नगरकोट जाने बाटो सात वर्षमा पनि पूरा भएन «

नगरकोट जाने बाटो सात वर्षमा पनि पूरा भएन

२०७० सालमा १७ किलोमिटर सडक निर्माणको जिम्मा सैलुङ कन्स्ट्रक्सनले ३७ करोड ८७ लाख रुपैयाँमा पाएको थियो ।

भक्तपुर र काभ्रेको सिमानामा पर्ने पर्यटकीय स्थल नगरकोट जाने बाटो ठेक्का सम्झौता भएको सात वर्ष पूरा हुन लाग्दासमेत निर्माण सम्पन्न हुन नसकेपछि संसदीय समितिले छानबिन थालेको छ ।
दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भक्तपुर–नगरकोट सडकखण्ड ठेक्का सम्झौता भएको छ वर्षमा पनि पूरा हुन नसकेपछि प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले छानबिन थालेको हो । समितिले सो सडकखण्डको स्थलगत अनुगमनसमेत गरेको छ । २०७० सालमा १७ किलोमिटर सडक निर्माणको जिम्मा सैलुङ कन्स्ट्रक्सनले ३७ करोड ८७ लाख रुपैयाँमा पाएको थियो ।
तर, निर्माण सुरु भएको सात वर्ष पूरा हुन लाग्दासमेत सडक अलपत्र अवस्थामा रहेपछि अनुगमनमा आएका टोलीमाथि स्थानीय आक्रोसित भएका छन् ।
समितिकी सभापति कल्याणी खड्का नेतृत्वको टोलीले स्थलगत अवलोकनपछि आयोजित अन्तरक्रियामा स्थानीयले ठेकेदारमाथि कारबाहीको माग गरेका छन् । उनीहरूले समयमै सडक निर्माण हुन नसक्दा नगरकोट क्षेत्रका होटललगायतका व्यवसाय धरापमा परेको भन्दै क्षतिपूर्तिसमेत माग गरेका छन् । उनीहरूले समितिका सदस्य अनुगमनमा आउने थाहा पाएपछि सडक मर्मत सुरु गरेको पनि बताए ।
भक्तपुरको कमलविनायक–नगरकोट सडक आयोजनाको निर्माण ठेक्का पाएको सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी हुन् । अधिकारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । अधिकारीले राजनीतिक शक्तिको आडमा आयोजनाहरू यसरी नै अलपत्र पार्दै आएका छन् । तर, हालसम्म कुनै कारबाही हुन सकेको छैन ।
स्थलगत अवलोकनका क्रममा समितिकी सभापति खड्काले एक वर्षभित्रमै निमार्ण सम्पन्न हुने गरी कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन् ।
यता, ठेक्का सम्झौता पाएको सैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिले भने समयमा नै रकम निकासा नभएपछि काम अगाडि बढ्न नसेको गुनासो गरेका छन् । कन्स्ट्रक्सनका प्रतिनिधि सुदन गौलीले ८ देखि ९ करोड रूपैयाँ समयमा नै निकासा नहुँदा समस्या भएको बताए । उनले रकम निकासा भए आउँदो आर्थिक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । भारतको एक्जिम बैंकको सहयोगमा विस्तार हुन लागेको यो सडक आयोजना आर्थिक वर्ष २०७२÷७३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्