बाढी र डुबान नेपालकै कारण : मुख्यमन्त्री राउत «

बाढी र डुबान नेपालकै कारण : मुख्यमन्त्री राउत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी र डुबानबाट प्रभावितहरुलाई अझै राहत तथा पुनस्र्थापना नभएको गुनासो पोखेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पु-याएको सुनाए । अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पु-याउने काममा लागिरहेको राउतले बताए । उनले भने, “अहिले पनि राहत वितरण गर्न धेरै बाँकी छ । कतिलाई राहत पुग्यो, कतिलाई पुगेन भनेर हेर्नको लागि हामीसँग संयन्त्र छैन । तर राहत धेरैलाई पुगेको छैन ।”
उनले नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्ध लगायतका कामहरु नगरेका कारण बाढी तथा डुबानको समस्या आएको स्पष्ट पारे । उनले भने, “लालबकैया, बाग्मती, रातु, कमला र त्रियुगा नदी आसपासमा तटबन्ध बनाउनुपर्नेमा हामीले बनाएनौं । २०४६ साल यता अहिलेसम्म भएका तटबन्धहरुको कुनै ममर्तसम्भार भएको छैन । एकैचोटी पानीको बेग आउँदा थेग्नै सक्दैन । र, अहिले यो समस्या आएको हो ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहयोगको आश्वासन दिएको उनले सुनाए । उनले भने, “मैले केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग पनि भेट गरें, उहाँले पनि अन्य प्रदेशमा रहेका साधन र स्रोत प्रयोग गरेर २ नम्बर प्रदेशमा खटाउनको लागि मन्त्रालयको टिम नै राखेर निर्देशन दिनुभएको छ । हिजोमात्रै उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छु । उहाँले पनि नदी, तटबन्धलगायतका विषयमा दिर्घकालिन समाधान खोज्नेबारे मन्त्रालयका टिम नै राखेर विशेष निर्देशन दिनुभएको छ ।”
राहत तथा पुनस्र्थापनाको लागि प्रदेश सरकार गम्भिर रहेको सुनाउँदै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेको सुनाए । उनले भने, “सिंगो प्रदेश लागिपर्दा पनि यो विपत्ति सामना गर्ने हामीसँग क्षमता छैन । अब संघ र प्रदेश सरकार मिलेर यो विपत्तिको सामना गर्नुपर्छ । टुटेका सडक सञ्जालहरु जोड्ने काम गर्नुपर्छ ।”
मुख्यमन्त्री राउतले बाढी र डुबानबाट तराईमा धेरै ठूलो क्षति पुगेको सुनाए । उनले भने, “क्षति सानो छैन । हजारौं बिघा सिँचाइयोग्य जमिन बालुवाले पुरिएको छ । अहिले ती खेतीयोग्य छैनन् ।”
चुरे दोहनका कारण अहिलेको समस्या आइपरेको उनको टिप्पणी छ । उनले भने, “लोडर, डोजर, टिपर लगाएर चुरे उत्खनन भएको छ । त्यसका कारण पहिरो गएको छ । अब पनि दिर्घकालिन योजना बनाएर समस्याको हल गर्न सकेनौं भने स्थिति भयावह हुन्छ । बरु, चुरे दोहन रोक्ने प्रोजेक्टलाई के नाम दिने हो त्यो सोच्नुपर्छ ।” तर, यसको लागि संघीय सरकारले नै पहल गर्नुपर्ने उनको भनाइ छ ।
आफूले प्रधानमन्त्री ओलीसँगको भेटमा पनि तटबन्धहरुको म्यापिङको लागि आग्रह गरेको सुनाए । त्यस्तै उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा राहतमा ठूलो भूमिका निर्वाह गरेको भन्दै खुलेर प्रशंसा गरे । मुख्यमन्त्री राउतले अहिले २ नम्बर प्रदेशका अधिकांश पुल र सडक समाप्त भएको सुनाए ।
उनले चुरे दोहनलाई रोक्नको लागि प्रदेश सरकारले कडाइका साथ कार्यक्रम ल्याउने पनि जनाए । उनले भने, “हामी यो विषयमा गम्भिर भएका छौं । यसलाई सुधार गर्न सकिएन भने तराई, मधेशलगायतका ठाउँहरु मरुभूमिकरण हुने खतरा छ ।” गर्मी, जाडो र वर्षा जुनसुकै मौसममा पनि तराईमधेश ठूलो मारमा पर्ने गरेको सुनाउँदै अब दिर्घकालिन समाधानको लागि सबैले पहल गर्नुपर्नेमा राउतले जोड दिए ।
फरक प्रसंगमा उनले तत्काल प्रदेश नम्बर २ को मन्त्रिमण्डल पुनर्गठन नहुने स्पष्ट पारे । उनले भने, “यो सरकार पाँच वर्षसम्मको लागि हो, यसको अहिले कुनै विकल्प छैन । तत्काल मन्त्रिमण्डल पुनर्गठन हुँदैन ।” बरु अब सरकारले काम गर्ने शैली बदल्ने उनले विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्