व्यवसायीलाई करसम्बन्धी प्रशिक्षण «

व्यवसायीलाई करसम्बन्धी प्रशिक्षण

दाङ जिल्ला उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवसायीहरूलाई करसम्बन्धी प्रशिक्षण दिएको छ । संघले सरकारले भरखरै मात्र लागू गरेको कर नीति, उद्योगी तथा व्यवसायीहरूले गर्नुपर्ने कार्य, हिसाब–किताब कसरी राख्ने, व्यवसायीहरूलाई पर्ने समस्या समाधानका उपायलगायतका बारेमा प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रममा संघअन्तर्गतका वस्तुगत समितिका नेतृत्व एवं सदस्यहरू, उद्योगी तथा व्यवसायीहरू समेतको सहभागिता थियो । व्यवसायीहरूको मागअनुसार संघले तालिम तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । आउँदा दिनका पनि यस प्रकारका कार्यलाई निरन्तरता दिइने उनको भनाइ छ ।
प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा थमन अधिकारी थिए । कार्यक्रममा सहभागीहरूले राज्यले व्यवसायीहरूलाई विभिन्न वहानामा दुःख दिने गरेको गुनासो गरेका थिए । उनीहरूले राज्यले व्यवसायी गर्ने वातावरणसमेत सिर्जना गर्ने नसकेको बताएका थिए । अहिले सरकारले लिएको नीति निजी क्षेत्रको सहमति बिना लिएको भन्दै यसलाई सच्चाउनुपर्ने बताएका थिए ।
कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी)को प्रमुख आतिथ्यता एवं नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज बन्जाडेको विशिष्ट आतिथ्यतामा भएको थियो । संघका वाणिज्य उपाध्यक्ष टंकसिह बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन उद्योग उपाध्यक्ष वसन्त जोसीले गरेका थिए । भने कार्यक्रमको सहजीकरण संघका महासचिव नरेश कार्कीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्