पहिरोले गौरीशंकरमा २९ घर विस्थापित «

पहिरोले गौरीशंकरमा २९ घर विस्थापित

दोलखाको गौरीशंकर गाउँपालिका–६ र ७ मा ३ दिनअघि गएको पहिरोले २९ घर विस्थापित भएका छन् । राति गएको पहिरोले चौपायासहित ठूलो धनको क्षति भए तापनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण घरमा बस्नै नहुने भएपछि यहाँका बासिन्दालाई प्रहरीले अन्यत्र सारेको छ ।
पहिरोबाट गौरीशंकर गाउँपालिका चंखुमा १३ घरका ६० जना विस्थापित भएका छन् । विस्थापित स्थानीय भुमेगुम्बा मावि र स्थानीय जयराम गुरुङ र टिकाराम गुरुङको घरमा सहारा लिएर बसेको जिल्ला प्रहरी कार्यालय दोलखामा प्रमुख मानबहहादुर राईले जानकारी दिए ।
त्यसैगरी वडा नं. ७ मार्बूका १५ घरका ८० जना विस्थापित भएका छन् । विस्थापितमध्ये स्थानीय डम्बरबहादुर गुरुङ, विन्दा गुरुङ, भोजबहादुर गुरुङ र ललितबहादुर गुरुङको घरमा बसेका छन् । ४ वर्ष उनीहरूलाई गौरीशंकर गाउँपालिका, नेपाल रेडक्रस सोसाइटीलगायतले राहत वितरण गरेका छन् ।
पहिरोबाट कालिञ्चोक गाउँपालिका–४ गुमु हिलेपानीमा समेत पहिरोले ३ घर विस्थापित भएका छन् । सुनखानी साङ्बा सडकको हिलेपानी खण्डमा नाली राम्रो नबनेका कारण त्यहाँ पानी बस्तीमा पस्दा पहिरो गएको हो । पहिरोले ३ घर बस्नै नहुने भएपछि नेपाल रेडक्रस सोसाइटी दोलखाले त्रिपाल, लत्ताकपडा र भाँडाकुँडा वितरण गरेको छ । पहिरो पीडितलाई खाद्यान्न वितरण गरेको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकले जानकारी दिइन् ।
वर्षात्मा बाढी र पहिरोका कारण बढी क्षति हुने गरेको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका गोकर्णप्रसाद पोखरेलले जानकारी दिए । जथाभावी सडक निर्माण गर्ने र पानीको निकास राम्रो नहुँदा पहाडी क्षेत्रमा बढी पहिरो गएको उनले बताए ।

२ घर बगे, चौपायाको क्षति
पहिरोका कारण २ घरसहित २६ चौपाया बगाएको छ । शुक्रबार राति साढे ११ बजेतिर खसेको पहिरोले सुसिनटारस्थित राजेन्द्र थामीका २ घर बगाएको थियो । प्रहरीका अनुसार पहिरोले घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गहना र नगदसमेत बगाएको दोलखाका प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए । घर अगाडि पार्किङ गरिएको लु३त २३०४ नम्बरको ट्रयाक्टर र होमबहादुर श्रेष्ठको बा१७प ६५०२ नम्बरको मोटरसाइकल समेत बगाएको प्रहरी निरीक्षक महतले जानकारी दिए ।
पहिरोल ३ वटा गाई, २३ वटा बाख्रा र ५ वटा कुखुरासहित अन्य चौपाया पनि बगाएको दोलखाका प्रहरी निरीक्षक महतले जानकारी दिए । पहिरोले करिब ३५ रोपनी जमिन पुरै बगाएको छ । मकै र कोदो गरी करिब ५० पाथी अन्न, खानेपानीका पाइप करिब २० मिटर, २ वटा माछा पोखरी पनि बगाएको छ ।
पहिरोका कारण करिब ७२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पहिरोले मानवीय क्षति नभए पनि आसपासको करिब २ किलोमिटर क्षेत्र अझै जोखिम रहेकोले बसोबासको सम्भावना नभएको सिंगटी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्