सरकारी अस्पतालमा हाजिर निजीमा काम «

सरकारी अस्पतालमा हाजिर निजीमा काम

विराटनगर-सुनसरी देवानगन्जका सीताराम यादव बिहान ९ बजे नै विराटनगरस्थित कोसी अञ्चल अस्पताल पुगे । छोरा अशोकलाई जिउभरि खटिरा आएपछि उनी अस्पताल पुगेका हुन् । उनी टिकट काटेर घन्टौंसम्म बसे तर डाक्टर आएनन् ।
खोटाङ दिप्रुङका सन्तोष श्रेष्ठ खुट्टा दुख्ने समस्या लिएर शनिबार साँझ नै विराटनगर आए । डेरा गरी बस्ने भाइकोमा बसेर बिहान ८ बजे नै अस्पताल पुगेर हतारहतार पुर्जा लिए । धनकुटा कुरुलेका देवीमाया बराल सोमबार बिहानै अस्पताल पुगिन् । दाँतको समस्या लिएर आएकी बराल डाक्टर नभेटेपछि त्यतिकै फर्किन् । दाँत दुखाइको पीडा सहँदै घर फर्किन बाध्य भइन् ।
झापा सतासीधामका जीवन प्रधान घन्टौंसम्म बस्दा पनि डाक्टर नआएपछि नजिकैको गोल्डेन अस्पतालतर्फ लागे । यी त केही उदाहरण मात्रै हुन् । पूर्वको सबैभन्दा ठूलो सरकारी अस्पतालमा डाक्टर भेटेर उपचार गर्न पाउन ठूलै भाग्य सम्झन्छन् सेवाग्राही । अस्पतालमा डाक्टर नभेटिएपछि टाढा–टाढाबाट आएका सेवाग्राही नजिकै खोलिएका निजी अस्पताल र क्लिनिकमा पुग्ने गरेका छन् । जुन अस्पताल र क्लिनिक तिनै कोसी अस्पतालमा कार्यरत डाक्टरले सञ्चालन गरेका हुन् । अस्पतालमा हाजिर गरेर अधिकांश डाक्टर निजी अस्पताल र क्लिनिक धाउने गरेको पाइएको छ । जसका कारण अस्पताल आउने बिरामीहरू उपचार नगरिकनै फर्किन बाध्य भएका छन् ।
“छोराको उपचारका लागि बिहानदेखि लाइनमा बसेको अहिलेसम्म डाक्टर आएका छैनन्,” कोसी अस्पतालमा भेटिएका देवानगन्जका यादवले भने, “सरकारी छाडेर अरुतिर जाऊँ भने पैसा छैन ।”
अस्पतालमा ७८ सरकारी, २४ जना विकास समितिको दरबन्दी रहेकोमा सरकारीतर्फ २५ र विकास समितितर्फ २० जना चिकित्सक कार्यरत छन् । त्यस्तै करारमा १० जना कार्यरत छन् । डाक्टर अभावकै कारण प्रभावकारी सेवा दिन नसकेको मेसु डा. रोशन पोखरेल बताउँछन् । “दरबन्दीअनुसार डाक्टर छैनन्,” उनले भने, “सीमित डाक्टरले धेरैतिर हेर्नुपर्ने भएकाले सेवाग्राहीमा असन्तुष्टि देखिएको हो ।”
अस्पतालमा पूर्वका इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, झापा, सुनसरीलगायतका जिल्लाबाट बिरामी आउने गरेका छन् । अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशत झापा, मोरङ र सुनसरीका आउँछन् ।
हरेक चिकित्सकको बिहान ८ देखि दिउँसो २ बजेसम्म अनिवार्य अस्पतालमा हुनुपर्नेमा अधिकांश डाक्टर १० आएपछि १२ नबज्दै हिँड्ने गरेका छन् । दैनिक १ हजारदेखि १ हजार २ सयसम्म बिरामी आउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्