Logo

विद्युत नियमित नहुँदा औद्योगिक करिडोर संकटमा

विद्युत आपूर्ति नियमित नहुँदा पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा सञ्चालित उद्योग संकटमा परेका छन् । तालिका नभएको अस्पष्ट लोडसेडिङ, पिक आवरबाहेको समयमा आपूर्ति हुने विद्युत पटक पटकको ट्रिपिङले कारखानाको सञ्चालन प्रणाली नै अनियन्त्रित बनेपछि करिडोरका उद्योग संकटमा परेका हुन् ।

“बिजुली आउने जाने ठेगान नभएपछि कारखानाको सञ्चालित पद्दति बिथोलिँदा करिडोरका उद्योगमा संकट आएको छ” उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिल अग्रवालले भने, “तालिका छैन, प्राधिकरणले पिक आवरपछि दियौं भन्ने जस्तो मात्रै गरेको छर त्यसमा पनि पटक पटकको ट्रिपिङले उद्योग दैनिक संकटमा परेको छ ।” लोडसेडिङको स्पष्ट तालिका नराखी पिक आवरबाहेकको समयमा आपूर्ति हुने विद्युत जतिबेला पनि हुने ट्रिपिङले उद्योगको उत्पादन क्षमतामा क्षति पुर्‍याउन थालेपछि उद्योगीहरु चिन्तित बनेका छन् ।

विद्युत आपूर्ति अनियमित हुँदा उद्योगका सानादेखि ठूला उपकरण बिग्रने, कयौ मर्मतपछि चल्ने, कतिपय फेर्नैपर्ने तथा मेसिन बिग्रँदा भारतलगायतका देशबाट प्राविधिक बोलाउनुपर्ने हुँदा हप्तौं दिनसम्म उद्योग बन्द हुने करिडोरका उद्योगीहरु बताउँछन् । आफ्नै कच्चा पदार्थको उत्पादन बिक्री गर्दै आएको अशोक स्टिल प्रालिका व्यवस्थापन प्रमुख रामगोपाल शर्मा भन्छन्, “बरु लोडसेडिडको समयमा यस्तो खराब अवस्था थिएन उद्योगको । तोकिएको समयबाहेक विद्युत सहज हुन्थ्यो अहिले त ठेगानै नै भएन आउने र जानेको । कसरी काम गर्न सकिन्छ ।”

दैनिक तालिका बिनै जुनसुकै बेलामा पनि विद्युत कटौती हुँदा कारखानाका पार्टपूर्जा बिग्रने गरेका छन् भने उत्पादनमा कमि र उद्योगको सम्पूर्ण तालिका नै प्रभावित भएको उद्योगीहरुको गुनासो छ । चल्ला चल्दैको अवस्थामा रहेको मेसिन एकै पटक रोकिँदा धेरै कच्चा पदार्थसमेत क्षति हुने गरेको छ ।

पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै गत वैशाख ७ गते उद्योग वाणिज्य संघ वीरगञ्जले विज्ञप्तिमार्फत ६६ केभीएको औद्योगिक प्रसारण लाइनमा जोडिएका उद्योगमा दिनको १२ घण्टा लोडसेडिङ र झण्डै ७/९ पटक ट्रिपिङ भइरहेको र ६६ केभीए बाहिरका लाइनमा समेत दैनिक ८ देखि १० घण्टा लोडसेडिङ र ११/१७ पटकसम्म ट्रिपिङ भइरहेको उल्लेख गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनअघि सिमरामा आयोजत औद्योगिक पर्यटन सम्मेलनमा करिडोरमा वितरण भएको विद्युतको संरचना पुरानो हुँदा प्रशारणमा समस्या देखिएकाले संरचना र सुधारमा प्राधिकरण लागेको जानकारी गराएका थिए ।

केही समय अघि विद्युत सहज उपलब्ध भएको समयमा करिडोरको सिमरा तथा वीरगञ्ज वितरण केन्द्रबाट प्राधिकरणले मासिक ८० देखि ८५ करोडको हाराहारीमा महशुल बुझ्दै आएपनि वैशाख महिनामा करिडोरबाट ६१ करोड ६३ लाख २७ हजार महसुल बुझेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्