भौतिक संरचना निर्माणमा पानी अभाव «

भौतिक संरचना निर्माणमा पानी अभाव

जिल्लाको छथर गाउँपालिकाका छथरपोखरीबासी भौतिक संरचना निर्माणका लागि वर्षात्को पानीको पर्खाइमा छन् ।
जलवायु परिवर्तनका कारण यहाँका स्थानीय मुहान सुक्दै गएसँगै हिउँदको समयमा भौतिक निर्माणका काम हुन छाडेको छ । विद्यालयको भवनका साथै स्थानीयले घर निर्माण गर्नका निम्ति वर्षात्को पानीको भर पर्नुपरेको छथर गाउँपालिका–३ का वडाध्यक्ष तुलसीजंग थापाले बताए ।
उनका अनुसार भौतिक संरचना निर्माणमात्र नभई खानेपानी अभावका कारण सामाजिक कार्य गर्न झन कठिन बन्न थालेको छ । आकाशे पानीको भरमा रहेका यस क्षेत्रमा विभिन्न विकासे संस्थाले दिएका भौतिक संरचना निर्माणका लागि पानी नहुँदा बर्सेनि फ्रिज हुँदै आएको छ । यस वर्ष पनि पञ्चकन्या माविलाई जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको ३६ लाख बराबरको भवन निर्माणका लागि वर्षात्को पानीको पर्खाइमा रहेको विद्यालयका प्रधानाध्यापक नवीन्द्रराज अधिकारीले बताए ।
उनी भन्छन्, “विद्यालयमा पर्याप्त भवन नहुदा जीर्ण बनेका भवनमा पठनपाठन गर्नुपर्ने बाध्यता छ । भवन निर्माणका लागि प्राप्त भए पनि पानीको अभावका कारण वर्षात्को समयको पर्खाइमा छांै ।” वर्षात्मा झरी पर्दा समस्यामाथि समस्या थपिने गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकाको वडा नम्बर ३ र ४ को पोखरी क्षेत्रमा पानीको मुहान नहुँदा वर्षाैदेखि यहाँका स्थानीयले यस्तै समस्या भोग्दै आउनु परेको फाक्चामारा सिद्धिमान लिम्बुले बताए ।
तमोरनदीसँगै जोडिएको यस क्षेत्रमा भौतिक संरचना निर्माणमात्र नभई खानेपानीको समस्या विकराल बन्दै गएको छ । करिब १ दशकअघि सञ्चालन भएका छथरपोखरी खानेपानी आयोजना र अँघेरीखोली खानेपानी आयोजनाले यहाँका स्थानीयले उपभोग गर्दै आएका छन् । खानेपानी आयोजनाले पर्याप्त मात्रामा पानी उपभोग गर्न समस्या रहेको स्थानीयले बताएका छन् । यसक्षेत्रमा रहेका स्थानीयको घर दैवीप्रकोपका कारण क्षतविक्षत हुँदा निर्माण गर्न पानी नुहँदा खुल्ला आकाशमा रात कटाउनु पर्ने बाध्यता छ ।

प्रकाश पाक्साँवा

प्रतिक्रिया दिनुहोस्