‘हेग लगे विश्वकै हिरो भएर निस्किन्छु’ «

‘हेग लगे विश्वकै हिरो भएर निस्किन्छु’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई हेग (अन्तरराष्ट्रिय अदालत) पु-याइए झन् ठूलो हिरो बन्ने बताएका छन् । युद्धकालका मुद्दालाई ब्युँताएर, चर्काएर प्रतिक्रियावादीले हेग पु-याउने प्रयत्न गरेको उनले बताए ।
सोमबार आफ्नो निवास खुमलटारमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह परित्याग गरी नेकपामा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “परिवर्तन नचाहने तत्व लागिरहेका छन् । मलाई हेग लगेर पनि केही फरक पर्दैन । हेग लगे भने विश्वकै हिरो भएर निक्लन्छु । संसारले एकैपटक चिन्छन् । संसारका जनताले एकैपटक यो त न्यायका पक्षमा, शान्तिका पक्षमा रहेछ भनेर थाहा पाउँछन् । यो त मेरो लागि गर्वको कुरा हो ।”
तर, प्रचण्डले आफूलाई कसैले हेग पु-याउन नसक्ने दाबी गरे । “मलाई यिनीहरूले हेग लगेर विश्वको हिरो बनाउँछन् जस्तो लाग्दैन,” उनको दाबी थियो ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म कसैले हेग नपु-याउने दाबी गरे । सबै मिलेर परिवर्तन जोगाउनुपर्ने उनले बताए । “राजा आएर चाहिँ परिवर्तन जोगिन्छ त ? त्यो त झन् प्रतिक्रान्ति भयो । यहाँ कसैलाई लागेको होला उल्टो बाटो हिँडेर क्रान्ति हुन्छ,” उनले विप्लव समूहलाई इंगित गर्दै भने ।
उनले विप्लव पनि नेकपामा आउनुपर्ने जिकिर गरे । “ढिलोछिटो विप्लव पनि यहाँ (नेकपामा) आउनुपर्छ । या त सिध्धिनुपर्छ, पेरुजस्तो । पेरुको जस्तो हाइटमा त जाँदैन । क्रान्ति सरल रेखामा हुँदैन, बक्र रेखामा हिँड्छ । हामीले धेरै उपलब्धि खोजेका थियौँ । तर, अहिलेको शक्ति सन्तुलनले गर्दा हामीले यति लिएर भए पनि अगाडि जाने भनेर यहाँ आएका हौँ । फिलिपिन्समा जे भए त्यही हुने खतरा थियो । लिट्टे हुने खतरा थियो । त्यसकारण हामीले आफ्नो आन्दोलन त्याग तपस्याबाट आन्दोलनको बलमा प्राप्त हुने हुन सक्ने चिज लिइहाल्ने, त्यसलाई समाजवादको दिशातिर जाने नयाँ तरिकाले अगाडि बढ्ने बाटो अपनाएको हो,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्