाडी पुग्यो । पुगेको चिज कुन अवस्थामा छ, कहिल्यै हेर्ने र मूल्यांकन गर्ने क्षमता राख्यौं/राख्दैछौं ? प्रायः अधिकांश कार्यमा जोखिमताले दर्शन दिइरहेको छ, जुन कुरालाई हामी छिपाइरहेका छौँ ।

विकासलाई व्यापारमात्रको नजरमा पारिनु नै हाम्रो भूल हो । विकासमा गलत राजनीति गरिनाले यो अवस्थाको सिर्जना हुँदै गइरहेको छ । बाहिरबाट लिएको भए पनि विकासको महत्वाकांक्षा जनताको मस्तिष्कमा मात्रै सीमित छैन । भनिदिएको विकास–राजनीतिक अर्थतन्त्र र आर्थिक प्रणालीको अकाट्य आधार हो । हामीले भोगेका र अपेक्षा गरेका विकासबीच ठूलो खाडल छ । समाज र भूगोलसुहाउँदो विकास परिभाषा बनाउने र गर्ने प्रयत्न हालसम्म गरिएका छैनन् । विकास अभ्यास पूर्णतः राजस्व असुली र त्यसलाई आवश्यक आर्थिक प्रणाली बनाउन मात्र केन्द्रित भए ।

भौतिक विकासमा अनुदान वितरण नीति र कार्यक्रमले प्राथमिकता पाए । हाम्रो संस्कृति, अर्थतन्त्र र भौतिक पर्यावरणसित मिल्ने गरी अवधारणा र अभ्यास दुवैलाई संस्थागत गर्न हामीले अझै सकेका छैनौँ । समाज बदल्ने प्रक्रिया र अभ्यासको रूपमा बुझिएको विकासको परिभाषा, मापदण्ड र विधिमा उल्लेख गर्न लायक काम नै धेरै कम मात्र भए । हामीले सोचेको, हामीलाई चाहिएको र हामीले गर्न सक्ने विकासमा अझै हामी अलमलमै छौँ र अर्काको देखेर मनगढन्ते कुरामा ताली बजाउन बाध्य बनेका छौँ । झन्डै ३५ वर्षको प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रको अर्थ–राजनीतिक प्रणाली अभ्यास गरिसक्दा र विकासमाथि घोत्लिएको, विचार गरेको र अभ्यासमा उतार्न थालेको करिब सात दशक भइसक्दा पनि हाम्रा कामहरू स्थानीय परिवेश, ज्ञान, आवश्यकता र आत्मनिर्भरताको बाटोमा छैनन् । यसको अर्थ ७० वर्षसम्म अभ्यास गरिएको विकास प्रयास हाम्रो आफ्नै धरातलमा उभिएका छैनन् । यो हाम्रो लागि विडम्बना हो ।

प्रतिक्रिया दिनुहोस्