प्याराग्लाइडिङको टेकअफ र ल्यान्डिङ स्थलको खोजी «

प्याराग्लाइडिङको टेकअफ र ल्यान्डिङ स्थलको खोजी

पोखरा-साहसिक खेल प्याराग्लाइडिङको आवश्यक पूर्वाधार र खेल सामग्री बिना पोखरामा प्रशिक्षण सुरु भएको छ । १८ औं एसियन गेम्समा नेपालले रजत पदक ल्याउन सफल भएको प्याराग्लाइडिङले सागमा पनि पदकको सम्भावना हुँदाहँुदै राज्यले यस खेलमा हालसम्म कुनै पूर्वाधार तथा खेलाडीहरूलाई खेल सामग्री उपलब्ध नगराएको प्याराग्लाइडिङका राष्ट्रिय प्रशिक्षक योगेश भट्टराईले बताए ।
उनले भने, “हामीले सागको तयारी स्वरूप २६ जना खेलाडी पहिलो चरणमा छनोट गरी हाल प्रशिक्षण गराउँदै आएका छौं, राखेपको निर्देशनअनुसार अब ५ जना पुरुष र तीन जना महिला गरी ८ जना खेलाडीलाई हामीले केही समयपछि छनोट गरी उनीहरूलाई बन्द प्रशिक्षण गरानुपर्छ, त्यसको लागि उनीहरूसँग प्रतिस्पर्धामा सहभागी हुने प्याराग्लाइडर आवश्यक पर्छ, त्यो समयमै उपलब्ध गराउनुप¥यो ।” हाल आफूहरूले राज्यबाट पुरानो डिभाइस मात्र प्राप्त गरेको तर अन्य खेल सामग्रीहरू र भक्ताको विषयमा हालसम्म केही उपलब्ध नभएको उनले गुनासो गरे । सागमा मेडल ल्याउनको लागि तौल र उचाइअनुसार ग्लाइडर आवश्यक भएकाले राज्यले समयमै खेलाडीहरूलाई ग्लाडर उपलब्ध गराउन प्रशिक्षक भट्टराईले माग गरे । अन्य खेलभन्दा प्याराग्लाइडिङ खेल आर्थिक हिसाबले खर्चिलो भएकाले राज्यले यसमा लगानी गर्नुपर्ने बताउँदै उनले हाल खेलाडीहरूले जेन तेज पुराना ग्लाइडरबाट प्रशिक्षण गर्ने गरेको जनाए । सागमा प्याराग्लाइडिङतर्फ ८ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको उनले जनाए । एकुरेसी र क्रस कन्ट्रीतर्फ एकल महिला पुरुष तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुने भएको हो ।
पोखरामा हुने दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत प्याराग्लाइडिङ खेलका लागि टेकअफ र ल्यान्डिङ (उडान र अवतरण) का लागि ठाउँको खोजी भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङको नेतृत्वमा एक टोलीले बिहीबार प्याराग्लाइडिङ उडान भर्ने र अवतरण गर्ने केही ठाउँहरूको अध्ययन अवलोकन गर्दै ठाउँको खोजी गरेकोे हो ।
टोलीले सराङकोटस्थित चण्डीको डाँडा अर्को चपाइको चौतारो भएको सार्वजनिक जग्गा र निजी क्षेत्रको तोरीपानीको उडान भर्ने ठाउँको अध्ययन अवलोकन गरेको हो । साथै टोलीले खपौंदी (इन अफ द ल्यान्ड) र चंखपुरमा अवतरणका लागि अवलोकन गरेको हो । करिब ४ महिना समय अवधि बाँकी छँदा साग जस्तो खेलको कुन ठाउँबाट उडान भर्ने र कुन ठाउँमा अवतरण गर्ने भन्ने विषयमा हालसम्म टुंगो लगाउन नसकेपछि आफूहरूले पहिलो चरणमा उक्त खेलका लागि उडान भर्ने र अवतरण गर्ने ठाउँको व्यवस्थाका लागि अध्ययन अवलोकन गरिएको राखेप सदस्य गुरुङले बताए । उनले भने, “हाम्रो क्षेत्रमा हुने यस खेलमा नेपालको पदकको पनि राम्रो सम्भावना छ यसका लागि राज्यले उपयुक्त ठाउँमा प्याराग्लाइडिङका लागि उडान भर्ने र अवतरण गर्ने विशेष ठाउँ उपलब्ध गराउनुपर्छ, त्यसका लागि हामीले प्रारम्भिक रूपमा फिल्ड फिजिट गरेका छौं, प्राविधिकसहितको टोलीले दिएको आधारमा अब हामीले जति सक्दो छिटो व्यवस्थित उडान भर्ने र अवतरण गर्ने ठाउँको पहिचान गर्नुपर्छ ।”
राखेप सदस्यसहितको टोलीले फिल्ड भिजिट गरेपश्चात् हाल रहेको चण्डीको डाँडामा थप ४० मिटर लम्बाइ तथा चौडाइ पु¥याउनुपर्ने र चपाईको चौतारोमा रहेको स्थानभन्दा तल्लो भेगमा हाइटेन्सन विद्युत् लाइन भएकाले त्यसलाई विस्थापन गर्न सके उपयुक्त ठाउँ हुन सक्ने ठहर गरेको छ । प्याराग्लाइडिङ गर्दा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ८० मिटर लम्बाइ तथा ८० मिटर चौडाइको उडान गर्ने ठाउँ करिब ४० डिग्रको भिरालो हुनुपर्ने नेपाल प्याराग्लाइडिङ ह्यान्ड ग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र रावतले बताए । बिहीबार राखेप सदस्य गुरुङसहित प्याराग्लाइडिङका राष्ट्रिय प्रशिक्षक योगेश भट्टराई, (नेफा) नेपाल प्याराग्लाइडिङ ह्यान्ड ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावत, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, पोखरा महानगरपालिका–१८ का वडा अध्यक्ष रणबहादुर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङ सहितको टोली प्याराग्लाइडिङको उडान र अवतरण गर्ने ठाउँको खोजीमा विभिन्न ठाउँमा पुगेको थियो ।
नेपाल प्याराग्लाइडिङ ह्याण्ड ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले राज्यले पोखरामा प्याराग्लाइडिङको पूर्वाधार निमार्णमा चासो नदिएको कारण पोखरामा हुने प्याराग्लाइडिङको वल्र्डकप स्याङजाको शिरकोट (स्वरेक) मा भएको बताउँदै आगामी दिनमा समयमै यसतर्फ ध्यान दिन आग्रह गरे । पोखरामा व्यावसायिक रूपमा समेत फस्टाउँदै आएको प्याराग्लाइडिङलाई भविष्यमा दिगो रूपमा सञ्चालनका लागि आजैबाट राज्यले यसमा लगानी गर्नुपर्ने उनको जोड थियो । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै पोखरामा प्याराग्लाइडिङ विस्थापन गर्न नहुने उनले तर्क राखे । क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारले फिल्डभिजिट गरेपश्चात् प्याराग्लाइडिङको टेकअफ र ल्यान्डिङ, चेन्जीङ रुम तथा शौचालयसहितको भौतिक संरचना निर्माण गर्न करिब एक महिनामै सकिने दाबी गरे ।
पोखरा महानगरपालिका–१८ का वडा अध्यक्ष रणबहादुर थापाले पोखरामा हुने साग खेलको लागि प्याराग्लाइडिङको आवश्यक पर्ने जग्गा उपलब्ध गराउन आफूले पहल गर्ने बताए । तोरी पानीको बाहेक अन्य जग्गा सार्वजनिक जग्गा भएकाले जग्गा उपलब्ध गराउन कुनै समस्या नभएको उनले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्