Logo

भ्याटले तरकारी र फलफूल आयात घट्यो

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि भारतीय बजारबाट नेपालतर्फ तरकारी र फलफूलको आयात घटेको छ । सरकारले सार्वजनिक गरेको २०८०/०८१ बजेट र आर्थिक ऐन, २०८० ले तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि पूर्वी नाका काँकरभिट्टाबाट तरकारी र फलफूल आयात कम भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

दैनिक सातदेखि नौ वटा तरकारी तथा फलफूलका मालवहाक सवारीसाधन नेपाल आउने गरेपनि बजेट भाषणपछिका १२ दिनमा तरकारी तथा फलफूलका १० वटा मालवहाक सवारीसाधन मात्र नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाका प्राविधिक सहायक चन्द्रेश्वर ठाकुरले जानकारी दिए । पूर्वी नाका काँकरभिट्टाबाट अत्याधिकरुपमा आयात हुने आलु र प्याज बजेट भाषणपछि निक्कै कम आउने गरेको उनले बताए ।

१२ दिनको अवधिमा पूर्वी नाका काँकरभिट्टा भएर दुई–दुई सय मेट्रिक टन आलु र प्याज नेपाल आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाका प्राविधिक सहायक ठाकुरले बताए । गत आर्थिक वर्ष २०७८/७९ मा काँकरभिट्टा नाका भएर सात करोड ३५ लाख ६९ हजार रुपैयाँ मूल्य बराबरको नौ सय ९४ मेट्रिक टन प्याज नेपाल भित्रिएको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा तीन करोड ४३ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको एक हजार सात सय ३० मेट्रिक टन प्याज नेपाल भित्रिएको पनि उनले बताए ।

चीन, भारत, बंगलादेश, इण्डोनेसिया, बेल्जियम, मलेसिया र अमेरिकाबाट नेपालमा प्याज आयात हुने भए पनि काँकरभिट्टा नाका भएर भारत र चीनबाट प्याज आयात हुँदै आएको उनले बताए । भारत र चीनका विभिन्न प्रान्तबाट आयात हुने प्याज नेपालको संघीय राजधानीसहित मुख्य बजारसम्म पुग्ने गरेको उनले बताए । त्यस्तै भारत, बंगलादेश, भुटान लगायतका मुलुकबाट आलु पूर्वी नाका काँकरभिट्टा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

पूर्वी नाका काँकरभिट्टाबाट भित्रिएका आलु राजधानीसहित भैरहवा, विराटनगर, वीरगञ्ज, नारायणगढ, इटहरी, धरान, दमकसहित स्थानीय बजारसम्म पुग्ने गरेको प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ । सरकारले विगतमा तरकारी तथा फलफूलसहितका वस्तुको आयातमा भ्याट छुट दिएपनि अहिले आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत भ्याट छुट हटाइएपछि आयात समेत कम हुँदै गएको छ ।

तरकारीमा भ्याट लगाउँदा उपभोक्ता मारमा परेकाले हटाउन माग गरेको काँकरभिट्टाका तरकारी व्यवसायीहरु बताउँछन् । ‘‘थोक बिक्रेताले अहिले आलु र प्याज आयात गर्न नै छाडेका छन् । हामीले आफै थोरै–थोरै भारतीय बजार पुगेर ल्याउन गरेका छौं । त्यसकारण पनि तत्काल मूल्य वृद्घि भएको छैन । व्यवसायीहरुको माग सरकारले सुनेन भने उपभोक्ताको भान्सा महँगिने निश्चित छ ।’’ तरकारी, मासुजन्य वस्तु र फलफूलमा भ्याट लगाएपछि महँगी बढ्न सक्ने उपभोक्ताको भनाइ छ ।

दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरु आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको उपभोक्ताहरूको भनाइ छ । आलु, प्याज जस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाएर सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाएकोमा उपभोक्ताहरुले चिन्ता व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्