३ लाखमा झन्डै आधा भारतीय पर्यटक «

३ लाखमा झन्डै आधा भारतीय पर्यटक

पोखरा-गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सन् २०१९ मनाई रहँदा आर्थिक वर्ष २०७५-७६ मा करिब ३ लाख पर्यटक भित्र्याउन सफल भएको छ । करिब १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाई रहँदा प्रदेशमा गत वर्ष २ लाख ९८ हजार ९ सय ७५ जना पर्यटक भित्रिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
प्रदेशमा भित्रिने भारतीय पर्यटक ४०.४५ प्रतिशत छ भने अन्य देशका पर्यटक ५९.५५ प्रतिशत भित्रिने गरेको मन्त्रालयका सूचना अधिकारी शिव परियारले बताए । गण्डकी प्रदेशको पर्यटकको तथ्यांकका रूपमा करिब ३ लाख पर्यटक प्रदेशमै भित्रिए पनि अधिकांश पर्यटक प्रदेशको राजधानी पोखरामा भित्रिएको सूचना अधिकारी परियारले जनाए ।
गत वर्ष १ लाख २० हजार ९ सय ३८ जना भारतीय पर्यटक प्रदेशमा भित्रिदा १ लाख ७८ हजार ३७ जना अन्य देशका पर्यटक प्रदेशमा भित्रिएको उनले जनाए । आँबुखैरेनी, तनहुँ, स्याङजाको गल्याङ चेकपोस्ट र नागरिक उड्डयन कार्यालय पोखरामा विभिन्न माध्यमबाट उक्त तथ्यांक संकलन गरिएको सूचना अधिकारी परियारले बताए । नागरिक उड्डयन कार्यालयले हवाई मार्गतर्फको तथ्यांक उपलब्ध गराएको हो भने अन्य सडक मार्ग हँुदै प्रदेश भित्रिने पर्यटकहरूको तथ्यांक नेपाल प्रहरीमार्फत संकलन गरिएको उनले जनाए । पहिलो पटक संकलन गरिएको भएर पनि केही तथ्यांक छुट्न गएको हुन सक्ने सूचना अधिकारी परियारले जनाए । प्रदेशमा भारतिय पर्यटक सबैभन्दा धेरै मंसिर महिनामा १७ हजार ५ सय २५ जना र सबैभन्दा कम माघमा ५ हजार ५ सय ६१ जना भित्रिएको मन्त्रालयले जनाएको छ ।
अन्य पर्यटकहरूको हकमा भने सबैभन्दा धेरै पर्यटक कात्तिक महिनामा २६ हजार ८० पर्यटक भित्रिदा सबैभन्दा कम असार महिनामा ६ हजार २ सय ८८ पर्यटक आएको तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयले पहिलो पटक प्रदेश आउने भारतीय तथा अन्य देशका पर्यटकहरूको तथ्यांक संकलन गरेकोे हो । यसअघि नागरिक उड्डयन कार्यालय बाहेक अन्य कुनै पनि संघ–संस्थाले प्रदेश वा पोखरा भित्रिने पर्यटकहरूको तथ्यांक संकलन गरेका थिएनन् । काठमाडौं भित्रिने पर्यटकको तुलनामा करिब ४० प्रतिशत पर्यटक पोखरा भित्रिन्छन् भन्ने मान्यता राख्दै आइएको पाइन्छ यद्यपि तथ्यांक बिना हचुवाको भरमा पोखरामा यति पर्यटक भित्रिए भन्ने गरिन्थ्यो ।
अघिल्लो वर्ष पोखरा क्षेत्रमा कति पर्यटक भित्रिए भन्नेबारे एकिन तथ्यांक नभएकाले उक्त तथ्यांकसम्बन्धी निकायसँग समन्वय गरी संकलनको प्रयास गरेको सूचना अधिकारी परियारले जनाए । अन्य देश भन्नाले छिमेकी मुलुक चाइना, सिंगापुर, मलेसिया, कोरिया, जापान, थाइल्यान्ड, अमेरिकासहित खाडी तथा युरोपका पर्यटकहरू पर्छ ।
साउन महिनामा प्रदेशमा २० हजार ८ सय २१, भदौमा २१ हजार ७ सय १७, असोजमा ३१ ज्हार १ सय ४४, कात्तिकमा ३८ हजार ५ सय ७५ जना पर्यटक प्रदेशमा भित्रिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी मंसिरमा ३७ हजार १ सय ९, पुसमा २७ हजार ३ सय १४, माघमा १९ हजार ९ सय ९०, फागुनमा १९ हजार ४ सय ५१, चैतमा २१ हजार ५ सय २८, वैशाखमा २३ हजार ५ सय ४८, जेठमा २५ हजार ३ सय ३७ र असारमा १२ हजार ६ सय २ जना पर्यटक प्रदेशमा भित्रिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्