लिखुको पुल निर्माण ६ वर्षमा जगमात्रै «

लिखुको पुल निर्माण ६ वर्षमा जगमात्रै

ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ओखलढुंगा–रामेछाप जोड्ने लिखु नदीको पक्की पुल निर्माणकार्य ६ वर्ष बितिसक्दा पनि जगमात्र राख्ने काम भएको छ ।
ठेकेदारको लापरबाहीका कारण ०७० सालमै निर्माण सकिनु पर्ने पुलको ६ वर्षमा जगमात्रै हालिएको हो । अन्य निर्माणका काम अलपत्र छाडिएका छन् भने निर्माण सामग्री छरपस्ट अवस्थामा राखिएको छ । दुई वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ०६८ सालमा कन्काई ओमबुद्ध जेभी नामक कम्पनीले ठेक्का सम्झौता गरको थियो ।
६० मिटर लामो मोटरेबल पक्की पुल निर्माणका लागि ठेकेदार कम्पनीले ५ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का लिएको ६ वर्ष बितिसक्दा समेत पुलको जगमात्र उठाइएको छ । स्टिल ट्रसको काम र पुलसम्म पुग्ने सडक निर्माणको प्रारम्भिक कामसमेत कम्पनीले सुरु गरेको छैन । स्थानीयले भने कमिसनको चक्करमा ठेकेदार कम्पनीले सम्झौता थपिरहेकोे आरोप लगाएका छन् । कम्पनीले निर्माण सामग्रीको अभावमा पुल निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताउँदै आएको छ ।
दुई जिल्लालाई जोड्ने केन्द्र बिन्दुको रूपमा रहेको लिखु नदीमा निर्माणाधीन पुल अधुरो भएपछि नागरिकहरूले सास्ती खेपिरहेका छन् । “वर्षौंदेखि गाडिएका पिलर खिया लागेर कालो भइसकेका छन् , यही चालले पुल निर्माणमा १० वर्ष अझै बित्ने भो स्थानीय युवा यादव पौडेलले बताए ।
लिखु नदी हुँदै हिउँदको समयमा लिखु नदीमा हेलिएर बस ओखलढुंगाको गाम्नाङ्टारसम्म पुग्छ । वर्षायाममा भने सवारी साधन रामेछापको साघुटारसम्म मात्र जाने गर्छन् । पुल नहुँदा त्यस क्षेत्रका बिरामीलाई समेत अस्पताल लानका लागि बोकेर लैजानु पर्ने बाध्यता छ । वर्षायाममा लिखु नदीमा भेल आउने भएकाले खाद्यान्न र निर्माण सामग्री ढुवानी बन्द हुने गरेको छ । केही समयअघि पुलको निरीक्षणका लागि निर्माणस्थल पुगेका ओखलढुंगा र रामेछापका सांसदहरूले अधुरो पुल निर्माणलाई तत्काल अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाए पनि ठेकेदार कम्पनीले काम थालेको छैन ।
ओखलढुंगाका प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवार, प्रदेशसभाका सांसद मोहन खड्का र रामेछापका प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठले तत्काल पुल निर्माणकार्यलाई अघि बढाउन पहल गर्ने बताएका छन् । ओखलढुंगाका प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले सडक विभाग र डोलिडारमा दबाब दिइरहेको बताए ।
उत्तम चौलागार्इं

प्रतिक्रिया दिनुहोस्