आशा जगाउँदै नेपाली पर्यटन «

आशा जगाउँदै नेपाली पर्यटन

फाइल तस्बिर ।

सन् २०१९ को डिसेम्बर अन्तिमतिर चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट फैलन थालेको नोभेल कोरोना भाइरस (कोभिड–१९) ले विश्वभरि नै महामारीको रूप लिएको थियो । त्यसको असर नेपालमा पनि देखिएको थियो र छ ।

कोरोना भाइरसले बिस्तारै विश्वभरि नै महामारीको रूप लिन थालेपछि विश्वका प्रायः सबै देशले आ–आफ्नो देशमा आउने विदेशी पर्यटकलाई यात्रा गर्न प्रतिबन्ध लगाए, जसले गर्दा लगभग एक वर्षसम्म विश्व पर्यटनले आर्थिक रूपमा ठूलो मार खेप्नुपर्यो । त्यो बेला एक प्रकारले विश्वभरि नै मुर्दा शान्ति छाएको अवस्था थियो ।

हुन पनि संयुक्त राष्ट्रसंघ मातहत रहेको विश्व पर्यटन संगठन (युएन डब्लुटिओ) ले त्यस बेला निकालेको तथ्यांकअनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा ७४ प्रतिशतले पर्यटक आगमनमा कमी आएको थियो । यसो सम्झने हो भने त्यो समयमा हामीलाई अब के–कसो हुने हो ? महामारीका कारण कति मानिस मर्ने हुन् ? हामीले कल्पनै गर्न नसकिने अवस्था विकसित भएको थियो ।

बिहानको तीन–चार बजेदेखि सुरु भएको एम्बुलेन्सको ‘टेँटु–टेँटु, ट्वाटु–ट्वाटु’ रातको एक–दुई बजेसम्म जारी रहन्थ्यो । यस्तो क्रम धेरै समयसम्म रह्यो । त्यसैले धेरै मानिसलाई कोरोना महामारीले निराश, हतास र चिन्तित तुल्याएको स्थिति थियो । हिजोसम्म जुन समय र परिस्थितिले हाम्रो जीवनमा निराशा छाएकोे, हतासा आएको र चिन्तित तुल्याएको थियो, आज त्यही समय र परिस्थिति फेरि हाम्रो जीवनमा उत्साह, उमंग, जोश, जाँगर लिएर आएको छ ।

त्यसबेला केही देशका सरकार प्रमुखहरू जस्तै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलियन राष्ट्रपति बोल्सोनारोलगायतले कोरोना महामारीलाई अति नै हलुका रूपमा लिएका थिए । त्यसो भए तापनि कोरोना महामारीले आफ्नो पूर्ण शक्तिसहित विश्वभरि व्यापक रूपमा फैलने क्रम बढाएपछि विश्वभरिकै पर्यटकीय गन्तव्यहरू बन्द भए ।

हुन पनि विभिन्न समयमा विश्वमा आएका ठूला महामारी रोगहरूको इतिहास हेर्दा त्यसअघिका महामारीमा यसरी आवतजावतमा प्रतिबन्ध नै लगाएको देखिँदैन । तर, कोरोना भाइरसका कारण विश्वभरिका प्रायः सबै देशले पहिलो पटक आ–आफ्नो देशमा आउने यात्रीहरूलाई यात्रा गर्नमा प्रतिबन्ध नै लगाए ।

जसले गर्दा लगभग एक वर्षसम्म विश्व पर्यटनले आर्थिक रूपमा ठूलो मार खेप्नुपर्यो । यसरी हेर्दा सन् २०१९ को अन्तिम ताका चीनबाट फैलन सुरु भएको कोरोना महामारीका कारण विश्व पर्यटनमा कसैले पनि नसोचेको स्तरमा ‘डाउन–फल’ सुरु भयो । भनाइको मतलब के हो भने विश्वका धेरैजसो पर्यटकीय स्थलहरू पूर्ण रूपमा बन्द गरियो ।

विश्व पर्यटन संगठन (युएन डब्लुटिओ) ले त्यो बेला गरेको एक अध्ययनअनुसार कोरोना महामारीले विश्वव्यापी रूप लिएपछि विश्वका २ सय १७ साना–ठूला देशले यात्रा र घुमघाममा प्रतिबन्ध लगाएका थिए भने शतप्रतिशत पर्यटकीय गन्तव्य बन्द भएका थिए । हुन त यस्तो खालको अति कडा प्रतिबन्धले कहिलेसम्म धान्न सकिन्थ्यो र ?

त्यसैले बिस्तारै विश्वका केही देशले कोरोना महामारी फैलिएको देशको अवस्था हेरेर आफ्नो देशमा आउन चाहने विदेशी पर्यटकका लागि ७ देखि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेर पर्यटकीय गतिविधिहरू जारी राखे भने कुनैकुनै देशका नागरिकलाई उनीहरूको देशमा फैलिएको कोरोना महामारीको अवस्था हेरेर निश्चित अवधिसम्म आफ्नो मुलुकमा प्रवेश गर्नै नपाउने गरी प्रतिबन्ध पनि लगाएका थिए ।

जे होस्, सन् २०२२ देखि विश्व पर्यटन क्षेत्रमा ‘अप–राइज’ सुरु भएको मान्न सकिन्छ । किनभने सन् २०२२ मा विश्वका विभिन्न देशका ९ सय मिलियन अर्थात् ९० करोड मानिस पर्यटक भई विश्व भ्रमण गर्न निक्लेका थिए । यसरी हेर्दा सन् २०२२ देखि विश्व पर्यटन क्षेत्रमा अप–राइज सुरु भए फलस्वरूप सन् २०२३ मा विभिन्न देशका मानिसहरू विश्वका विभिन्न देशमा पर्यटक भई निक्लेको अनुमान गरिएको छ ।

नेपालमा पनि पर्यटक आगमन दरमा सुधार हुँदै गएको छ । सन् २०१९ को पहिलो तीन महिनाको तुलनामा सन् २०२३ को पहिलो तीन महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा ७८ प्रतिशतले सुधार आएको छ, जसलाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । साथसाथै, अब हामीले सन् २०२३ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउने भन्ने सम्बन्धमा र उनीहरूको नेपाल बसाइ अवधि अनि विदेशी पर्यटकहरू नेपाल बसाइको क्रममा उनीहरूले गर्ने दैनिक खर्चको सीमालाई पनि कसरी बढाउन सकिन्छ ? भन्ने कुरामा ध्यान दिनुपर्ने देखिन्छ ।

स्मरणीय छ, सन् २०१९ मा झन्डै १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका भए तापनि उनीहरूको नेपाल बसाइ अवधि अनि उनीहरूले गर्ने दैनिक खर्चको सीमामा भने खासै प्रगति भएको थिएन । जस्तो कि सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिव्यक्ति दैनिक ४८ अमेरिकी डलर मात्रै खर्च गरेका थिए भने प्रतिदिन बसाइ अवधि १२.७ दिन थियो । त्यस्तैगरी सन् २०२० मा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०२१ मा केवल १ लाख ३१ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आए । सन् २०२२ मा चाहिँ ६ लाख १४ हजार १ सय ४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे ।

यसरी हेर्दा नेपालमा मात्रै नभएर विश्वभरि नै लगभग साढे दुई–तीन वर्षको निराशाजनक अवधिपछि विश्व पर्यटन जगत्मा आशा जागेको छ । साढे दुई–तीन वर्षको निराशाजनक अवधिको विश्व पर्यटन जगत्ले जसरी आशा जगाएको छ, फेरि निराशाको वातावरण नबनोस् भनी कामना गरौं ।

प्रतिक्रिया दिनुहोस्