दुईपांग्रे सवारीसाधनको सुरक्षा

साधारणतयाः चारपांग्रे सवारीसाधनलाई दुईपांग्रेको तुलनामा बढी सुरक्षित मानिन्छ । त्यसैले सडकमा दुईपांग्रे सवारीचालक बढी असुरक्षित महसुस गर्छन् । केही कुराहरुमा ध्यान दिने हो भने सडकमा सुरक्षित हुन मद्दत पुग्छ ।
सुरक्षित दूरीमा सवारी रोक्ने
सवारी रोक्दा अन्य सवारीको ठिक अगाडि या ठिक पछाडि रोक्नु हुँदैन । तपाईंलाई आफ्नो सवारी घुमाउने पर्याप्त ठाउँ होस् । ओभरटेक गर्दा पनि पर्याप्त ठाउँ राखेर मात्र ओभरटेक गर्नुपर्छ । दुई सवारीको बीचमा थोरै खालि ठाउँ छ भने छिराइहाल्नु हुँदैन । यसो गर्दा ठोक्किएर दुर्घटना हुने डर हुन्छ ।
आफूलाई सुरक्षित राख्ने
सुरक्षाको लागि राम्रो खालको हेलमेट प्रयोग गर्नुपर्छ । धेरैजसो दुर्घटनामा टाउकोमा लागेको चोटले ज्यान गएको पाइन्छ । कतिपय अवस्थामा हेलमेटले ज्यान बचाएको पनि उदाहरण पाइन्छ । त्यसैले सुरक्षा प्रमाणित हेल्मेट किन्नुपर्छ । कतिपयले ट्राफिकबाट बच्नमात्र हेल्मेट लगाउने गरेको पाइन्छ । याद गर्नुस्, हेलमेट अरु कसैको लागि हैन, तपाईंकै लागि हो । हेलमेट कसिलो र राम्ररी लागेको छ कि छैन ख्याल राख्नुपर्छ । पछाडि सिटमा अरु कोहि छ भने अर्को हेलमेट पनि बोक्नु राम्रो हुन्छ । फोहोर, धुवाँ, धुलोबाट आफ्नो अनुहार बचाउने सिसा भएको हेलमेट किन्नु राम्रो हो । मौसम राम्रो छ भने लेदर ज्याकेट र पञ्जासहित बुट पनि लगाउनु राम्रो हुन्छ जसले गर्दा सानो घाउ, चोटबाट बच्न मद्दत गर्छ ।
बाटोका अप्ठयारा हेर्दै जाने
स्पिड ब्रेकर, फोहोरको थुप्रो, बाटोमा आउने खाल्डाखुल्डी, हिलो, निर्माण साम्री, जनावर आदिलाई ध्यानमा राखेन भने यसले पनि दुर्घटना निम्त्याउन सक्छ ।
सवारीको बेला–बेलामा जाँच गरिराख्नु पर्छ
समय–समयमा सर्भिसिङ गर्नुपर्छ । आफूले पनि बेला बेलामा आफ्नो सवारीमा के कस्तो समस्या आइरहेको छ याद गर्नुपर्छ । यदि सवारी ठिक छ भने यसले तेलको खपत गर्नुका साथै दुर्घटनाको जोखिम पनि कम गर्छ ।
- ट्राफिक नियम पालना राम्रोसँग गरेको छु कि छैन याद गर्नुपर्छ । आफू जाने बाटोमा सिग्नलहरु दिनुपर्छ जसकारण अरु चालकले तपाईंको गतिअनुसार आफ्नो सवारी चलाउँछन् । ह्वात्त ब्रेक लगाउनु हुँदैन ।
- तपाईंको सवारी रोक्ने बित्तिकै नरोकिन सक्छ । त्यसैले रोक्दा अन्य सवारी साधनभन्दा केही टाढैदेखि रोक्नुपर्छ ।
- पुल, विद्यालय, बाटो काट्ने ठाउँ र पहेंलो धर्काले कोरेको सडकमा ओभरटेक गर्नु हुँदैन । साथै बायाँबाट ओभरटेक गर्नु हुँदैन ।
सवारी चलाइराख्दा फोन उठाउने काम गर्नु हुँदैन । उठाउनै परे छेउमा गएर उठाउनुपर्छ । - पैदल यात्रुलाई पनि ध्यान दिनुपर्छ । उनीहरुलाई रोकेर राख्ने भन्दा बाटो दिएको राम्रो हो । यसले पैदल यात्रु र सवारी दुवैको सुरक्षा हुन्छ ।