घूस नदिने संकल्प गर्नुस् : मन्त्री अर्याल «

घूस नदिने संकल्प गर्नुस् : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले घूस खाने कर्मचारीलाई आफ्नो मन्त्रालय र विभागबाट संरक्षण गरेको प्रमाण ल्याए आफू फाँसीमा झुण्डिन तयार रहेको बताएकी छन् । मन्त्री अर्यालले आफ्नो मन्त्रालय मातहतका सबै निकायमा सुशासन कायम गराउन लागिपरेको दाबीसमेत गरिन् ।
सोमबार काठमाडौंको साँखुमा आधुनिक सुविधायुक्त मालपोत कार्यालय सेवाको शुभारम्भ गर्दै उनले कर्मचारीलाई घूस नदिने संकल्प गर्न सेवाग्राहीलाई पनि अपिल गरिन् । सेवाग्राहीले काम छिटो गर्ने नाममा कर्मचारीलाई घुस्याहा बनाएकाले सुशासन कायम गर्न आफूलाई अप्ठयारो परिरहेको मन्त्री अर्यालको गुनासो छ । मन्त्री अर्यालले घूस नलिन कर्मचारीलाई र नदिन सेवाग्राहीलाई पटक–पटक सचेत गराइन् ।
नदिए कसैले पनि घूस नलिने र नापी तथा मालपोत कार्यालयमा सुशासन कायम हुने मन्त्री अर्यालको भनाइ छ । उनले मालपोत तथा नापी कार्यालयको सेवालाई पारदर्शी बनाउन सरकारले प्रविधिमा जोड दिएको पनि स्मरण गराइन् । मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालयमा सबैभन्दा बढी विकृति भित्रिएकाले त्यसलाई अन्त्य गर्न प्रविधिको विकासमा जोड दिनुपरेको पनि स्पष्ट पारिन् ।
कार्यक्रममा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आफूलाई सेवाग्राहीको ठाउँमा राखेर सेवा प्रवाहको कामलाई अघि बढाउन मातहतका कर्मचारीहरुलाई सचेत गराए । उनले कानुन तथा पूर्वाधारको अभावमा केही समस्या भएपनि विस्तारै सेवाग्राहीहरुको सेवा प्रभावको कामलाई प्रभावकारी बनाउन सरकार लागि परेको बताए ।
साँखु मालपोत कार्यालयको सेवालाई सहज बनाउन सरकारले ईन्टरनेट सेवाको पनि शुभारम्भ गरेको छ । यसअघि सरकारले काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयलाई प्रविधिले युक्त नमुना मालपोत कार्यालयको रुपमा घोषणा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्