सन् २०२२ सम्ममा संख्या दोब्बर पु-याउने लक्ष्यनजिक «

सन् २०२२ सम्ममा संख्या दोब्बर पु-याउने लक्ष्यनजिक

बाघ संरक्षणमा नेपालको सफलता

बर्दिया-नेपाल सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पु-याउने लक्ष्यनजिक पुगेको छ । बाघका लागि चाहिने आहार प्रजातिमा वृद्धि हुनु, उचित बासस्थान र स्थानीय युवाको सकृयता बढेपछि चोरीशिकारमा कमी आएका कारण बाघ संरक्षणमा नेपालमा सफलता मिलेको हो । संरक्षणमा नेपालका विभिन्न राष्ट्रिय निकुञ्जले प्राप्त गरेको सफलताले तोकिएकोे मिति भन्दा अगावै बाघको संख्या दोब्बर पार्ने सरकारी प्रतिबद्धता पुरा हुने संकेत देखिएको विश्व बाघ दिवसका अवसरमा बाँकेको कोहलपुरमा आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले संरक्षणमा स्थानीय समुदायको सक्रियता बढेका कारण बाघको संख्या उल्लेख्य रूपमा बढेको बताए ।
“सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर वृद्धि गर्ने नेपाल सरकारको लक्ष्य नजिक हामी पुगेका छौं,” उनले भने, “यही गतिमा संरक्षण भए लक्ष्य अगावै दोब्बर पुग्छ ।”सन् २०१८ को तथ्यांकअनुसार नेपालमा बाघको संख्या २ सय ३५ पुगेको छ । त्यसमध्य बाँकेमा २१, बर्दियामा ८७, चितवनमा ९३, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ रहेको विभागको तथ्यांक छ ।
द्वन्द्वकालिन अवस्थामा वन्यजन्तुको व्यवस्थापनमा निकै विकराल अवस्था रहे पनि देश शान्ति प्रक्रियामा आएपछि बाघको प्रभावकारी संरक्षण अभियान, बासस्थानको सुधार, आहारको व्यवस्थापनलगायतका कुरामा देखिएको सुधारका कारणले नेपालमा हरेक वर्ष बाघको संख्या वृद्धि हुँदै गएको हो ।सन् २०१७ मा चितवनमा गएको बाढीका कारण बाघको आहारजन्य जन्तु क्षति भएकाले यो लक्ष्यमा केही ढिला भए पनि लक्ष्यको धेरै नजिक पुगिसकेकोे विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले बताए ।
 बाघको संख्यामा बृद्धि हुँदै गएपछि बाघको आहारा प्रजाती र बासस्थान संरक्षणमा चुनौती बढेको छ । बाघको बासस्थानमा मिचाह प्रजाति बढ्दै जानु, आहारा प्रजातिका लागि उपयुक्त घाँसे मैदान घट्दै जानु र पानीका स्रोत सुक्दै जानुले चुनौती थपिएको हो ।त्यही चुनौतीको सामना गर्न निकुञ्ज क्षेत्रमा पानीको पोखरी निर्माण गर्ने घाँसेमैदान व्यवस्थापन गरी राम्रो वासस्थानको प्रारूप तयार गर्ने काम भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणराज बरालको भनाइ छ ।
 पछिल्लो समय बाघ संरक्षणका लागि चोरी शिकार नियन्त्रणमा स्थानीयको सहयोग पाए पछि बाघ संरक्षणमा नेपाललाई सफलता मिलेको हो । मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न वन्यजन्तुलाई मानवबस्तीमा जान नदिन तारबार गर्नुका साथै विभिन्न संरचना निर्माण गरिएको विभागले जनाएको. छ । बन्यजन्तुबाट भएको क्षतिको राहत वितरण प्रक्रिया सहज बनाएपछि स्थानीयले बन्यजन्तुलाई सत्रुका रूपमा नभई अवसरका रूपमा संरक्षण गरिरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको भनाइ छ ।
विश्वमा बाघ पाइने देशको सन् २००९ मा भएको सम्मेलनले सन् २०२२ भित्र बाघको संख्या दोब्बर बढाउने प्रतिबद्धता जनाएको थियो । त्यसवेला नेपालमा बाघको संख्या १ सय २१ मात्र भए पनि अहिले बढेर २ सय ३५ पुगेको छ । अहिलेकै अवस्थामा बाघको संख्या बढदै गए अबको तीन वर्षमा नेपाल विश्वका १३ देशमध्ये प्रतिबद्धता पूरा गर्ने पहिलो देश बन्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्