जोखिम क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली राखिने «

जोखिम क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली राखिने

लमजुङ-गण्डकी प्रदेश सरकारले पहाडी जिल्लाका जोखिम क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली राख्ने भएको छ । लमजुङको दोर्दी खोलामा आएको बाढीले ठूलो धनजनको क्षति पु-याएपछि यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण भएको हो ।
दोर्दी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले जोखिमयुक्त ठाउँमा विपद् पूर्वसूचना प्रणाली अनिवार्य भएको बताए । “विपद् पूर्वसूचना प्रणाली राख्ने विषयमा प्रदेश सरकारले तयारी गरीरहेको छ,” मुख्यमन्त्री गुरुङले भने “ठूला आयोजना र बस्ती भएका खोलामा तत्काल प्राथमिकतामा राखिने छ ।”
बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिका कारण बर्सेनि ठूलो धनजनको क्षति भएको भन्दै मुख्यमन्त्री गुरुङले पहिरोको बढी जोखिम भएको खोलानालाको मुहान तथा जलाधारक्षेत्रको अध्ययनतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गएको बताए । “विपद् व्यवस्थापनका लागि भौगोलिक अध्ययन पनि महत्वपूर्ण र आवश्यक छ,” उनले भने, “अहिले मौसम अनुकूलन नभएकाले विपत्ति आइसकेपछि पनि अध्ययन गर्न पाएका छैनौं ।”
मुख्यमन्त्री गुरुङले आयोजना क्षेत्रको सडक निर्माणमा समेत प्रदेश सरकाको ध्यानाकर्षण भएको बताए । विपद् व्यवस्थापनको महत्वपूर्ण पाटो सडक पहुँच भएको भन्दै आपतकालिन अवस्थामा जुनसुकै ठाउँमा पुग्नका लागि सहज सडकको आवश्यकतालाई प्राथमिकतामा राखेको नको भनाइ छ ।
विपद् पूर्वसूचना प्रणाली राख्ने विषयमा कार्यविधि बनिरहेको र ठाउँ पहिचान गर्न मात्रै बाँकी रहेको प्रदेश सरकारले जनाएको छ । ठूला नदीमा पूर्वसूचना प्रणाली राखिएको भए पनि ठूला खोलामा यस्तो सूचना नहुँदा ठूलो क्षती भोग्नुपरेको गण्डकी प्रदेशका कानुन तथा आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले बताए । विपद्का बेला समयमै सूचना पाउन सक्ने गरी प्रदेशभित्रका ठूला र महत्वपूर्ण खोलामा विपद् पूर्व सूचना प्रणाली राखिने उनको भनाइ छ । “ठूला नदीमा पूर्वसूचना प्रणाली राखिएका छन्,” उनले भने, “अब ठूला खोलामा पनि राख्नुपर्छ भन्ने चेतना भयो, यो कामलाई हामी अघि बढाइहाल्छौं ।”
गत बुधबार दोर्दी खोलामा आएको बाढीले निर्माणाधीन माथिल्लो दोर्दी ए मा काम गरिरहेका १० जना मजदुरलाई बाढीले बगाएको थियो । जसमध्ये अहिलेसम्म पाँच जनाको शव फेला परेको छ भने पाँच अझै बेपत्ता छन् । बाढीले जलविद्युत् आयोजनामा २५ करोड रूपैयाँ बराबरको क्षती भएको प्रारम्भिक अनुमान छ ।
क्षतिग्रस्त दोर्दीमा निमार्णाधीन जलविद्युत् आयोजनाको अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले प्र्रक्रिया पु-याएर बाढीपीडितलाई तत्काल राहत उपलव्ध गराउन आयोजना र प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्