सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो «

सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो

अर्घाखाँची – पश्चिम नेपालको अर्घाखाँची आन्तरिक तथा बाह्य पर्यटकको पनि पर्यटकीय गन्तव्य बन्दै गएको छ । पश्चिम नेपालको प्रदेश नं. ५ को लुम्बिनीपछिको दोस्रो पर्यटक आवागमन बढी हुने स्थान सुपादेउराली यस क्षेत्रकै महत्वपूर्ण धार्मिक गन्तव्य हो । कपिलवस्तुको गोरुसिंगेबाट ४७ किलोमिटर दूरीमा महाभारत पर्वत श्रृंखलाको ठूला ठूला पहाडको खोचमा प्राचिन शैलीबाट निर्मित मन्दिर सुपा देउराली अवस्थित छ ।
प्राकृतिक रुपमा रमणीय हुनुका साथै मनोकांक्षा पूरा हुने विश्वसाका कारण यसको महत्व दिन प्रतिदिन बढ्दै गएको त्यहाँ आउने भक्तजनहरुको भीडले देख्न सकिन्छ । सन्धिखर्क नरपालिकाको वडा नं. ७ र शितगंगा नगरपालिकाको वडा नं. २ मा अवस्थित रहेको छ, सुपा देउराली मन्दिर । प्रशिद्ध धार्मिकस्थल झण्डै ४ हजार पाँच सय फिटको उचाइमा अवस्थित छ । सुपाखोलाको पश्चिमतर्फ नरपानी र दुई अग्ला महाभारतको बीचमा रहेको खोचमा अवस्थित छ यो मन्दिर । सयौँ फिट माथिबाट मन्दिरको पूर्वमा खस्ने झरना र खोलाको छङ्गछङ्ग अवाजले त्यहाँबाट आवतजावत गर्ने यात्रुको मन लोभ्याउँछ । सुपादेउराली मन्दिरमा जिल्लासँग सीमाना जोडिएका प्यूठान, कपिलवस्तु, गुल्मी, रुपन्देही, दाङ्ग, पाल्पा, बाग्लुङ र भारतको विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् ।
सुपादेउराली प्रसिद्ध धार्मिक शक्तिपीठको स्थापना कहिले कसरी भयो भन्ने सन्दर्भमा विभिन्न जनश्रुति छन् । बाइसे चौविसे राज्यका पालामा खाँचीकोट राज्यका राजकुमारी र भारतको बलराम पुरकी राजकुमारबीवच विवाह गरी घर तर्फ ल्याउँदा बाटोमा केहि कुरा ढाँट छल गरी विवाह गरेको हल्ला दुलहीले सुनिन् । डोलिमा बोकेर ल्याएकी दुलही हालको सो मन्दिर भएको स्थान भन्दा करिब ५० मिटर दक्षिणमा आउँदा रगतको थोपा झरेछ । अनि सुपा देउराली मन्दिरमा आई डोलीमा हेर्दा राजकुमारी दुलही मृत अवस्थामा थिइन् । त्यसपछि खाँचीकोट राज्यमा विभिन्न रोग व्याधी महामारी फैलियो । पछि एकजना खनाल थरका जैसी आई धामी झाँक्री कबोल र्दा त्यहाँ दैवी शक्ति उत्पति भई कालो पाठी बलि दिनुपर्छ भनि त्यसै समयदेखि त्यस राज्यका राजा ठकुरी (शाह) राजाका रजौटा खडका, कब्दार र नेवार थरका समुदायले कुल पूजा गर्दै हालसम्म आएको पाइन्छ । आफ्नो मनकामना पूरा होस् भनि भाकल गर्ने विभिन्न जिन्सी सुन, धजा, वस्त्र, रातो फूल, माला चढाउने र पाठा पाठीको वलिपूजा दिने र परेवा उडाइदिने प्रचलन पनि छ ।
मन्दिरको पुनर्निर्माण र बढ्दो विश्वासको कारण आजभोलि दैनिक सयौ जोडी परेवा उडाउने तथा बोका बली दिने सयौंको संख्यामा मानिसहरु यस मन्दिरमा भित्रँदै आएका छन् । मन्दिरमा आउने भक्तजनहरुवाट चढेको भेटी दानदातव्यबाट हुने आम्दानीबाट आदर्श माध्यमिक विद्यालय र शान्ति निम्न माध्यमिक विद्यालयका नीजि स्रोतबाट शिक्षकहरु राखेर विद्यालय सञ्चालन गर्दै आएको मन्दिर व्यवस्थापन समिति सचिव यादव घिमिरेले बताए । दुई विद्यालयका झण्डै १२ जना शिक्षकहरु मन्दिरकै आम्दानीको भरमा सञ्चालन हुँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रितम थापाले बताए ।
सुपादेउराली मन्दिरमा औसी, एकादशी, कृष्ण जन्माष्टमी, श्रीपञ्चमी, महाशिवारात्री, अष्ठ तृतिया, रामनवमी आदिमा बलि पूजा निषेध गरिएको छ । तर परम्परादेखि वैशाख शुक्ल पूर्णिमाको दिनमा कुल पूजा हुने भएकोले बलि चढाउने गरिएको छ । टाढा–टाढाबाट त्यहाँ आउने भक्तजनका लागि बस्ने व्यवस्थाका लागि मन्दिर व्यवस्थापन समितिले मन्दिर नजिकै धर्मशाला बनाउने निर्णय गरेको छ । मन्दिरका कारण अर्घाखाँचीमा आन्तरिक पर्यटन विस्तारै बढ्दै गएको छ ।

बञ्जि, प्याराग्लाइडिङ र क्यानोनिङको सम्भावना
निरन्तर पानी बगिरहने छहरामा डोरीको सहायताले फेदबाट उक्लिएर डाँडासम्म पुग्ने साहसिक खेल अर्थात् क्यानोनिङ, डोरीको सहायताले एकैपटक तल खोलामा हाम फाल्ने बञ्जिजम्प र पहाडको टुप्पोबाट चरा जस्तै उडेर दृश्यावलोकन गर्ने अवसर सुपा देउराली पुगेपछि प्राप्त हुने भएको छ । धेरै कौतूहलता, साहस सँगसँगै डर र रोमाञ्चकले भरिएका साहसिक पर्यटनका यी गतिविधिले धार्मिक महत्व बोकेको सुपा देउराली प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । सुपा देउराली मन्दिर र यसको पेरिफेरिको क्षेत्र यस्तो बन्ने भयो, जहाँ तीनवटै साहसिक खेल पर्यटनका लागि उपयुक्त स्थान बन्न सक्ने सम्भावना देखिन्छ । पछिल्लो समयमा पर्यटन सुपा देउराली वरपर रहेको भौगोलिक क्षेत्रमा साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि बञ्जिजम्प, प्याराग्लाइडिङ र क्यानोनिङको सम्भावना उत्तिकै देखिएको छ । देउराली मन्दिर पछाडि रहेका झरनामा क्यानोनिङ, मन्दिर नजिकै सीतखोलाको दुई छेउमा रहेका पहाडमा बञ्जिजम्प तथा मन्दिरभन्दा माथि डाँडामा प्याराग्लाइडिङको सम्भावना देखिएको वडा अध्यक्ष प्रितम थापा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्