नयाँ शक्तिको नारा ‘सबैका लागि समृद्धि’

‘सबैका लागि समृद्धि’ नाराका साथ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर १० र २१ गते हुन लागेको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने नयाँ शक्ति पहिलो पार्टी हो ।
शुक्रबार प्रतिवद्धतापत्र सार्वजनिक गर्दै डा. भट्टराईले विकासबारे नयाँ शक्तिको चार आयाम रहेको बताए । “नयाँ शक्तिले विकासलाई भौतिक विकास, न्यायपूर्ण वितरण, पर्यावरणीय संरक्षण तथा दिगो विकास र विकासबाट मानिसले पाउने खुसी अर्थात् मानसिक सन्तुष्टिलाई आधार बनाएको छ,” उनले भने, “अरुले भन्ने गरेको विकासभन्दा नयाँ शक्तिले अघि सारेको विकासको अवधारण फरक छ ।”
‘२५ वर्षमा समुन्नत देशः हवाईजहाज उडेजस्तो विकास’ नारा अघि सार्दै उनले पाँच वर्षभित्र गरिबीको निरपेक्ष अन्त्य गर्ने, १५ वर्षभित्र मध्यमस्तरमा पु¥याउने र २५ वर्षभित्र संसारको सबैभन्दा समुन्नत देश बनाउने आफ्नो पार्टीले लक्ष्य रहेको पनि बताए ।
भ्यागुते उफ्राइजस्तो विकासको नारा दिँदै आएका भट्टराईले क्रमिक रुपमा घस्रने खालको विकास भन्दा पनि २ अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य भयो भनेमात्र विकासले गति लिने पनि बताए । “बस गुड्ने जस्तो विकास नभएर हवाइजहाज उड््नेजस्तो विकासलाई जोड दिने पार्टीको अवधारणा रहेको छ,” उनले भने, “यसका लागि दुई दशकभित्र २ अंकको आर्थिक विकास हुने योजनाका कुरा हामीले ल्याएका छौं ।”
नयाँ शक्तिले सात प्रदेशका मुख्य योजना अगाडि सार्दै देश संघीय ढाँचामा गइसकेकोले प्रदेशका विषेशताका आधारमा प्रदेशका मुख्य योजनाहरू अघि सारेको छ । नयाँ शक्तिको घोषणापत्रमा प्रदेश नं. १ मा १३ योजना, २ मा १५ योजना, ३ मा ७ योजना, ४ मा १० योजना, ५ मा १० योजना, ६ मा १७ योजना र ७ मा १३ विषेश योजना बनाएको छ ।
घोषणापत्र पञ्चवर्षीय योजना नभई दिशाबोध गराउने सामग्री भएको भट्टराईको भनाइ छ । नयाँ शक्तिको घोषणापत्रको पहिलो खण्डमा विचार र राजनीतिक, दोस्रो खण्डमा आर्थिक विकास र समृद्धि, तेस्रने खण्डमा लोकतन्त्रको समृद्धि तथा सुशासन र चौथो खण्डमा अपिल राखिएको छ ।
नयाँ शक्तिले काठमाडौंदेखि सगरमाथा बेस क्याम्पसम्म केवलकारदेखि आर्थिक विकास तथा समृद्धिका योजनाहरूअन्र्तगत संघीयस्तरबाट गरिने रणनीतिक महत्वका योजनामा ऊर्जा, सडक, रेलमार्ग, हवाई तथा जलमार्ग, केबलकार, हिमाली बृहत पदमार्ग, सिँचाइ, विशेष औद्योगिक क्षेत्र, खानी उद्योग, वातावरण संरक्षण, विज्ञान, प्रविधि तथा अन्वेषण, खेलकुद, भू–उपग्रहसम्म घोषणापत्रमा समावेश गरेको छ ।
रेलमार्गतर्फ काठमाडौं–वीरगञ्ज रेलमार्ग, पूर्व पश्चिम मेची महाकाली चल्ने तराई र पहाडमा दुई रेलमार्गको परिकल्पना गरिएको छ भने सडकतर्फ ६ लेनको मेचीकाली लोकमार्ग, चीन र भारत जोड्ने चार लेनका ४ वटा उत्तर दक्षिण जोड्ने सडकको पनिा योजना बाँडिएको छ ।
वैचारिक रुपमा भने नयाँ शक्तिले आफूलाई बाम–लोकतान्त्रिक कित्तामा उभ्याएको डा. भट्टराईले बताए । आफ्नो पार्टीको अन्तिम गन्तव्य भनेको समुन्नत खालको समाजवाद हुने तर्क राख्दै उनले राज्य सञ्चालन जनताले प्रत्यक्ष चुनेको व्यक्तिबाट तथा कसैले लादेको जनवाद र नवउदारवाद नभई जनताको प्रत्यक्ष सहभागिता रहने नयाँ किसिमको जनवाद रहने बताए ।